सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका मजदुरबाट विद्युतीय रिक्सा संघ रकम असुली गर्दै

२०८० असार ७, ०५:०६ नारायण अवस्थी

धनगढीः धनगढीमा नेपाल अटोरिक्सा, ई–रिक्सा, ठेला तथा सम्बद्ध श्रमिक संघ क्रियाशील छ। यो संस्था ट्रेड युनियन काँग्रेसमा र श्रम विभागमा दर्ता छ। यसको अध्यक्ष लालबहादुर कामी हुन्। 

यस्तै, धनगढीका मिनराज जोशी अध्यक्ष रहेको विद्युतीय रिक्सा चालक मजदुर संघ खोलिएको छ। जोशी अध्यक्ष रहेको मजदुर संघले रकम असुली गरिरहेको मजदुरहरूले आरोप लगाएका हुन्। बिमा गरिदिने भन्दै ४० जनाबाट सानो रिक्साको ६ हजार र ठुलो रिक्साको ८ हजार प्रिमियम उठाए पनि बिमा नगरेर पैसा खाएको रिक्सा चालक मजदुर हिक्मतबहादुर शाहीले बताए। उनले भने, ‘हामी चालीस जना साथीहरूबाट बिमा गर्ने भनेर सानो रिक्साको ६ हजार र ठुलोको ८ हजार लियो। तर, बिमा गरिएन। हामीलाई कागज पनि दिइएन।’

२०७३ मा जिल्ला प्रशासन कार्यालय कैलालीमा दर्ता भएको मिनराज जोशी नेतृत्वको विद्युतीय रिक्सा चलाक संघले मजदुरबाट मासिक शुल्क २५० देखि तीन सय उठाउने गरेको छ। यस्तै, ई–रिक्सा भलाई कोष भनेर प्रति रिक्सा ९५० असुल गरेको भेटिएको छ।  नयाँ रिक्सा खरिद गर्न आउनेबाट पनि संघले एक हजार ५ सय अग्रीम कमिसन लिने गरेको मजदुरहरूले बताएका छन्।

जोशी नेतृत्वको मजदुर संघले अहिलेसम्म लेखा परीक्षण गरेको छैन। संघको आयव्यय विवरण सार्वजनिक गरेको छैन। हाल मजदुर संघ नवीकरण पनि गरिएको छैन। तर, सात महिना अगाडि साधारण सभा बसालेर मिनराज जोशी फेरि अध्यक्ष भएका छन्। यातायात व्यवस्था कार्यालयमा दर्ता भएका अटोलाई पनि धनगढी उपमहानगरमा चल्न पाउने व्यवस्था गर्न भन्दै जोशी नेतृत्वको मजदुर संघले नयाँ अटो खरिदकर्ताबाट पनि कमिसन लिने गरेको आरोप लागेको छ। 
यस्तै, रिक्सा डिलरहरूसँग मिलेर एक अटो रिक्साको बिलबुकको नम्बर अर्को अटोमा हाल्ने, धनगढी उपमहानगरले रिक्सा हटाउन थाल्यो अब आन्दोलन गर्नुपर्छ भन्दै डर देखाएर मजदुरलाई मासिक शुल्क तिर्न बाध्य पार्ने गरेका मजदुरहरूले बताएका छन्।

तर, जोशीले भने माथिका आरोप निराधार भएको दाबी गरेका छन्। उनले अर्को मजदुर संघगठनले चलाएको हल्लामा सत्यता नभएको बताएका छन्। ‘हामीले पैसा असुल गरेका छैनौँ। गत महिना जम्मा १६ जनाले लेबि बुझाएका छन्,’ उनले भने, ‘रिक्सा चालक मजदुरको पक्षमा बोल्न संघ गठन भएको हो। अनावश्यक हल्लामा सत्यता छैन।’

यातायात कार्यालय धनगढीमा ८ हजार बढी विद्युतीय रिक्सा दर्ता भएका छन्। त्यसमध्ये ७२२ अटो धनगढी उपमहानगरपालिकामा पनि दर्ता भएका छन्। विद्युतीय रिक्सा चलाक मजदुर संघले भने विभिन्न नाममा रकम असुले पनि त्यसको अभिलेख र प्रमाण नष्ट गर्ने गरेको मजदुरहरूले आरोप लगाएका छन्।
 

गौरीफन्टा नाका क्षेत्रमा रिक्सा चालकबाट गैरकानुनी रुपमा रकम असुली

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस