कैलाली कारागारभित्र यसकारण हुन्छ पटकपटक लफडा
धनगढीः कैलाली कारागार प्रशासनकै लापरबाहीले लागुओषध प्रयोग र झैझगडाको अखडा बनेको छ। कारागारभित्र नेतृत्व हत्याउन कैदीबन्दी बिच शक्ति संघर्ष हुने गरेको छ।
हरेक वर्ष साउनमा हुने आन्तरिक नेतृत्व छनोटमा हाबी हुन विभिन्न समूह बिच लडाई झगडा हुने गरेको छ। कारागार भित्र कैदीबन्दीहरूको आन्तरिक व्यवस्थापन गर्न चौकीदार, मुल नाइके, शिक्षक नाइके लगायतको जिम्मेवारी बाँडफाँड हुने गर्छ। साउनमा नेतृत्वमा आउन र कारागार भित्र अबैध कामलाई निरन्तरता दिन बन्दीहरू बिच संघर्ष हुने गरेको दाबी गरिएको छ।
लामो समयसम्म नासुलाई जेलरको जिम्मेवारी
कैलाली जिल्ला कारागारका वर्तमान जेलर पदमप्रसाद तिमिल्सेना गत बैशाख १० गते मात्रै कार्यालयमा हाजिर भएका हुन्। त्योभन्दा अगाडि नायव सुब्वा लालबहादुर बोगटी निमित्त जेलर थिए। बोगटीलाई २०७९ फागुन १ गते निमित्त जेलरको जिम्मेवारी दिइएको हो।
डोटी कारागारबाट बोगटी कैलाली कारागार सरुवा भएका हुन्। बोगटीभन्दा अगाडि पनि नायव सुब्बा नरबहादुर थापालाई कारागार प्रमुखको जिम्मेवारी दिइएको थियो। थापा २०७८ भदौदेखि २०७९ माघसम्म निमित्त प्रमुख भएका थिए। अधिकृतको दरबन्दी रहेको कैलाली कारागारामा नासुलाई लामो समयसम्म जेलरको जिम्मेवारी दिएको पाइएको छ।
जसका कारण पनि कारागारभित्र अराजग र अबैध कामले प्रसय पाएको बताइएको छ। कैदीबन्दीसँग कारागार प्रशासन र प्रहरीले अश्वाभाविक सम्बन्ध विस्तार गरेका कारण कैलाली कारागारभित्र लागुऔषध र रक्सी सेवनदेखि जुवातास खेलाउने तथा अबैध असुलीका गतिविधि बढेको बताइएको छ। कारागार प्रशासन र प्रहरीले कैदीबन्दीहरूसँग हिमचिम बढाएका कारण अवैध कारोवारले प्रसय पाएको बताइएको छ।
कैदीबन्दीमाथि शासन चलाउन शक्ति संघर्ष
कारागारभित्रको आन्तरिक प्रशासन व्यवस्थापन गर्न कैदीबन्दी बिचबाटै चौकीदार, मुल नाइके, नाइके, सह-नाइके, शिक्षक नाइकेको जिम्मेवारी बन्दीहरूलाई नै दिइने गरिन्छ। यस्तै, कारागारको क्यान्टिन, मासु पसल, किराना पसल, सुर्ती पसल, फ्रिज सेवा र मेस चलाउने जिम्मेवारी पनि एक वर्षका लागि साउनमै प्रदान गरिन्छ। यी सबै जिम्मेवारी हत्याएर एक वर्षसम्म बन्दीहरूमाथि शासन चलाउन कैदीबन्दीका फरकफरक समूहबिच शक्ति संघर्ष हुने गरेको कैलाली कारागारका प्रमुख पदमराज तिमिल्सेनाले बताए।
कैलाली कारागार अबैध धन्दाको अखडा
कैलाली कारागारलाई अवैध धन्दाको अखडा बनाउने काम कारागार प्रशासनले गरेको पाइएको छ। कारागारभित्र खानेपानीको बोतल, कोक तथा अन्य चिसो पेय पदार्थको बोतलमा रक्सी भरेर छिराउने गिरोह सक्रिय रहेको थियो।
यस्तै, घरबाट पकाएर लगेको खसीको मासुको हड्डीभित्र ब्राउन सुगर लग्ने, मोवाइल भित्र्याउने, जुवातास खेलाउने र बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म चौकीदारहरूलाई बाहिर घुमफेर गर्न दिने जस्ता कार्य हुने गरेका थिए। बैशाख १० गते कारागार प्रमुखमा आफू आएपछि यी सबै कुरामा कडाई गरेको तिमिल्सिनाले बताएका छन्। जसका कारण अबैध कारोवारबाट फाइदा लिइरहेको समूहले कारागारभित्र अशान्ति फैलाउने चेष्टा गरेको उनको दाबी छ। 'यहाँ जति पनि अवैध भनिएका गतिविध हुने गरेका थिए, ती सबैको च्यानल भत्काउने काम गरेको छु,' उनले भने, 'जसका कारण अवैध धन्दाबाट लाभ पाउने च्यानल टुटेपछि भित्रका कैदीबन्दी र बाहिरका तीनका मान्छेले कारागारभित्र अशान्तिको वातावरण निर्माण गर्ने प्रयास गरेका छन्।'
अन्य जिल्लाका बन्दीको प्रमुख गन्तव्य कैलाली कारागार
कैलाली कारागारमा हुने गरेको अवैध कामलाई निरन्तरता दिन र साउनमा कारागारभित्र नेतृत्वमा आउन कैदीबन्दीहरूका बिच चैतदेखि यता पटकपटक झडपका घटना भएका छन्। १५० जना कैदीबन्दी राख्ने क्षमता भएको कैलाली कारागारमा हाल ६५६ जना बन्दी छन्। १९९७ सालमा निर्माण भएको कैलाली कारागारको जीर्ण भवनमा क्षमताभन्दा निकै बढी बन्दी राखिएको छ।
तर, सुदूरपश्चिमका पहाडी जिल्लाका कारागारबाट कैलाली कारागार सरुवा भएर आउने बन्दीको संख्या उच्च रहेको छ। कारागार प्रशासनकै कर्मचारी विशेषगरी निमित्त जेलरहरूले विगतदेखि नै भनसुन र राजनीतिक पहुँचको आधारमा पहाडबाट कैलाली जेल सरुवा हुन सहजीकरण गर्छन्।
पहाडी जिल्लाका जेलबाट बिरामी भएको र उपचार गराउने भन्दै जेल सार्ने खेल हुने गरेको छ। सबैभन्दा बढी डोटी जिल्ला कारागारबाट जेल सरुवा भएर कैदीबन्दी कैलाली कारागार ल्याइने गरिएको छ। यसरी जिल्ला विशेष र क्षेत्र विशेषका बन्दीको संख्या वृद्धि गरेर तिनीहरूकै बलमा कारागार प्रशासन र कैदीबन्दीहरूले मनपरी गर्ने गरेका छन्।
यसरी हुन्छ बन्दीहरूको समूह निर्माण
कारागार भित्रका कैदीबन्दीहरूले समूह निर्माण गरेर शक्तिका लागि संघर्ष गर्ने गरेको जेलर तिमिल्सिनाले बताए। समान किसिमको अपराध र अभियोग लागेकाहरूले फरकफरक समूह निर्माण गर्ने गरेका छन्। समूह बनाउँदा एकै क्षेत्र र भूगोलका बन्दीहरूको गठबन्धन बन्ने गर्छ। ती समूहले शक्तिमा आएर एक वर्षसम्म बन्दीहरूमाथि शासन गर्न कारागारभित्र झैझगडा र कुटपिट हुने गरेको छ।
कैलालीको लम्कीका भुपेन्द्र बडुवाल हत्या प्रकरणमा पक्राउ परेका १६ जनाको समूह कैलाली कारागारमा थियो। त्यो समूहले आगामी वर्ष शक्ति हत्याउन अहिले शक्तिमा रहेको समूहसँग पटकपटक झगडा र कुटपिट गरेको थियो। यस्तै, लामो समयसम्म केलाली कारागारमा कार्यालय सहयोगी रहेका धनगढी बलिराम चौधरीलाई सेवाबाट हटाउँदा र कारागारभित्र अनुशासन र नियमको पालन गर्न कडाई गरिँदा बन्दीहरू बिच झैझगडा गर्न लगाएर अशान्तिको वातावरण तयार गर्न खोजिएको जेलर तिमिल्सिनाको दाबी छ।
के के हुन्छ कैलाली कारागारभित्र?
कैलाली कारागारमा रहेका चौकीदार निस्फिक्री बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म बाहिर घुम्न पाउँथे। यस्तै, कैदीबन्दीले सट्टेबाजी, लागुऔषध प्रयोग, जुवातास, मिटर व्याज र अवैध असुली धन्दा चलाउँदै आएका थिए।
रक्सी, मोबाइल फोन, तास, लागुऔषधकोफ प्रवेश कारागारमा सजिलै हुने गरेको थियो। कारागार प्रशासनले जेठ २३ गते कैदीबन्दीहरूबाट २० थना स्मार्ट मोबाइल फेला पारेको थियो। योभन्दा अगाडि आउटडोर कैदीबन्दीसँग १३ थान स्मार्ट फोन बरामद गरिएको थियो।
असार ८ गते गरिएको सर्च अप्रेसनमा थप १५ थना मोबाइल र २० थान चार्जर फेला पारिएको थियो। केही महिना अगाडि कैदीबन्दीहरूले लागुऔषध प्रयोग गरिरहेको भिडियो सार्वजनिक भएको थियो भने चैतयता पटकपट कैदीबन्दी बिच झगडा भएका समाचार आएका थिए।
कैलाली कारागारमा एक खल्ली चुरोट २५ रुपैयाँमा बिक्री हुने गरेको थियो। यस्तै, मदिरा र लागुऔषधको प्रयोग र कारोबार गर्न कैदीबन्दीलाई सहज वातावरण निर्माण गरिएको थियो।
कैलाली कारागारबाट को-को भए सरुवा
कारागारभित्रै झैझगा र विभिन्न अवैध गतिविधि हुने गरेको सामाचार बाहिर आएपछि जेठ २९ गते १६ जना कैदीबन्दीलाई अन्य जेलमा सारिएको छ। यस्तै, कारागार सुरक्षामा खटिएकामा इन्चार्ज, सह-इन्चार्जलगायत १० जनाको सरुवा गरिएको छ।
जेठ २९ गते कैदीबन्दीतर्फ तोयनाथ भट्ट र पूर्णबहादुर सिंहलाई चितवन कारागार सरुवा गरिएको छ। गगन ठकुल्ला, दिपेश गुप्ता र हिक्मतबहादुर सिंहलाई पर्सा सरुवा गरिएको छ। यस्तै, अनिल सिंहलाई सिराहा कारागार, दिनेश बोहरा र तपेन्द्र बोगटीलाई मोहत्तरी, उदय थापा र मनिष जैसवाललाई सप्तरी, सन्तोष कुमार शाही र सुवास चन्द्रलाई कपिलवस्तु, गणेशदत्त भट्ट र निराजन भनिने खगेन्द्र शाहलाई सुनसरी तथा खगेन्द्र बम र पुष्प साउँदलाई नवलपरासी कारागार सरुवा गरिएको छ।
लम्कीका भुपेन्द्र बडुवाल हत्या आरोपी पनि सरुवा
कैलालीको लम्कीका युवा भुपेन्द्र बडुवाल हत्याको आरोप लागेर जेल परेका १६ जनामध्ये ७ जनाको कैलाली कारागारबाट अन्य कारागार सरुवा भएको छ। भुपेन्द्र हत्याका प्रमुख अभियुक्त भनिने अशोक रावलको तुल्सीपुर कारागार सरुवा भएको छ भने नविन रावल, सविनजङ्ग शाही र विकास खड्काको नेपालगञ्ज कारागार सरुवा भएको छ। यस्तै, प्रविन रिमाल र विकास शेरचनलाई सुर्खेत र आर्यन देवकोटालाई दैलेख कारागार सारिएको छ। अपहरण मुद्दाका अभियुक्त भीमबहादुर नेपालीलाई पनि दैलेख कारागार चलान गरिएको छ।
कैलाली कारागारभित्र एकपछि अर्को घटना घट्न थालेपछि केन्द्रबाट आएको टोलीले कारागारको निरीक्षण र अनुगमन गरेको छ। कारागार अनुगमनको क्रममा पनि कैदीबन्दीले प्रहरीमाथि आक्रमण गरेका थिए। अनुगमन गरेर गृह मन्त्रालयको टोली काठमाडौं फर्किएको छ। केही दिनभित्रै प्रतिवेदन सार्वजनिक हुने बताइएको छ। शक्ति हत्याउन र विगतदेखि गर्दै आएको अवैध धन्दा चलाई राख्न कैलाली कारागारभित्र सुनियोजित घटना घटाउने गरिएको जेलर तिमिल्सेनाको दाबी छ।