साढे आठ वर्षपछि सेती प्रादेशिक अस्पतालको भवन सम्पन्न
धनगढीः निर्माण सम्झौता भएको साढे आठ वर्षपछि सेती प्रादेशिक अस्पतालको नवनिर्मित भवन सम्पन्न भएको छ। बिहीबार एक कार्यक्रमबीच भवन औपचारिक रूपमा अस्पताल व्यवस्थापनलाई हस्तान्तरण गरिएको हो।
संघीय सहरी विकास तथा भवन निर्माण कार्यालय, धनगढीका कार्यालय प्रमुख तुलसीराम खर्बुजाले सेती प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बलराम जैशी भट्टलाई नवनिर्मित भवन हस्तान्तरण गरेका हुन्।
एकीकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रमअन्तर्गत शहरी विकास तथा भवन निर्माण विभागमार्फत संघीय शहरी विकास तथा भवन निर्माण कार्यालय, धनगढीबाट भवन निर्माणका लागि बोलपत्र आह्वान गरिएको थियो। बोलपत्र प्रक्रियाबाट रविना/थेगिम जेभी, धनगढी कैलालीसँग २०७४ साल कात्तिक २८ गते निर्माण सम्झौता भएको थियो।
कार्यालयका अनुसार निर्माण कार्य २०८३ साल असार २५ गते सारभूत रूपमा सम्पन्न भएको हो। भवन निर्माणका लागि मूल्य समायोजन, आकस्मिक खर्च तथा मूल्य अभिवृद्धि करसहित कुल २३ करोड ७९ लाख ३४ हजार ४८४ रुपैयाँ ८४ पैसा खर्च भएको छ।
नवनिर्मित भवन दुईतले रहेको छ। भवनको भुईँतलाको क्षेत्रफल २ हजार ८३२ दशमलव ०२ वर्गमिटर तथा पहिलो तलाको क्षेत्रफल २ हजार ७२९ दशमलव ३८ वर्गमिटर रहेको छ। भवनसँगै आवश्यक सहायक संरचना तथा सम्झौताअनुसारका अन्य निर्माण कार्यसमेत सम्पन्न भएको कार्यालयले जनाएको छ।
लामो समयपछि निर्माण सम्पन्न भएको भवन सञ्चालनमा आएपछि सेती प्रादेशिक अस्पतालको उपचार सेवा विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। नयाँ भवनबाट बिरामीलाई थप सहज र व्यवस्थित रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउन तथा अस्पतालको स्वास्थ्य पूर्वाधार सुदृढ बनाउन सहयोग पुग्ने अस्पताल व्यवस्थापनको विश्वास छ।