सुदूर नेपाललाई विश्वसँग जोड्दै

मन्त्री सिंहको निधनले शोकमा सुदूरपश्चिम, श्रद्धाञ्जली सभामा कसले के भने?

२०८० असार ६, ०६:५४ नारायण अवस्थी

धनगढीः आन्तरिक मामिला तथा कानून मन्त्री पृथ्वीबहादुर सिंहको निधनले बझाङ जिल्लाले एक राजनीतिक अभिभावक गुमाएको छ। नेपाली काँग्रेसका नेता रहेका मन्त्री सिंहको सडक दुर्घटनामा परेर भएको निधनले सुदूरपश्चिमसहित  सिङ्गो बझाङ जिल्ला स्तब्ध भएको छ। बुधवार धनगढी रङ्गशालामा आयोजित श्रद्धाञ्जली सभामा सहभागी नेताहरूले बझाङले एक सालिन भद्र र संयोजनकारी छवि भएको नेता गुमाउनु परेको पीडा महसुस गरेको बताएका छन्।

मङ्गलवार गृह जिल्ला जाने क्रममा सडक दुर्घटनामा परेर आन्तरिक मामिला तथा कानून मन्त्रीको ज्यान गएको थियो।मन्त्री सिंहसँगै उनकी पत्नी र भाउजूको समेत दुर्घटनामा ज्यान गएको हो। नेपाली काँग्रेस बझाङका अग्रज नेता रहेका सिंहको आकस्मिक निधनले बझाङ जिल्ला शोकमा डुबेको छ। अप्रत्याशित दुर्घटनामा मन्त्री सिंहको ज्यान गएपछि बझाङ जिल्लाले एक असल राजनीतिक अभिभावक गुमाएको प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीले बताए।

‘बझाङ जिल्लाले एक असल अभिभावक गुमाएको छ। मैले आफ्नो राजनीतिक जीवनक अभिभावक मानेको व्यक्ति गुमाएको महसुस गरेको छु’ उनले भने, ‘कानूनका जानकार कानून मन्त्री हुँदा प्रदेश सभा सञ्चालन गर्न पनि मैले अभिभावक पाएको ठानेको थिएँ।’ २०७९ मंसिर ४ मा भएको निर्वाचनमा बझाङ प्रदेश निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाली काँग्रेसको तर्फबाट सिंहले चुनाव जितेका हुन्।

गठबन्धनको सरकार निर्माण भएपछि गत जेठ ६ गते सिंह आन्तरिक मामिला तथा कानून मन्त्रीमा नियुक्त भएका थिए। मन्त्री भएको ३२ दिनमै सिंहको सडक दुर्घटनामा ज्यान जाँदा सुदूरपश्चिम सरकार र प्रदेश सभाले एक बौद्धिक सहयात्री गुमाएको नेकपा माओवादी केन्द्र संसदीय दलका नेता खगराज भट्टले बताए। ‘छोटो समयको सहकार्यमै पृथ्वीबहादुर सिंह जीको विराट व्यक्तित्व हामीले गुमाउनु परेको छ’ उनले भने, “प्रदेश सभा, प्रदेश सरकार र गठबन्धनले बौद्धिक सहयात्री गुमाएको छ।’

बुधवार विहान श्रद्धाञ्जली अर्पण गर्न मन्त्री सिंहको पार्थिव शरीर धनगढीस्थित रङ्गशालामा राखिएको थियो। सिंहको पार्थिव शरीरमा प्रदेश प्रमुख, मुख्यमन्त्री, सभामुख, मन्त्रीहरू, प्रदेश सभा सदस्यहरू, नगरपालिकाका नगरप्रमुख र सर्वसाधारणले श्रद्धाञ्जली अर्पण गरेका थिए। गृह जिल्लामा बसेर राजनीतिमा सक्रिय सिंहको पार्टी भित्र र पार्टी बाहिर असल छवि निर्माण भएको थियो।

सिंहको निधनले बझाङ जिल्लाले कुसल व्यक्तित्व, कानूनको जानकार र मिलनसार राजनीतिज्ञ गुमाउनुपरेको प्रदेश सभाका पूर्व सभामुख अर्जुनबहादुर थापाले बताए। ‘बझाङले एक सरल नेता गुमाएको छ। बझाङको राजनीतिमा ठुलो क्षति भएको छ’ उनले भने, ‘कानूनको ज्ञाता समेत रहेका मन्त्री सिंहसँग कानून परामर्श र सहयोग बझाङका जनताले पाउथे। सिंह सरल, सहज र मिनलसार नेता हुन्।’

वि.स. २०१५ सालमा बझाङको साबिकको लुयेटा गाउँ विकास समितिमा जन्मिएका सिंह, नेपाली काँग्रेस बझाङको दुई कार्यकाल सभापति भएका थिए। कानून व्यवसायी समेत रहेका सिंह निःशुल्क कानूनी परामर्श अदालती बहस गर्न तयार हुन्थे। अन्य पार्टीमा समेत सम्मान पाउन सक्ने छवि भएका सिंहको दुःखद निधनले सिङ्गो सुदूरपश्चिम शोकमा डुबेको छ। बुधवार धनगढीबाट सिंहको पार्थिव शरीर सेनाक हेलिकप्टरबाट गृह जिल्ला बझाङ लगिएको छ। पारिवारिक स्रोतका अनुसार शनिवार सिंहको अन्तेष्टी गरिने छ।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस