कृष्ण महराका छोरा राहुलसहित चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस
काठमाडौंः विद्युतीय चुरोट (भेप)मार्फत् भएको ९ किलो सुन तस्करी प्रकरणमा पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महाराका छोरा राहुल महरासहित चार जनाविरुद्ध मुद्दा चलाउन प्रहरीले सिफारिस गरेको छ।
अनुसन्धान सकेर केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीले जिल्ला सरकारी वकिल कार्यालयमा मुद्दा चलाउनका लागि सिफारिस गरेको छ। सीआईबीका प्रवक्ता एसएसपी दिनेश आचार्यका अनुसार राहुलसँगै यो प्रकरणमा चिनियाँ नागरिक दाओजिन वाङ, उनका गाडी चालक लोकेन्द्र पौडेल र दावा छिरिङविरुद्ध मुद्दा चलाउन सिफारिस गरिएको छ। दावा यसअघि नै ६१ किलो सुन प्रकरणमा पक्राउ परेर अहिले पुर्पक्षका लागि थुनामा छन्।
गत भदौ ३१ गते राहुललाई सीआईबीले पक्राउ गरेर अनुसन्धान गरेको थियो। संगठित कसुरमा अनुसन्धान सकेर फाइल सरकारी वकिल कार्यालयमा सीआईबीले बुझाएको हो। उनीहरुविरुद्ध भन्सार चोरी निकासीको कसुरमा मुद्दा चलाउन सिफारिस गरिएको छ। सीआईबीको अनुसन्धान प्रतिवेदन अध्ययन गरेपछि सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा मुद्दा दायर गर्नेछ।