सुदूरमा महिना दिनमै विपदबाट साढे एक करोड बढीको क्षति, पाँच जनाको मृत्यु
धनगढीः सुदूरपश्चिममा एक महिनाको अवधिमा प्राकृतिक विपदबाट एक करोड ६५ लाख २५ हजार ८ सय बराबरको क्षति भएको अनुमान गरिएको छ। सबैभन्दा बढी आगलागीबाट एक करोड ५५ लाख ६५ हजार ८ र भारी वर्षाबाट ९६ हजारको क्षति पुगेको सुदूरपश्चिम प्रदेश आपतकालिन कार्य सञ्चालन केन्द्र (पीइओसी) धनगढीको अनुमान छ।
२०८० साउन १ गतेदेखि भाद्र ५ गतेसम्म पहिरो, चट्याङ, बाढी, जनावर आतङ्क, आगलागी, सर्पदंश, तथा भारी वर्षाबाट मानवीय, भौतिक र आर्थिक क्षति पुगेको पीइओसीको तथ्यांक छ। सो अवधिसम्म विपदका ७७ घटना घटेका छन्। पहिरोका २८ घटना घटेकामा एक महिला र एक जनाको पहिरोमा परेर मृत्यु भएको छ।
त्यस्तै चट्याङको एक घटना बाहिर आएको छ। बाढीबाट एक जना पुरुषको मृत्यु भएको छ भने यससँग सम्वन्धित १४ घटना घटेका छन्। त्यस्तै जनावर आतङ्कबाट एक महिलाको मृत्यु भएको छ भने यस्ता पाँच घटना बाहिर आएका छन्। आगलागीका १७ र सर्पदंशका दुई घटना भएकामा एक जना महिलाको मृत्यु भएको छ। त्यस्तै भारी वर्षाका १० घटना घटेको पाइएको छ। सो अवधिसम्म दुई पुरुष र तीन महिला गरी पाँच जनाको मृत्यु भइसकेको छ।
यस प्रकारका विपदका घटनाबाट सो अवधिसम्म ९ पुरुष र ८ महिला गरी १७ जना घाइते भएका छन्। यसबाट तीन हजार ४३२ परिवार प्रभावित बन्न पुगेका छन्। ३९ घर तथा भौतिक संरचनामा पूर्ण क्षति पुगेको छ भने चार सय ८४ संरचनामा आंशिक क्षति पुगेको छ। सो अवधिमा ९ वटा गोठमा क्षति पुगेर ५४ पशुचौपाया क्षति भएको केन्द्रको तथ्यांकले देखाएको छ।
सुदूरपश्चिम प्रदेशमा विभिन्न प्रकारका विपदबाट भौतिक तथा मानवीय क्षति हुने गरेको छ। प्रदेशको तराई क्षेत्रमा बाढी तथा डुवान र पहाडी क्षेत्रमा पहिरो, बाढी तथा प्रदेशका नौवटै जिल्लामा चट्याङ, हावाहुरी, आगलागी लगायतका विपद र वन्यजन्तु आक्रमणबाट पनि अन्नवाली तथा मानवीय क्षति हुदै आएका छन। विपद जुनसुकै समयमा पनि आउन सक्ने भएकाले यसको पूर्वतयारी तथा प्रतिकार्य योजनाहरू बनाएर सरकार अघि बढ्नुपर्ने सरोकारवाला बताउँछन्।