कैलालीमा एक सहकारीका ‘हाकिम’बाटै ७ लाख ८० हजार गोलमाल
धनगढीः कैलालीमा एक सहकारीका हाकिम (व्यवस्थापक)बाटै सात लाख ८० हजार गोलमाल भएको आरोप लागेको छ। जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ४ राजीपुरमा रहेको राधाकृषण बचत तथा ऋण सहकारी संस्थाका हाकिम जितनारायण आर्चायले सात लाखको चेक, ७५ हजार ऋणीले फोन पे मार्फत तिरेको रकम र पाँच हजार एक ऋणीलाई व्याजमा छुट दिएर फरार छन्।
स्रोतका अनुसार सात लाखको चेक सहकारीका एक कर्मचारीको नाममा काटिएको छ। चेक साटिएको पनि छ। तर सात लाखको हिसाब छैन। सो रकम सहकारीको काउण्टरमा आउनु पर्ने हो, तर अहिलेसम्म आएको छैन। राधाकृष्ण सहकारीका अध्यक्ष सिपी सापकोटाका अनुसार छानबिन समितिले प्रतिवेदन बुझाएको छ।
व्यवस्थापक आर्चालयले सहकारीको हिसाब मिलान गरेका छैनन्। उनले भने, ‘पैसा खाएको भन्ने ठ्याक्कै होइन। हिसाब नमिलेको हो। उहाँले स्वीकार गर्नु भएको छैन। उहाँ बाहिर हुनुहुन्छ। आएर हिसाब हेर्छु भन्नु भएको छ।’ उनले सात लाखको हिसाब नदेखिए व्यवस्थापक आर्चायले तिर्नुपर्ने बताए। सहकारीका व्यवस्थापक आर्चायले फागुन ३ गते राजीनामा दिएका थिए। तर उनले फागुन महिनाको २७ दिन र चैत महिनाको तलब समेत बुझिसकेका छन्।
सो रकम पनि फिर्ता हुनुपर्ने छानबिन समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ। पाँच हजार व्याजमा छुट दिनुको कारणसमेत प्रतिवेदनले माग गरेको छ। तर व्यवस्थापक आर्चायले फोन बन्द गरेका छन्। राधाकृष्ण बचत तथा ऋण सहकारीको १० करोड बढी पूँजी रहेको छ। सहकारी व्यवस्थापकले काउण्टरमा बुझाएको दाबी गर्दै आए पनि काउण्टरमा रकम जम्मा नभएको सहकारीले जनाएको छ।