नेपालद्धारा जिम्बावेलाई २ सय ९१ रनको लक्ष्य
एजेन्सीः कुशल भुर्तेल र आसिफ शेखको कीर्तिमानी साझेदारीको सहयोगमा नेपालले आईसीसी एकदिवसीय विश्वकप छनोट अन्तर्गतको आफ्नो पहिलो खेल घरेलु टोली जिम्बावेविरुद्ध २ सय ९१ रनको लक्ष्य पेश गरेको छ।
हरारे स्पोर्टस् क्लबमा टस हारेर पहिले ब्याटिङको गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ९० रन बनाएको हो। नेपालका लागि ओपनर कुशल भुर्तेल र आसिफ शेखले अर्धशतकीय ईनिङ खेले। कुशलले ९५ बलमा १३ चौका र २ छक्काको सहयोगमा ९९ रन बनाए। शेखले १ सय बलमा ७ चौकाको सहयोगमा ६६ रन बनाए। कुशल टेस्ट मान्यता प्राप्त राष्ट्रविरुद्ध पहिलो शतक बनाउन मात्र १ रनले चुकेका थिए। उनी विलिङ्टन मासाकाट्जाको बलमा बोल्ड आउट भएका थिए।
पहिलो विकेटका लागि कुशल र आसिफले ३१ दशमलब ५ ओभरमा १ सय ७१ रनको सानदार शतकीय साझेदारी गर्दै सानदार सुरुआत दिलाएका थिए। यो नेपालबाट ओडिआई कुनैपनि विकेटका लागि भएको उच्च साझेदारी हो। यसअघि ओडिआईमा उच्च साझेदारी गत फेब्रुअरीमा नामिबियाविरुद्ध भएको थियो। नामिबियाविरुद्धको खेलमा दोस्रो विकेटका ज्ञानेन्द्र मल्ल र आसिफ शेखले १ सय ३९ रनको शतकीय साझेदारी गरेका थिए।
अर्का ओपनर शेख मासाकाट्जाको नै बलमा रायन बर्लबाट क्याच आउट भए। तेस्रो विकेटका लागि कुशल मल्ल र कप्तान रोहित पौडेलले ७२ रनको महत्वपुर्ण साझेदारी गरे। कप्तान पौडेल २९ बलमा ५ चौकाको सहयोगमा ३१ रन बनाउदै आउट भए। तेस्रो नम्बरमा ब्याटिङमा आएका मल्लले ४२ बलमा २ चौका र ३ छक्काको सहयोगमा ४१ रन बनाए।
गुलसन झाले १३ बलमा १३ रन बनाए। आरिफ शेखले ११ बलमा १० रन बनाएर आउट भए। नेपालले अन्तिम ५ ओभरमा ३२ रन बनाउँदा ४ विकेट गुमाएको थियो। जिम्बावेका लागि रिचार्ड नगर्भाले ४ र विलिङ्टन मासाकाट्जाले २ विकेट लिए। ब्लेसिङ्ग मुजवानी र टेन्डी चताराले समान १÷१ विकेट लिए।