सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा संरक्षण गरिएकै ताल अतिक्रमण, व्यक्तिको नाममा दर्ता गर्न नापजाँच

२०८० भदौ २८, १०:४५ नारायण अवस्थी

धनगढीः धनगढी उपमहानगरले संरक्षण गरेको दाबी गरिएको ताल नै चारतिरबाट अतिक्रमणमा परेको छ। वडा नम्बर ९ को गौरीपुरमा रहेको चन्द्रमुखी ताल संरक्षणको नाममा अतिक्रमणमा  परेको हो। चन्द्रमुखी तालको संरक्षण गर्ने जिम्मा धनगढी उपमहानगरको भए पनि तालको जग्गा व्यक्तिको नाममा दर्ता गर्न भूमि आयोगले नापी गरेको छ।

सिमसार र ताल क्षेत्रको संरक्षण गर्ने बताउँदै आएको उपमहानगरले चन्द्रमुखी तालको लालपुर्जा व्यक्तिलाई दिन लागेको पाइएको छ। चन्द्रमुखी ताल संरक्षण गर्न भनेर २०७० भदौ २८ गते धनगढी–९ मा रहेको भवानी माध्यमिक विद्यालयले कञ्चनपुरका विक्रमबहादुर सिंहलाई  तालमा माछापालनका लागि १५ वर्षका लागि ठेक्कामा दिने निर्णय गरिएको छ। २०७० असोज २ गतेदेखि २०८५ चैत ३० सम्म लागु हुने ठेक्का सम्झौतामा तालको क्षेत्रफल ७४ हजार एक सय वर्ग मिटर उल्लेख छ।

जसअनुसार अर्ध चन्द्राकार स्वरुपमा रहेको ताल १० बिघा १८ कट्ठा १६ धुरमा फैलिएको विद्यालयसँग रहेको लिखित दस्तावेजले देखाएको छ। तर, धनगढी उपमहानगरले भर्खरै तयार गरेको तालहरूको विवरणमा चन्द्रमुखी तालको क्षेत्रफल करिब ६÷७ बिघा मात्रै उल्लेख भएको छ। २०७० सालमा करिब ११ बिघामा फैलिएको भनिएको ताल १० वर्षको अन्तरालमा कसरी सानो भयो भनेर वडा नम्बर ९ का स्थानीयले प्रश्न उठाएका छन्।

तालको भोगचलन भवानी माध्यमिक विद्यालयले गरिरहेकाले तालको संरक्षण पनि विद्यालयले नै गर्नुपर्ने हो। तर, तालको यकिन क्षेत्रफल बारे अनविज्ञ रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हुकुमबहादुर पालीले बताए। ‘तालको क्षेत्रफल कति हो भन्ने कुरा विद्यालयको माइन्युटमा हुनुपर्छ। अहिले तालको क्षेत्रफल कति हो भन्ने कुरा ठ्याक्कै थाहा भएन,’ उनले भने, ‘म भर्खरै अध्यक्ष भएको हुँ। पुराना अध्यक्षलाई बढी थाहा हुनुपर्छ।’

चन्द्रमुखीतालसँग  उत्तर पूर्वमा जोडिएको केही जग्गा नम्बरी भए पनि ताल वरिपरिको बाँकी जग्गा ऐलानी हो। ऐलानी जग्गामा व्यक्तिको भोगचलन रहेको छ भने तालको पानी भएको क्षेत्रमा पनि व्यक्तिहरूले आफ्नो स्वामित्व भएको दाबी गर्दै आएका थिए। 
विद्यालयमा रहेको लिखतमा तालको लम्बाइ १ हजार १ सय मिटर र चौडाइ ६५ मिटर रहेको पाइएको छ। तर, फिल्डमा भने तालको लम्बाइ र चौडाइ कम रहेको स्थानीयले बताएका छन्।

ताल वरिपरि जग्गा भएका व्यक्तिले तालको जग्गामा आफ्नो हकभोग रहेको भन्दै ताल पुर्ने काम गरेकाले दश वर्षदेखि हरेक वर्ष  तालको क्षेत्रफल खुम्चिदै गएको छ। तर, तालको जग्गा अतिक्रमण नभएको वडा नम्बर ९ का अध्यक्ष प्रेमबहादुर भण्डारीले बताए। ‘त्यो ताल नक्सामा छैन। पछि निर्माण भएको ताल हो। तालको जग्गा अतिक्रमण भएको छैन,’ उनले भने, ‘तालको नजिकै पानी भएको जग्गा स्थानीयले पहिलेदेखि भोगचलन गर्दै आएका हुन्।

तालमा अतिक्रमण भएको छैन। ताल नापी भएको पनि छैन।’ तालको दक्षिणी छेउ र पश्चिमी छेउमा पानी जमेको तालको जग्गामा व्यक्तिले आफ्नो स्वामित्व रहेको दाबी गरे झै ताल वरिपरिका जग्गा भोगचलन गर्दै आएकाहरूले तालको क्षेत्रभित्र आफ्नो जग्गा रहेको दाबी गर्दै आएका छन्। भूमी आयोगले आर्थिक वर्ष २०७८÷७९ मा वडा नम्बर ९ मा जग्गा नापी गरेको छ। स्थानीय तहको चुनाव अगाडि र पछाडि वडा नम्बर ९ मा नापी गरिएको छ।

भूमि आयोगले जग्गा नापी गर्दा चन्द्रमुखी तालको जग्गा व्यक्तिको नाममा नापेकाले तालको क्षेत्रफल घटेको विवरण उपमहानगरले तयार गरेको सर्वसाधारणको आरोप छ। तर, ताल क्षेत्रको जग्गा नापी गरेको भए पनि लालपुर्जा वितरण नगरिने भूमी आयोग धनगढीका प्रमुख बागेश्वरदत्त ओझाले बताए। ‘भूमि आयोगले ताल क्षेत्रको लालपुर्जा कसैलाई दिँदैन। नापी भए पनि व्यक्तिले लालपुर्जा पाउन्न,’ उनले भने, ‘चन्द्रमुखी ताल व्यक्तिको नाममा नापी भएको भए पनि लालपुर्जा दिनु अगाडि छानबिन गर्नेछौँ।’

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस