कैलालीमा टीकापुरबाहेक १२ स्थानीय तहले ल्याए आगामी आर्थिक वर्षको बजेट
धनगढीः कैलालीका एक स्थानीय तह बाहेक सबै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेट सार्वजनिक गरेका छन्। कैलालीका १३ स्थानीय तहमध्ये टीकापुर नगरपालिका बाहेकका १२ स्थानीय तहले नगर/गाउँ सभामार्फत बजेट प्रस्तुत गरेका हुन्।
स्थानीय सरकार सञ्चालन ऐनअनुसार असार १० गतेभित्र आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्ने व्यवस्था छ। सोही व्यवस्था अनुसार कैलालीका अधिकांश स्थानीय तहले समयमै बजेट प्रस्तुत गरेका छन्। तर टीकापुर नगरपालिकामा नगर प्रमुख र उपप्रमुख पदमुक्त रहेको तथा कार्यबाहक नगरप्रमुखको विषयमा विवाद कायमै रहेकाले बजेट ल्याउन नसकिएको जनाइएको छ।
बुधबार घोडाघोडी नगरपालिका, गोदावरी नगरपालिका र बर्दगोरिया गाउँपालिकाले सभामा बजेट प्रस्तुत गरेका हुन्। यसअघि नै धनगढी उपमहानगरपालिका, लम्कीचुहा नगरपालिका, मोहन्याल गाउँपालिका, भजनी नगरपालिका, जानकी गाउँपालिका, कैलारी गाउँपालिका, जोशीपुर गाउँपालिका, चुरे गाउँपालिका र गाैरीगंगा नगरपालिकाले पनि आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरिसकेका छन्।