सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा पहुँचका आधारमा योजना, स्वकीय सचिवको खेतमा सडक

२०८० असार ६, ०१:०९ नारायण अवस्थी

धनगढीः सुदूरपश्चिममा पहुँचका आधारमा योजना बाँड्ने परम्परा बसालिएको छ। प्रदेश सरकारले २०७४ देखि नै पहुँच र प्रभावका आधारमा योजना हाल्न थालेको हो। आर्थिक वर्ष २०७९/८० को बजेटमा भने व्यक्तिगत पहुँचको आधारमा प्लटिङको जग्गामा सडक र तटबन्धका योजना हालिएको छ। गत वर्ष ल्याइएको बजेटमा धनगढीमै प्लटिङको जग्गामा सडक योजना र कटानको जोखिम नभएको नालामा तटबन्धका योजना हालिएका छन्।
मुख्यमन्त्रीका स्वकीय सचिवको खेतमा सडक योजना
हाल भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा कार्यरत कृष्णराज जोशी पूर्व मुख्यमन्त्री त्रिलोचन भट्टको सचिवालयमा थिए। सचिवालयमा रहेको अवसरको फाइदा उठाउँदै जोशीले आफ्नो खेतमा जाने बाटोमा सडको योजना हालेको पाइएको छ। जोशीले धनगढी–१३ एकता टोलमा रहेको जग्गासम्म पक्की नाली सहितको ग्राभेल सडक निर्माणको योजनाका लागि १५ लाख बजेट हाल्न लगाएको भेटिएको छ।

ढुङ्गेवजारबाट उत्तर–पश्चिम पर्ने एकता टोलदेखि लक्ष्मीनगर जाने मुख्य सडक बनेको छैन। तर, त्यही सडकबाट खेतसम्म खोलिएको करिब एक सय मिटर सडकमा कल्भर्टसहितको पक्की नाली बनाइएको छ। यो वर्ष सडक ग्राभेल पनि गरिनेछ। एकताटोलबाट कैलाली गाउँ जाने चालीस वर्ष पुरानो सडकमा ग्राभेलसम्म छैन। व्यक्तिको जग्गामा प्लटिङ गर्न सहज होस् भनेर प्रदेश सरकारबाट योजना हालिएको पाइएको छ।

स्थानीय डिल्लीराज बिनाडी, नवराज बिनाडी र कृष्णराज जोशीको खेती गर्ने जग्गामा पक्की नालीसहित सडक योजना परेको तर मुख्य सडक कहिले बन्छ भन्ने टुङ्गो नलागेको स्थानीयको गुनासो छ। भविष्यमा प्लटिङ गर्न सहयोग पुग्ने गरि पूर्व मुख्यमन्त्री भट्टका स्वकीय सचिव जोशीले खेतमा सडक बनाउन सरकारी बजेट हालेको टोलवासीको गुनासो छ। तर, त्यो ठाउँमा जग्गा आफ्नो भए पनि बजेट हाल्न भनसुन नगरेको जोशीको दाबी छ। ‘त्यो ठाउँमा मेरो जग्गा छ तर मैले योजना हाल्न भनसुन गरेको होइन’ उनले भने, ‘सरकारसँग योजना मागिएको थियो होला। बजेट पर्‍यो। तर, त्यसमा मैले नै योजना हाल्न लगाएको हो भन्न मिल्दैन।’
गत वर्षको बजेटमा ४३२ सडक योजना
सुदूरपश्चिम प्रदेश सरकारले गत वर्ष ल्याएको बजेटमा सडक र तटबन्धका योजना पहुँचको आधारमा हालेको पाइएको छ। सरकारले कैलालीमा ४३२ वटा सडकका योजना हालेको छ। ती सबै योजना कार्यान्वयनको चरणमा रहेको भौतिक पूर्वाधार विकास कार्यालयले जनाएको छ। जसमध्ये साढे तीन सय सडकमा व्यक्तिको नाम र घर तोकेर बजेट हालिएको छ।

सरकारको रातो किताबमा आएका योजना कार्यान्वयन गर्नैपर्ने भएकाले कसरी योजना आए भन्ने विषय आफूहरूलाई थाहा नहुने भौतिक पूर्वाधार विकास कार्यालयका इन्जिनियर ओम जोशीले बताए। ‘सरकारको रातो किताबमा आएका योजना हामीले कार्यान्वयन गर्ने हो। योजना कसरी आयो भन्ने हामीलाई थाहा हुन्न,’ उनले भने, 'कैलालीमा फलानोको घरदेखि फलानो घर तथा खेतसम्म भन्ने योजाना धेरै हालिएको थियो। तिनको काम भइरहेको छ।’
जग्गा बढाउन नालामा तटबन्ध 
पूर्व मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको सरकारले चालू बजेटमा कैलालीमा १५२ भन्दा बढी तटबन्धका योजनामा बजेट हालेको छ। सडकका योजना जस्तै तटबन्धका योजनामा पनि ५ लाखदेखि १ करोडसम्म बजेट हालिएको छ। व्यक्तिको नाम तोकिएका तटबन्धका योजनामा बढीमा ३० लाख लाखसम्म बजेट छ। अधिकांश तटबन्धका योजनामा व्यक्तिको जग्गाको क्षेत्रफल बढाउने मनसाय राखिएको देखिएको छ। जसको एक उदाहरण धनगढी–६ बिजुलीयाको सुकुटी नालामा गरिएको तटबन्ध हो।

जग्गा कारोबारी कृष्ण धामीको जमिनको क्षेत्रफल बढ्ने गरी कटानको जोखिम नै नभएको ठाउँमा तटबन्ध गरिएको छ। सो ठाउँमा तटबन्ध गर्न १५ लाख बजेट हालिएको जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय धनगढीले जनाएको छ। यस्तै, धनगढीमै शिवनगरमा सुकुटी नालाको विभिन्न ठाउँमा १० देखि १५ लाखका तटबन्धका योजना हालिएका छन्। अहिले  केहीको काम सम्पन्न भएको छ भने केहीको धमाधम काम भइरहेको छ।

यस्तै, तारानगर राधाकृष्ण मन्दिर पछाडिको कैलाली नालाको डिस्को काटेर तटबन्ध गरिएको छ। यहाँ खोलाको बहाउ क्षेत्र साँघुरो हुने किसिमले तटबन्ध गरिएको स्थानीयको गुनासो छ। कैलालीका ठुला नदीबाट कटानको जोखिम छ। तर, प्रदेश सरकारले नालाहरूमा तटबन्धका योजना दिएको छ। यी सबै योजना व्यक्तिगत पहुँचमा हालिएका हुन्।

चालु आर्थिक वर्षमा स–साना योजनामा बजेट हालिएको भए पनि आगामी आर्थिक वर्षको बजेटमा स–साना योजना नराखिएको जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय धनगढीका प्रमुख डम्बरप्रसाद धितालले बताए। ‘नयाँ बजेटमा स–साना योजना हालिएका छैनन्। तर, चालु बजेटमा स–साना तटबन्धका योजना थिए’ उनले भने, ‘आगामी बजेटबाट व्यक्तिगत पहुँचको भरमा योजना बन्दैनन्।’ प्रदेश सरकार गठन भएदेखि पहुँच र प्रभावको आधारमा टुक्रे योजनामा बजेट हाल्ने गरेको भन्दै सरकारको आलोचना हुने गरेको छ।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस