आज २१०औँ भानु जयन्ती मनाइँदै, गण्डकी प्रदेश सार्वजनिक बिदा
धनगढीः नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१०औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाईंदैछ। भानु जयन्तीको अवसरमा गण्डकी प्रदेश सरकारले आज शुक्रवार सार्वजनिक बिदा दिएको छ।
प्रदेश मन्त्रिपरिषद्को २०७९ चैत ८ गतेको निर्णयअनुसार प्रदेश राजपत्रमा प्रकाशित सार्वजनिक बिदा सम्बन्धी सूचनाबमोजिम भानुजयन्तीका अवसरमा शुक्रवार बिदा दिइएको छ। भानु नगरपालिका–४ चुँदीरम्घामा विक्रम संवत् १८७१ असार २९ गते जन्मिएका आचार्यको १९२५ असोज ६ गते निधन भएको थियो।
नेपाली साहित्यका प्राथमिककालका प्रतिनिधि कविका रूपमा परिचित भानुभक्त वाल्मीकि रामायणका अनुवादकका रूपमा प्रख्यात छन । मोतीराम भट्टले उनलाई पहिलोपटक नेपाली भाषाका आदिकवि उपाधि दिएका थिए। भानुभक्तले प्रश्नोत्तर, भक्तमाला, बधुशिक्षा लगायतका कृति लेखेका छन्। उनका पाण्डुलिपिलाई संग्रह गरेर मोतिराम भट्टले पुस्तकाकारमा प्रकाशित गरेपछि उनी नेपाली साहित्यिमा चिनिएका थिए।