सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रको एक्सरे सेवा अवरुद्ध

२०८० असार १, ०२:४७ विन्दु चन्द

बैतडीः विहिवार बिहान बैतडीको शिवनाथ गाउँपालिका–५ का प्रमलसिंह साउँद छोरीलाई लिएर उपचारका लागि मेलौली स्थित केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा पुगे। लडेर हातमा चोट लागेकी छोरीलाई बोकेर ३÷४ घण्टा पैदल हुँदै उनी स्वास्थ्य केन्द्रमा पुगे। हातको एक्सरे गरेर उपचार गर्नुपर्ने भन्दै डक्टरले सुझाव दियो।

तर स्वास्थ्य केन्द्रको एक्सरे सेवा बन्द हुँदा सामान्य औषधिको भरमा घर फर्किनु परेको साउँदको गुनासो छ। ‘छोरीको हातमा चोट लागेर सुजन भएको छ। एक्सरे हुन्छ भनेर केशरपुर स्वास्थ्य केन्द्रमा लगे तर त्यहाँ एक्सरे सेवा बन्द रहेछ। रित्तै घर फर्किनु पर्यो। अब डडेल्धुरा पुग्नुको विकल्प छैन्।’

साउँद जस्तै शिवनाथकै कस्तुरा धनाडी पनि एक्सरे नगरेरै घर फर्किइन्। खुट्टामा चोट लागेर उनी पनि ३/४ घण्टा पैदल हुँदै स्वास्थ्य केन्द्रमा पुगेकी थिइन्। उनी पनि सामान्य औषधि लिएर घर फर्किइन्। उनले भनिन्, ‘एक्सरे गर्नुपर्ने हो तर डाक्टले सामान्य औषधि दिएको छ। औषधिले ठिक नभए अन्त जानुहोला भनेको छ।’

केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा दैनिक ५/६ जना एक्सरे गर्न आउने गरेका छन्। तर एक्सरे सेवा बन्द हुँदा यहाँ आउने बिरामीले सास्ती खेप्नु परिरहेको छ। एक्सेरे सेवा अबरुद्ध हुँदा बाहिर जानुपर्ने बाध्यता रहेको स्वास्थ्य केन्द्रमा उपचारका लागि आएका भगतबहादुर चन्दले बताए। छाति सम्बन्धि बिरामीलाई ल्याएर स्वास्थ्य केन्द्र पुगेका उनी पनि सामान्य औषधि लिएर घर फर्केका हुन्। एक्सरे सेवा नहुँदा बिरामीले सास्ती खेप्नु परेको छ। विद्युत अबरुद्ध हुँदा स्वास्थ्य सेवा प्रभावित मेलौलीमा विगत तीन हप्तादेखि विद्युत सेवा अबरुद्ध छ। यसको असर केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा समेत परेको छ। जसका कारण एक्सरे लगायतका सेवा प्रभावित छन्। विद्युत नहुँदा सेवा दिन समस्या भइरहेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीका डाक्टर सन्जिन केसीले बताए। “एक्सरे सेवा विद्युत नभएका कारण धेरै दिनदेखि अवरुद्ध छ।’

स्वास्थ्य केन्द्रमा सोलार जडान त गरिएको छ तर त्यसले पावर धान्न मुश्किल भइरहेको उनले बताए। जनशक्ति अभाव केशरपुर प्राथमिक स्वास्थ्यकेन्द्रमा जनशक्तिको समेत अभाव रहेको छ। जनशक्ति अभावका कारण बिरामीको उपचारमा समस्या भइरहेको डाक्टर केसीले बताए। बिरामीहरुको चापअनुसार जनशक्ति नहुँदा सेवा प्रवाहमा समस्या भइरहेको उनले बताए। तल्लो स्वराड डडेल्धुराबाट समेत बिरामी उपचारका लागि केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौली आउने गरेका छन्।

स्वास्थ्य संस्था हेर्ने जिम्मा पाएको नगरपालिकाले समेत वैकल्पिक व्यवस्था गर्न नसक्दा बिरामीले झन सास्ती खेप्नु परेको छ। मेलौली नगरपालिकाका स्वास्थ्य शाखा संयोजक नारायन चन्दले विद्युत सुचारु नभए सोलार जडान गर्ने बताए। ‘सुर्नयाबाट आउने विद्युत बिग्रेको छ। मर्मत भइरहेको छ। यदि लामो समयसम्म विद्युत सुचारु नभए थप सोलार जडान गर्छौ।’ साथै अस्पतालमा दरबन्दी अनुसार जनशक्ति भएर पनि बिरामीको चाप बढ्दै गएपछि थप कर्मचारी राख्न नगरपालिकासँग माग गरिने उनले बताए।

विन्दु चन्द दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस