सुदूर नेपाललाई विश्वसँग जोड्दै

टीकापुर अस्पतालमा बिरामीको चाप उच्च, तीन वर्षमा साढे दुई लाखको उपचार

२०८० असोज २७, ०६:४८ नारायण अवस्थी

धनगढीः कैलालीको टीकापुर अस्पतालमा तीन वर्षको अवधिमा दुई लाख ४८ हजार ४१ बिरामीको उपचार गरिएको छ। अस्पतालमा उपचार गर्न आउने बिरामीको चाप वर्षेनि बढ्दै गएको छ।

आर्थिक वर्ष २०७७/७८ मा ४५ हजार ४७९ बिरामीको उपचार गरिएको सो अस्पतालमा आर्थिक वर्ष २०७८/७९ मा ६६ हजार ७३८ र आर्थिक वर्ष २०७९/८० मा एक लाख ३६ हजार ८२४ बिरामीको उपचार गरिएको हो। टीकापुर अस्पतालबाट आकस्मिक सेवा लिन टीकापुर अस्पतालमा पुग्ने बिरामीको संख्या पनि वर्षेनि बढ्दै गएको छ।

यस्तो सेवा तीन वर्षको अवधिमा ६३ हजार तीन सय २६ बिरामी प्राप्त गरेको तथ्यांकले देखाएको हो। त्यस्तै सो अवधिसम्म १२ हजार ६ सय ८५ बिरामी अस्पताल भर्ना भएका थिए। टीकापुर अस्पतालको आइपिडीमा भर्ना हुने बिरामीको संख्या पनि वर्षेनि बढ्दै गएको पाइएको छ। पछिल्लो तीन वर्षको अवधिमा ३५ हजार दुई सय २१ बिरामी आइपिडीमा भर्ना भएका हुन्।

टीकापुर अस्पतालबाट खोप सेवा लिने बालबालिकाको संख्या पनि वर्षेनि बढ्दै गएको छ। पछिल्लो तीन वर्षको अवधिमा यस्तो सेवा १४ हजार तीन सय ७३ बालबालिकाले प्राप्त गरेका हुन्। सो अस्पतालबाट स्वास्थ्य बीमा गराएका एक लाख ८ हजार तीन सय ६८ बिरामीले उपचार सेवा प्राप्त गरेको अस्पतालको तथ्यांकले देखाएको छ।

टीकापुर अस्पतालबाट १० हजार ८ सय ७५ बिरामीको फिजियोथेरापी, पाँच हजार ७ सय १७ महिलाको संस्थागत सुत्केरी, एक हजार एक सय २२ महिलाको शल्यक्रिया गरेर बच्चा जन्मिएको समेत अस्पतालको तथ्यांकबाट देखिएको छ। त्यस्तै ९९ हजार तीन सय ८० बिरामीको ल्याब परीक्षण, दुई हजार ३१ बिरामीको मेजर सर्जरी र तीन हजार ६ सय ३६ बिरामीको माइनर सर्जरी गरिएको छ।

टीकापुर अस्पतालमा स्वास्थ्य बीमा गरेका बिरामीको संख्या वर्षेनि बढ्दो छ। आर्थिक वर्ष २०७७/७८ मा १९ हजार १५४ जना स्वास्थ्य बीमा गरेका बिरामी आएकोमा आर्थिक वर्ष २०७८/७९ मा २३ हजार ९६ र आर्थिक वर्ष २०७९/८० मा ६६ हजार १२८ जना स्वास्थ्य बीमा गरेका बिरामीले उपचार गराएका छन्। 

त्यस्तै टीकापुर अस्पतालमा सुत्केरी हुन आउनेको संख्या भने घटेको छ। अस्पतालले तयार गरेको विवरणमा आर्थिक वर्ष २०७७/७८ मा एक हजार ९९१ सुत्केरी गरिएकोमा आर्थिक वर्ष २०७८/७९ मा एक हजार ९७४ र आर्थिक वर्ष २०७९/८० मा एक हजार ७५२ जना अस्पतालमा सुत्केरी हुन आएका छन्।

सो अस्पतामा आर्थिक वर्ष २०७७/७८ मा ३५४ जनाको शल्यक्रिया मार्फत बच्चा जन्माइएको छ भने आर्थिक वर्ष २०७८/७९ मा ४२९ र आर्थिक वर्ष २०७९/८० मा ३३९ जनाको शल्यक्रिया गरेर बच्चा जन्माइएको अस्पतालको तथ्याङ्क छ। सुदूरपश्चिम प्रदेश मातहतको टीकापुर अस्पताल प्रदेशकै ठूलो अस्पताल हो। तर सरकारले स्वीकृत गरेको दरबन्दी अनुसार अस्पतालमा जनशक्ति र भौतिक पूर्वाधारको अझै अभाव छ। अस्पतालले हाल करार र छात्रवृत्ति करारका चिकित्सक र स्वास्थ्यकर्मीबाट उपचार सेवा प्रदान गर्दै आएको छ।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस