अत्तरियाको सुदूरपश्चिमाअञ्चल सामुदायिक हस्पिटल यसरी पल्टियो टाँट
धनगढीः कैलालीको अत्तरियामा २०७१ असोजबाट १५ शप्याको सुदूरपश्चिमाअञ्चल सामुदायिक हस्पिटल सञ्चालनमा आयो। ५० जनाबाट दुई/दुई लाखका दरले एक करोड रकम संकलन गरेर लालमणि जोशीे अध्यक्ष रहने गरेर हस्पिटल सञ्चालन गरिएको थियो। एक करोडका उपकरण, फर्निचर तथा औषधिमा खर्च भएपनि हस्पिटल पूर्ण रुपमा सञ्चालनमा आएन। जोशीले अध्ययनमा जाने भन्दै अध्यक्षबाट राजीनामा दिए। त्यसपछि भोजराज भट्ट समितिको अध्यक्ष बने।
उनले क्रिश्चियन धर्मका संस्थाहरुबाट समेत रकम उठाए। संस्थापक अध्यक्ष लालमणि जोशीले २०७१ असोजबाट हस्पिटल सञ्चालन गरेको बताए। उनले भने, ‘२०७१ साल असोजतिर सुरु गरेका हौ। ४८/५० जना थियौ। चलाउन सकेनौ। त्यसपछि भोजराज भट्ट अध्यक्ष भए। चलाउछु भने। उनले फोटो खिच्ने क्रिश्चियनहरुमा पठाए। हामीले फेला पारेका थियौ। फोटो खिच्ने क्रिश्चियनहरुबाट पैसा लिए। पछि बन्द गरे।’
सुदूरपश्चिमाअञ्चल सामुदायिक हस्पिटलले २०७३ सालमा संघीय सरकरबाट एक करोड २१ लाख अनुदान पाएको थियो। संघीय सरकरले उपकरण खरिदमा अनुदान दिएको हो। २०७५ सालमा जापान सरकारले दुतावास मार्फत एक करोड २७ लाखका उपकरण सहयोग गरेको थियो। अस्पतालमा भेन्टिलेटरसहितका आइसीयूसम्मका उपकरणहरु छन। सुदूरपश्चिमाअञ्चल सामुदायिक हस्पिटलमा पाँच जना चिकित्सक छन्।
उनीहरुलाई मासिक दुई लाखका दरले तलब दिने भनिएको छ। तर समितिको बेवास्ताका कारण चिकित्सकले तलबसमेत पाएका छैनन्। दुई महिनादेखि अस्पताल बन्द छ। अस्पताल अहिले झण्डै एक करोड ५० लाख ऋणमा छ। पूर्व अध्यक्ष जोशीले पहिला ऋणमा रहेको हस्पिटल १० कट्टा जमिन ६० लाखमा बिक्री गरेर हस्पिटल सञ्चालन गरेकोमा फेरि ऋणमा डुबेको दाबी गर्छन। सुदूरपश्चिमाअञ्चल सामुदायिक हस्पिटलमा पूर्व अध्यक्ष जोशीले अस्पताल बन्द रहेको बताए।
उनले भने, ‘धेरै दिन भयो अस्पताल बन्द छ। सबै मिलेर चलाउने हो। मैले छोडेको पाँच वर्ष भयो। सुरुमा पनि सबै पैसा उठेन, ६०/७० लाख जति उठेको थियो। केही दिन मात्र चलायौ। पछि बन्द भयो। मैले १० कट्ठा बेचेर सुरु गरेको थिए। नसकेर भोजराज भट्ट अध्यक्ष भए। उनले फोटो खिचेर कता कता पठाए। अस्पताल बन्द गरे।’ सामुदायिक हस्पिटलको औषधि पसलमा म्याद गुर्जेका औषधि रहेको, नविकरण नगरिएको, लागूऔषध तथा मानसिक रोगसम्बन्धिका औषधिहरुको अभिलेखिकरण नगरेको भन्दै स्वास्थ्य विभाग, नेपालगञ्जले गत चैतमा शिल गरेको थियो।
औषधि पसल शिल गरिएको भएपनि हस्पिटल सञ्चालनमा रहेको दाबी गरिएको थियो। तर दुई महिनादेखि हस्पिटलसमेत बन्द छ। सञ्चालकसमितिका पदाधिकारीको आर्थिक तथा नीजि स्वार्थका कारण हस्पिटल भताभुंग भएको छ। सुदूरपश्चिमाअञ्चल सामुदायिक हस्पिटलका अध्यक्ष आनन्द भट्टले अर्काे समूहलाई हस्पिटल हस्तान्तरणको प्रक्रियामा रहेको दिनेशखबरलाई बताए। उनका अनुसार बन्द रहेको हस्पिटल सञ्चालन गर्न अर्काे समूह तयार भएको हो।
उनले भने, ‘७ गतेबाट पुनःसञ्चालन हुन्छ। औषधि पसलको कुरा सकिएको छ। सबै प्रक्रिया पूरा गर्दैछौ। कम्पनी रजिष्टारको कार्यालयमा मात्र बाँकी छ। नयाँ कार्यसमिति आउँदैछ। उनीहरुले नै सञ्चालन गर्छन।’ सामुदायिक अस्पतालमा झण्डै पाँच करोडका उपकरणहरु रहेको दाबी छ। गैर नाफामुखी संस्थाभित्र दुईवटा कम्पनी छन्। सुदूरपश्चिमाअञ्चल सामुदायिक हस्पिटल र सुदूरपश्चिमाअञ्चल सामुदायिक हस्पिटल लिमिटेड गरेर दुईवटा संस्थामार्फत पदाधिकारीहरुले आर्थिक लाभ लिइरहेका हुन्।
भट्टले भने, ‘नाफा वितरण गर्दैनौ। लिमिटेड भन्ने पनि छ। दुई लाख लिमिटेडले उठाएको होला। हामीले हैन। नाफामुखी संस्था त्यो हो।’ सुदूरपश्चिमाअञ्चल सामुदायिक हस्पिटल ऋणमा डुबेको हो। पूर्ण रुपमा सञ्चालनमा समेत आउन नसकेको हस्पिटल ऋणमा डुबेको हो। ५० जनाबाट २÷२ लाखका दरले रकम संकलन गरेर सञ्चालनको प्रयास गरिएको हस्पिटल सञ्चालक समितिहरुको आर्थिक स्वार्थका कारण ऋणमा डुबेको छ।
सञ्चालक समितिका अध्यक्ष तथा पदाधिकारीहरुले अस्पताललाई विभिन्न नीजि तथा आर्थिक स्वार्थमा प्रयोग गर्दै आएको समेत खुलेको छ। अस्पताल अहिले झण्डै एक करोड ५० लाख ऋणमा रहेको बताइएको छ। समितिले सञ्चालन गर्न नसक्ने भन्दै दुई महिनादेखि अस्पताल बन्द छ। अस्पतालमा २४ सै घण्टा आकस्मिक सेवा, २४सै घण्टा विशेषज्ञ चिकित्सक सेवा, फार्मेसी सेवा, प्रयोगशाला सेवा, भाइराईको परिक्षण, एक्सरे सेवा, रङ्गिन भिडियो एक्सरे सेवा, नेवुलाईजर सेवा, माईनर अप्रेशन सेवा, वार्ड सेवा, सुरक्षित गर्भपतन सेवा, सुरक्षित मातृत्व सुत्केरी सेवा र परिवार नियोजन सेवा निःशुल्क दिने भन्दै अस्पताल सञ्चालन गरिएको थियो।