एन्टिबायोटिकको जथाभावी प्रयोगले सुसुप्त महामारीको रुप लिँदै

धनगढीः एन्टिबायोटिकको जथाभावी प्रयोगले मानिसमा प्रतिजैविक प्रतिरोध बढ्दै गएको छ। सामान्य बिरामीले पर्दासमेत चिकित्सकको सल्लाह नलिएरै बारम्बार एन्टिबायोटिक सेवन गर्दा औषधिले काम नगर्ने अवस्था आउन थालेको हो।
एन्टिबायोटिक औषधिको जथाभावी सेवनका कारण यसले काम गर्न छोडेको छ। जसका कारण मानिसमा प्रतिजैविक प्रतिरोध (एएमआर) बढ्दै गएको छ। चिकित्सकको सल्लाह बिना औषधि सेवन गर्ने मानिसहरुको बानीले भित्रभित्रै सुसुप्त महामारी फैलिने चिन्ता गरिएको छ। जथाभावी कसैले पनि एन्टिबायोटिक औषधि सेवन गर्न नहुने निमित्त स्वास्थ्य निर्देशक डाक्टर जगदिश जोशीले बताए।'एन्टिबायोटिक औषधिको जथाभावी सेवनले मान्छेमा रोग प्रतिरोधी क्षमतामा ह्रास आउन थालेको छ। यसले मृत्युदर पनि बढाएको छ,' उनले भने, 'चिकित्सकको सल्लाहमा मात्रै औषधि सेवन गर्ने बानी बसाल्नु जरुरी छ।'

सामान्य बिरामी हुँदा पनि मेडिकल वा क्लिनिक गएर आफैं औषधि किनेर खाने बानीका कारण विभिन्न औषधिले काम गर्न छोडेको पाइएको छ। बिरामीले आफूखुसी एन्टिबायोटिक सेवन गर्दा औषधिले काम गर्न छोडेको छ।

जसका कारण प्रतिजैविक प्रतिरोध (एएमआर) बढ्दै जाँदा निकट भविष्यमै स्वास्थ्य संकट निम्तिन सक्ने जोखिम बढेको हो। प्रतिजैविक प्रतिरोध अर्थात् एन्टिबायोटिक रेसिस्टेन्ट (एएमआर) एक प्रमुख स्वास्थ्य खतरा बनेको युएसएडको एमट्याप्स परियोजनाका सिनियर टेक्निकल एड्भाइजर डाक्टर सन्तोष दुलालले बताए। 'धेरै वर्ष अगाडि काम उपचारका लागि प्रभावकारी देखिएका औषधिले अहिले काम गर्न छोडेको अवस्था छ। अहिले प्रतिजैविक प्रतिरोध बढ्दै गएको छ,' उनले भने, 'पहिला कीटाणु मार्न प्रभावकारी भएका एन्टिबायोटिकले काम गर्न छोडेपछि जनस्वास्थ्यमा संकट देखिएको छ।'

विश्वमा हरेक वर्ष ७७ लाख मानिसले एन्टिवायोटिकको जथाभावी प्रयोगका कारण ज्यान गुमाइ रहेका छन्। धेरै जसो एन्टिबायोटिकले मानिसको शरीरमा काम गर्न छोडेको अवस्था छ। एन्टिबायोटिकले काम गर्न छोडेपछि प्रतिजैविक प्रतिरोधको अवस्था देखा परेको हो। जथाभावी औषधिको प्रयोग गर्दा मानिससँगै पशु तथा वातावरणमा समेत प्रतिजैविक प्रतिरोधको अवस्था आउने डाक्टर दुलालले बताए।

एन्टिबायोटिकको जथाभावी उपभोगले जनस्वास्थ्य, पशुस्वाथ्य र वातावरणमा संकटको अवस्था आउन सक्ने चेतावनी दिइएको छ। विगतमा उपचारमा प्रभावकारी देखिएका एन्टिबायोटिक अहिले आएर काम नगर्ने अवस्थामा पुगेका छन्। एन्टिबायोटिकको जथाभावी प्रयोगबाट देखापर्ने प्रतिजैविक प्रतिरोधलाई जनस्वास्थ्यको खतराका रुपमा स्वीकार गरिएको छ।
चिकित्सकको सल्लाह बिना एन्टिबायोटिक औषधिको सेवन गर्दा मानिसको अकालमा मृत्यु हुने अवस्था आउने भएकाले औषधिको सेवन गर्दा चिकित्सकको सल्लाह लिनै पर्ने हुन्छ। कुनै पनि औषधि बाँडेर सेवन नगर्ने, सरसफाइमा ध्यान दिने, उपचारका लागि मात्रै औषधि सेवन गर्ने र एक स्वास्थ्य रणनीति अन्तर्गत मानव स्वास्थ्य, पशु स्वास्थ्य र कृषि वातावरणको रोकथाम र नियन्त्रणमा कदम चाल्नुपर्ने डाक्टर दुलालले बताए।
जनचेतनाको अभावका कारण सामान्य स्वास्थ्य समस्यामा पनि व्यक्तिले कडा खाले एन्टिबायोटिक औषधि सेवन गर्छन्। यस्तै, पशुपन्छीमा प्रयोग हुने एन्टिबायोटिकले जनावरमा औषधिको असर नहुने व्याक्टेरियाको विकास हुने र संक्रमित पशुको मासु, अन्डा र दुध खाँदा मानिसमा पनि असर पर्छ। प्रतिरोधी व्याक्टेरियाबाट हुने संक्रमण घातक हुने भएकाले यसले जनस्वास्थ्यमा गम्भीर असर ल्याउने बताइएको छ।
प्रतिजैविक प्रतिरोध बढ्दै गए सन् २०५० सम्ममा विश्वमा एक करोड मानिसको ज्यान जान सक्ने तथ्य सन् २०१४ मा भएको एक अध्ययनले देखाएको छ। 'रिभ्यु अन एन्टिमाइक्रोवियल रेसिस्टेन्स, २०१४' ले सन् २०५० सम्म एसियामा मात्रै एएमआरका कारण प्रति वर्ष ४७ लाख ३० हजार मानिसले ज्यान गुमाउने उल्लेख गरिएको डाक्टर दुलालले बताए।
मानिसले प्रयोग गर्ने कुल एन्टिबायोटिकमध्ये ५० प्रतिशत एन्टिवायोटिक अनावश्यक प्रयोग भइरहेको एएमआरसम्बन्धी विश्वव्यापी अध्ययनले देखाएको छ। ग्लोवल रिसर्च अन एन्टिमाइक्रोवियल रेसिस्टेन्ट (ग्राम) का अनुसार व्याक्टेरियाको संक्रमणका कारण विश्वमा आठमध्ये एक जनाको मृत्यु हुने गरेको छ। सन् १९४० देखि २०२० सम्म विभिन्न १४ प्रकारका एन्टिबायोटिक काम नलाग्ने अवस्थामा पुगेका छन्।
विश्वव्यापी रुपमा अग्रपङ्क्तीमा काम गर्ने ७० प्रतिशत महिला स्वास्थ्यकर्मीमा एएमआरको जोखिम हुने डाक्टर विवेका श्रेष्ठले बताइन्। उनले शिक्षा तथा जनचेतनाको अभावका कारणले सामान्य स्वास्थ्य समस्यामा पनि एन्टिबायोटिक चलन रहेकाले यो अभ्यास घातक रहेको बताइन्।
आइतवार धनगढीमा युएसएडको सहयोगमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको एन्टिमाइक्रोवियल रेसिस्टेन्ट सम्बन्धी कार्यशालामा कैलाली र कञ्चनपुरका ५७ जना पत्रकारको सहभागिता रहेको थियो।
कार्यशालामा युएसएडका अर्जुन अधिकारीले एन्टिमाइक्रोवियएल रेसिस्टेन्ट (एएमआर) का विषयमा खोजमुलक समाचार लेखेर जनचेतना फेलाउन मिडियाकर्मीलाई आग्रह गरेका छन्। समाचार पढेर एएमआरको माहामारी बारे थाहा पाएर एन्टिबायोटिकको सुरक्षित प्रयोग गर्न सर्वसाधारण सजग हुने अधिकारीले बताएका छन्।