सीमा क्षेत्रमा हुने तस्करी रोक्न नेपाल–भारतका वन अधिकारी सहमत
धनगढी: धनगढीमा नेपाल र भारतका वन अधिकारीहरूको संयुक्त बैठक बसेको छ। सीमाक्षेत्रमा हुने मानव वन्यजन्तु द्वन्द, तस्करी र चोरी सिकारी नियन्त्रण गर्न दुई देशका वन अधिकारीको संयुक्त बैठक बसेको हो।
बैठकमा दुई देशका वन अधिकारीहरूले वन, वन्यजन्तुको संरक्षण गर्न र मानव वन्यजन्तु बिचको द्वन्द्व रोक्न सहकार्य गर्ने मौखिक सहमति भएको छ। बैठकले सीमा क्षेत्रमा हुने वन्यजन्तुको आवागमन, चोरी सिकारी, वन्यजन्तुको आक्रमण र तस्करी रोक्न दुबै देशका वन अधिकारीहरूलाई सहकार्य गर्न सजिलो हुने प्रदेश वन निर्देशक कृष्ण भट्टले बताए।
गत चैत १० गते पुनर्वास नगरपालिका वडा नम्बर १० की कलसा सार्की र बैशाख ८ गते बेलौरी नगरपालिका वडा नम्बर ८ की गङ्गा चन्दक बाघको आक्रमणबाट ज्यान गएको थियो। त्यसअघि र पछि पनि कञ्चनपुरको दक्षिणी क्षेत्रमा बाघ तथा जङ्गली हात्तीको त्रास भइरहन्छ।
नेपालमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र भारतको दुधुवा टाइगर रिजर्भका बाघ, हात्ती र अन्य जङ्गली जनावर र स्थानीय बिच द्वन्द्वको अवस्था सिर्जना हुने गरेको छ। यसका साथै दुई देशको सीमा क्षेत्रमा वन्यजन्तुको चोरी सिकारी र तस्करी रोक्न दुबै देशका वन अधिकारीको छलफल तथा अनुभव आदानप्रदानको कार्यक्रम राखिएको कञ्चनपुर डिभिजन वन कार्यालयका प्रमुख शम्भुप्रसाद तिवारीले बताए।
'वन संरक्षण गर्न र सीमा क्षेत्रमा हुने गरेको मानव वन्यजन्तु द्वन्द्व तथा तस्करी रोक्न स्थानीय स्तरमा नेपार र भारतका वन अधिकारीहरूको बैठक राखेका हौँ,'उनले भने, 'यस्तो बैठकले दुबै देशका वन अधिकारीहरूलाई मिलेर संरक्षणमा काम गर्न सहज हुनेछ भन्ने हाम्रो विश्वास हो।'
दुई देशका वन अधिकारी बिचको छलफलमा प्रदेश वन निर्देशक कृष्ण भट्ट, डिभिजन वन कार्यालय धनगढीका प्रमुख केशवराज पराजुली, पहलमानपुर वन डिभिजन प्रमुख गोकुल रिजाल, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका वार्डेन र प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका अधिकारी र भारतको दुधुवा टाइगर रिजर्भका डिपुटी डाइरेक्टर गङ्गा राजुको नेतृत्वमा १० जना अधिकारीको सहभागिता रहेको थियो।
दुई देशका वन अधिकारीहरूको छलफलले सीमा क्षेत्रमा हुन मानव वन्यजन्तु द्वन्द्व, चोरी सिकारी र तस्करी नियन्त्रण गर्न सूचना आदानप्रदान गर्न सहज हुने दुधुवा टाइगर रिजर्भका डिपुटी डाइरेक्टर गङ्गा राजुले बताए। उनले बैठकले सीमा क्षेत्रमा हुने अनावश्यक मानवीय गतिविधि रोक्न सहयोग पुग्ने बताए। यस्तै, मानव र वन्यजन्तु बिचको द्वन्द्व समाधान गर्न र वन संरक्षण गर्न सूचना आदानप्रदान गर्न सहज हुने राजुले बताए।
वन्यजन्तुको विचरणको क्रममा नेपालबाट भारत र भारतबाट नेपाल ओहोरदोहोर गरिरहने वन अधिकारीले बताएका छन्। यस्तै, वनमा अवाञ्छित मानवीय गतिविधि र वन क्षेत्रमा मानिसको प्रवेशले वन्यजन्तुको आक्रमणको खतरा बढ्ने हुन्छ। वन पैदावरको चोरी तस्करी र वन्यजन्तुको चोरी सिकारी हुने घटना रोक्न सूचना र अनुभव आदानप्रदान गर्न दुबै देशका वन अधिकारी सम्पर्कमा रहने सहमति भएको छ।
डिभिजन वन कार्यालय कञ्चनपुरले भारतीय समकक्षीसँग वन र वन्यजन्तुको संरक्षणक लागि स्थानीय स्तरमा सहकार्य छलफल गरिएको जनाएको छ। यस्ता बैठक नेपाल र भारत दुबै पक्षले विभिन्न समयमा आयोजना गर्दै आएको बताइएको छ।