२६ महिनापछि बल्ल थाल्यो कांग्रेसले पदाधिकारी नियुक्तिको तयारी
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले २६ महिनापछि बल्ल पदाधिकारी नियुक्तिको तयारी गरेका छन् । पदाधिकारी नियुक्तिका लागि देउवाले सोमबार केन्द्रीय समितिको बैठक बोलाएका छन् । पार्टीको विधानअनुसार दुई महिनाभित्र पदाधिकारी नियुक्त गर्ने प्रावधान छ । तर, उक्त प्रावधानलाई लत्याएका सभापति देउवाले २६ महिनापछि नियुक्तिको तयारी थालेको भन्दै रामचन्द्र पौडेल पक्ष असन्तुष्ट छ । देउवाले विमलेन्द्र निधिलाई उपसभापति र पूर्णबहादुर खड्कालाई महामन्त्री नियुक्तिको तयारी गरेको दाबि गरिएको छ । उपसभापतिका लागि निधिसँगै विजयकुमार गच्छदार, गोपालमान श्रेष्ठको पनि दाबी छ । तर, देउवाले निधिलाई नै अघि सार्ने तयारी गरेको स्रोतले जनाएको छ ।