सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी–१९ का पच्चीस घर र आइगाउँमा जडान गरियो स्ट्रीट लाइट

२०८३ कार्तिक १, १०:२२ खबर संवाददाता

धनगढीः धनगढी उपमहानगरपालिका–१९ को पच्चीस घर र आइगाउँमा स्ट्रीट लाइट जडान गरिएको छ।

‘उज्यालो धनगढी’ कार्यक्रमअन्तर्गत सडक क्षेत्रमा जडान गरिएका लाइटको वडा अध्यक्ष बाधुराम चौधरीले उद्घाटन गरेका हुन्। धनगढी उपमहानगरपालिकाले अघि सारेको ‘एक वडा, एक आर्थिक केन्द्र’ नीतिअनुसार बजार क्षेत्रलाई रातिको समयमा समेत उज्यालो र चलायमान बनाउने उद्देश्यले स्ट्रीट लाइट जडान गरिएको हो।

स्ट्रीट लाइट सञ्चालनमा आएसँगै पच्चीस घर र आइगाउँको रात्रिकालीन दृश्य थप आकर्षक बन्नुका साथै स्थानीय बासिन्दा तथा यात्रुलाई आवागमनमा सहज हुने अपेक्षा गरिएको छ। यसले रातिको समयमा बजार क्षेत्रमा आर्थिक गतिविधि बढाउन र सहरी सौन्दर्य अभिवृद्धि गर्नसमेत सहयोग पुग्ने विश्वास गरिएको छ।

धनगढी उपमहानगरपालिकाले ‘उज्यालो धनगढी’ कार्यक्रमलाई ‘एक वडा, एक आर्थिक केन्द्र’ नीतिसँग जोडेर नगरका विभिन्न सडक तथा बजार क्षेत्रमा स्ट्रीट लाइट जडान गर्दै आएको छ। उपमहानगरपालिकाले सार्वजनिक क्षेत्रलाई थप उज्यालो, सुरक्षित, व्यवस्थित र आकर्षक बनाउने अभियानलाई निरन्तरता दिँदै आएको छ।

कमेन्ट लोड गर्नुस