सुदूर नेपाललाई विश्वसँग जोड्दै

महाकाली नदीमा चार लेनको पुल निर्माण, सम्झौताको ७ महिनामा चार प्रतिशत भौतिक प्रगती (अडियो रिर्पोट)

२०७५ वैशाख १९, ०७:३२

महाकाली नदीमा चार लेनको पुल बनाउन ठेक्का सम्झौता गरेको ७ महिनामा भौतिक प्रगती चार प्रतिशत मात्रै भएको छ । गत भदौमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले शिलान्यास गरेपछि कार्तिकमा पुल निर्माणका लागि कुमार सिएसइसी जेभीसंग सम्झौता भएको थियो । सोही ठेक्कामा झण्डै साढे ७ किलोमिटर सडक निर्माणको सम्झौता भएपनि सडक निर्माण भने अहिले सम्म सुरु भएको छैन् ।
अहिले सम्म योजनाको चार प्रतिशत मात्रै निर्माण सकिएको योजना कार्यालयले जनाएको छ । इटलीबाट ८ करोडको लागतमा हाईड्रोलीक पाइल रिग मेसीन ल्याएर पुलको काम भईरहेको छ भने निर्माण सामाग्री संकलन पनि भईरहेको महाकाली पुल योजनाका प्रमुख प्रदीप भण्डारीले बताए ।
तीन अर्ब २७ करोड ९३ लाख ३४ हजारमा निर्माणको सम्झौता भएकोमा पुलका लागि चालु आर्थिक बर्षमा ५५ करोड बजेट विनीयोजन गरिएको छ । निर्माण अवधि तीन वर्ष तोकिएको छ । अव छिट्टै बर्षात सुरु हुने भएकाले सुरुवातको समयमा निर्माण उपकरण ल्याउनै ढिलाई भएकाले अपेक्षा अनुसार काम गर्न नसकीएको योजना कार्यालयले जनाएको छ ।  
सोही ठेक्कामा पुलसँगै महाकाली नदी वारि करिब छ किलोमिटर र पारि दोधाराचाँदनीतर्फ डेढ किलोमिटर चार लेनको सडक समेत निर्माण हुनेछ । योजना कार्यालयले जग्गा प्राप्तीका लागि ३५ दिने सुचना जारी गरेपछि ९० प्रतिशतले जग्गाधनिले जग्गा विक्री गर्न निवेदन बुझाईसकेका छन् । जग्गा अधिग्रहणको प्रक्रिया लामो भएकाले अहिले सम्म सडक निर्माण भने सुरु समेत हुन सकेको छैन् । सडकमा पर्ने जग्गाको मुआब्जाका लागि सरकारले चालु आर्थिक वर्षमा १० करोड रकम विनियोजन गरिसकेको छ । मुआब्जा वितरणपछि सडक निर्माणको काम शुरु हुने योजना प्रमुख प्रमुख भण्डारीले बताए ।
पुल निर्माण भए कञ्चनपुर नेपाल–भारतको महत्वपूर्ण व्यापारिक नाकाका रुपमा विकसित हुने स्थानीयवासीको अपेक्षा रहेको छ । पुल निर्माण सम्पन्न भएमा प्रदेश नम्वर ७ र नेपालकै अर्थतन्त्रमा ठूलो मद्वत पुग्ने विश्वास गरिएको छ । पहिलो बर्ष अपेक्षा अनुसारको प्रगति गर्न नसकीएपनि अर्को आर्थिक बर्षदेखि भने निर्माणले तिव्रता पाउने दावी योजना प्रमुख भण्डारीको छ ।

अडियो रिर्पोट :

कमेन्ट लोड गर्नुस