यसरी गरिँदै छ धनगढीको ऐश्वर्य विद्या निकेतनको दोहन
धनगढीः धनगढीको ऐश्वर्य बहुमुखी क्याम्पसले ऐश्वर्य विद्या निकेतनको दोहन गरिरहेको तथ्य फेला परेको छ। ‘ऐश्वर्य’ नाम र ब्राण्डलाई भजाएर क्याम्पसले विद्यालयमा आर्थिक र शैक्षिक शोषण गरिरहेको आरोप छ। २०३३ मा स्थापना भएर शिक्षा क्षेत्रको अग्रणी संस्थागत विद्यालय ऐश्वर्यको दोहन २०६३ देखि ऐश्वर्य क्याम्पसले गरिरहेको तथ्य फेला परेको हो।
ऐश्वर्य विद्या निकेतन सार्वजनिक शैक्षिक गुठी अन्तर्गत सञ्चालिन विद्यालय हो। विद्यालय ऐश्वर्य सार्वनिक शैक्षिक गुठीको विधान, २०५९ अनुसार सञ्चालित छ। गुठीको विधान २०५९ मा तयार भएर अहिलेसम्म संशोधन गरिएको छैन। विधानको एउटा दफामा गुठीले भविष्यमा स्नातक तहसम्मको एक कलेज चलाउने छ भन्ने विषय उल्लेख छ।
विद्यालयले ‘ऐश्वर्य विद्या निकेतन माध्यमिक विद्यालय धनगढीको विद्यालय सञ्चालन विनियम, २०७८’ बनाएको छ। विनियम बन्नु अगाडि नै २०६३ मा ऐश्वर्य बहुमुखी क्याम्पस स्थापना भएको छ। तर, क्याम्पस स्थापना पूर्व ऐश्वर्य सार्वजनिक शैक्षिक गुठीको विधान संशोधन भने गरिएको छैन। विद्यालय र क्याम्पस गुठीबाट सञ्चालित शैक्षिक संस्था हुन् भनिए पनि ऐश्वर्य सार्वजनिक शैक्षिक गुठीको विधानले ऐश्वर्य बहुमुखी क्याम्पसलाई चिन्दैन भन्ने जिकिर गरिएको छ।
ऐश्वर्य विद्या निकेतन, गुठी अन्तर्गत सञ्चालित कक्षा १२ सम्म पढाइ हुने संस्थागत विद्यालय हो भने ऐश्वर्य बहुमुखी क्याम्पस त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिएर सञ्चालित छ। क्याम्पस चलाउन चलाखीसाथ विद्यालयको विनियम बनाउँदा क्याम्पसलाई सोझै फाइदा हुने प्रावधान राखिएको छ। विनियम विद्यालयको भए पनि केही प्रावधान प्रत्यक्ष क्याम्पसको हितमा हुने र विद्यालयलाई आर्थिक भार र शैक्षिक क्षति हुने गरी तयार गरिएका छन्।
विद्यालयमा कार्यरत दक्ष जनशक्ति क्याम्पसले लग्यो
चलाखीपूर्ण तरिकाले ऐश्वर्य बहुमुखी क्याम्पस खोल्ने निर्णय ऐश्वर्य विद्या निकेतनको निर्णय पुस्तिकामा गरिएको छ। २०६३ मा खुलेको क्याम्पसका लागि विद्यालयमा पढाइ रहेका २२ जना अध्यापक र ३ जना प्रशासनिक कर्मचारीहरूलाई क्याम्पसमा समायोजन गर्ने निर्णय भएको छ। जसअनुसार विद्यालयमा अध्यापन गराइ रहेका ’क्रिम’ जनशक्ति क्याम्पसले ‘हाइज्याक’ गरेको अभिभावकको गुनासो छ। दक्ष जनशक्ति भेट्टाएजति अहिले पनि क्याम्पसमा लग्ने गरिएको पाइएको छ।
ऐश्वर्य स्कुलको जग्गा क्याम्पसको नाममा सित्तैमा पास
ऐश्वर्य विद्या निकेतनबाट शिक्षक मात्रै होइन हसनपुरको ६ कट्ठा जग्गा पनि क्याम्पसको नाममा नामसारी गरिएको छ। ऐश्वर्य विद्या निकेतनको व्यवस्थापन समितिको २०७२ माघ ३ गते बसेको बैठकले क्याम्पसको नाममा कित्ता नम्बर ३९ को २७६३२ दशमलव शून्य ३ वर्ग फिट जग्गा राजिनामा पास गर्ने निर्णय गरेको छ।
यस्तै, २०७२ पुस १५ गते बसेको व्यवस्थापन समितिको बैठकले क्याम्पस आर्थिक रुपमा सक्षम भए स्कुललाई जग्गा फिर्ता दिने या प्रचलित दर रेटअनुसार रकम विद्यालयलाई दिने निर्णय भएको छ। रजिष्ट्रेसन पास भएको जग्गा सित्तैमा र सहजै क्याम्पसले भविष्यमा फिर्ता गर्ने या रकम चुक्ता गर्ने गजबको कल्पना विद्यालय व्यवस्थापन समितिले गरेको छ। अहिलेको प्रचलित मूल्यअनुसार ६ करोड बढीको स्कुलको जग्गा क्याम्पसको नाममा सित्तैमा आएको छ।
क्याम्पस भविष्यमा विद्यार्थीकै शुल्कबाट आत्मनिर्भर हुने कुनै सम्भावना छैन। त्रिभुवन या सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पस भएर आत्मनिर्भर भयो भने विश्वविद्यालयले क्याम्पसलाई जग्गाको मूल्य तिर्न पैसा देला? अर्कोतर्फ विद्यालयमा कार्यरत जनशक्ति क्याम्पसमा लगिदा आङ्गिक हुने सपना देखाइएको छ। आङ्गिक हुने सम्भावना देखेर नै अध्यापकहरू क्याम्पसमा समायोजन हुन राजी भएका थिए। ऐश्वर्य क्याम्पस आङ्गिक भयो भने ऐश्वर्य विद्या निकेतनलाई के फाइदा हुन्छ? भन्ने प्रश्न अभिभावकले गरेका छन्।
क्याम्पसलाई मासिक १६ लाख बुझाउँदै ऐश्वर्य स्कुल
ऐश्वर्य विद्या निकेतनबाट २५ जना अनुभवी जनशक्ति हात पारेको क्याम्पसलाई उनीहरूको मासिक तलव सुविधा भने विद्यालयले व्यहोर्दै आएको छ। ऐश्वर्य स्कुलले मासिक १६ लाख रुपैयाँ ऐश्वर्य क्याम्पसलाई तिर्ने गरेको छ। २०७५ साउन २९ गतेको ऐश्वर्य विद्या निकेतनको व्यवस्थापन समितिको बैठकले २५ जना अध्यापक र कर्मचारीको तलव विद्यालयको खाताबाट क्याम्पसको खातामा रकमान्तर गर्ने निर्णय गरेको छ। जसअनुसार २५ जनाका लागि १३ महिनाको तलबका लागि ऐश्वर्य विद्या निकेतनले हरेक वर्ष २ करोड ८ लाख रुपैयाँ ऐश्वर्य बहुमुखी क्याम्पसलाई टक्रयाउँदै आएको छ। यो सिलसिला कहिलेसम्म चल्ने हो कसैलाई थाहा छैन। र, हरेक वर्ष तलव बढ्दा विद्यालयले क्याम्पसलाई तिर्दै आएको रकम पनि बढ्ने छ।
विद्यालय व्यवस्थापन समितिले कानून विपरीत काम गर्यो
शिक्षा ऐन, २०२८ को आठौं संशोधनको दफा १६ को उपदफा (२) मा शैक्षिक गुठीअन्तर्गत सञ्चालित संस्थागत विद्यालयको सम्पत्ति सोही विद्यालयको नाममा रहने उल्लेख छ। शिक्षा ऐनले ‘कुनै विद्यालय सार्वजनिक शैक्षिक गुठीको रुपमा सञ्चालन गरिएकोमा त्यस्तो विद्यालयको सम्पत्ति सार्वजनिक सम्पत्ति मानिनेछ। र, त्यस्तो सम्पत्तिको स्वरुप परिवर्तन गर्न पाइने छैन’ भनिएको छ। यस्तै, उपदफा (२) को (ख) मा विद्यालय बन्द भएमा सार्वजनिक गुठीको रुपमा सञ्चालित विद्यालयको सम्पत्ति सार्वजनिक सम्पत्ति हुनेछ र त्यस्तो सम्पत्ति नेपाल सरकारले कुनै सामुदायिक विद्यालय वा शैक्षिक संस्थाको प्रयोगमा ल्याउन सक्ने प्रावधान छ।
तर, ऐश्वर्य विद्या निकेतनको विद्यालय व्यवस्थापन समितिले भने विद्यालय अस्तित्वमा रहैकै अवस्थामा जग्गा क्याम्पसको नाममा निःशुल्क नामसारी गरेको छ। धनगढीको नगर शिक्षा ऐन, २०७४ मा ‘शैक्षिक गुठीअन्तर्गत सञ्चालित संस्थागत विद्यालयको सम्पत्ति सोही विद्यालयको नाममा रहनेछ। कुनै विद्यालय सार्वजनिक शैक्षिक गुठीको रुपमा सञ्चालित गरिएकोमा त्यस्तो विद्यालयको सम्पत्ति सार्वजनिक सम्पत्ति मानिनेछ र त्यस्तो सम्पत्तिको स्वरुप परिवर्तन गर्न पाइने छैन’ भनिएको छ। तर, ऐश्वर्य विद्या निकेतनले क्याम्पसको नाममा जग्गा राजिनामा पास गरेको छ।
ऐश्वर्यको विधान र विनियम नगर शिक्षा ऐन विपरीत
नगर शिक्षा ऐन, २०७४ को दफा २३ मा विद्यालयहरूले विनियमावली बनाउने व्यवस्था छ। विद्यालयले विनियमावलीमा विद्यालयको लक्ष्य, मूल्य, मान्यता, सञ्चालन प्रक्रियालगायतका अन्य सान्दर्भिक विषयवस्तु समावेश गरिएको संस्थागत विद्यालयको विधान र सामुदायिक विद्यालयले विनियमावली बनाई लागु गर्नुपर्ने व्यवस्था छ। तर, ऐश्वर्यको विधान २०५९ मा बनेको विद्यमान ऐन कानूनसँग तालमेल खाँदैन भने ऐश्वर्यको विनियमले ऐश्वर्य बहुमुखी क्याम्पसलाई पोस्ने मक्सद राखेको छ।
यस्तै, ऐश्वर्यले बनाएको विनियम नगरपालिकामा बुझाइएको छैन। तर, नगर शिक्षा ऐन, २०७४ को दफा २३ को (घ) मा विनियमावलीको प्रमाणित प्रतिलिपि पारित भएको मितिबाट १५ दिनभित्र व्यवस्थापन समितिले नगरपालिकाको कार्यालयमा पेश गर्नुपर्ने व्यवस्था छ। ऐश्वर्य स्कुलले विनियम धनगढी उपमहानगरपालिकोमा पेश गरेको छैन।
नगर शिक्षा ऐन, २०७४ को दफा २१ मा संस्थागत विद्यालयको व्यावस्थापन समितिको अध्यक्ष विद्यालयको सिफारिसमा नगरप्रमुखले मनोनित गर्ने व्यवस्थाको प्रतिकूल हुने गरि विद्यालयको विनियममा अध्यक्षको नियुक्ति ऐश्वर्य क्याम्पसका क्याम्पस प्रमुखले गर्ने घुमाउरो र गैरकानुनी प्रावधान राखिएको छ।
क्याम्पसलाई पोस्ने विनियम
ऐश्वर्य विद्या निकेतनको विनियम, २०७८ को नियम २ मा विद्यालय व्यवस्थापन समितिको गठन प्रक्रिया उल्लेख छ। विद्यालय व्यवस्थापन समितिको अध्यक्षको चयन गर्न ऐश्वर्य विद्या निकेतनका प्राचार्यले ऐश्वर्य बहुमुखी क्याम्पसका क्याम्पस प्रमुखसँग समन्वय गर्नुपर्ने व्यवस्था छ। यो प्रावधानले क्याम्पस प्रमुखले इच्छाएको व्यक्ति बाहेक अन्यले व्यवस्थापन समितिको अध्यक्ष हुन पाउँदैन। जुन व्यक्तिलाई क्याम्पस प्रमुखले विद्यालयको अध्यक्ष बनायो त्यो व्यक्तिले क्याम्पस प्रमुखको इसारामा क्याम्पसका लागि अनुकुल हुने निर्णय गर्नुपर्ने बाध्यात्मक स्थिति निर्माण गरिएको छ।
अध्यक्षले अनुकुल हुनै पर्ने अवस्था व्यवस्थापन समितिका अन्य सदस्यको चयनले पनि निर्धारण गरेको छ। ऐश्वर्य विद्या निकेतनको व्यवस्थापन समिति क्याम्पस प्रमुखको अधिनमा हुने व्यवस्था कायम गरिएको छ। विद्यालय व्यवस्थापन समितिमा क्याम्पस प्रमुखलाई पदेन सदस्य हुने व्यवस्था गरिएको छ। प्राचार्यको नियुक्ति पनि क्याम्पस प्रमुखको इच्छाले हुने व्यवस्था कायम गरिएको छ। समितिको अध्यक्ष, प्राचार्य, शिक्षक प्रतिनिधि र स्वयम् पदेन सदस्य रहेका क्याम्पस प्रमुखले विद्यालय व्यवस्थापन समितिमा आउने अन्य सदस्य पनि आफ्नै पक्षका मनोनित गर्न सक्ने प्रावधान विनियममा राखिएको छ।
विद्यालयको विनियमको नियम २७ मा ऐश्वर्य सार्वजनिक शैक्षिक गुठीद्वारा स्थापित तथा सञ्चालित ऐश्वर्य वहुमुखी क्याम्पससमेत दुबै संस्थाको सहमतिमा योग्यता र कार्य प्रकृति मिल्ने गरी कर्मचारी स्थानान्तरण गर्न मिल्ने व्यवस्था राखिएको छ। यो प्रावधानको फाइदा पनि क्याम्पसले उठाएको छ। विद्यालयमा कार्यरत राम्रो शैक्षिक उपाधी भएका शिक्षकलाई क्याम्पसमा पढाउन समायोजनका नाममा तानिएको छ।
स्कुल र क्याम्पस व्यवस्थापन समितिको अध्यक्ष एउटै
ऐश्वर्य विद्या निकेतन र ऐश्वर्य बहुमुखी क्याम्पसमा एकै व्यक्ति अध्यक्ष छन्। ९ सदस्यीय विद्यालय व्यवस्थापन समितिको अध्यक्ष नृपबहादुर वड छन् भने १५ सदस्यीय क्याम्पस व्यवस्थापन समितिको अध्यक्ष पनि वड नै छन्। विद्यालय र क्याम्पस व्यवस्थापन समितिमा प्राध्यापक डाक्टर हेमराज पन्त, सन्तोष मुडभरी, श्रीमती रीता भण्डारी बम, प्रेमनिधि ओझा, धर्मदेव भट्ट र राजेन्द्रप्रसाद भट्ट दोहोरो सदस्य छन्। यसरी विद्यालय र क्याम्पस व्यवस्थापन समितिमा उनै व्यक्ति राखेर विद्यालय व्यवस्थापन समितिको निर्णय पनि क्याम्पसको अनुकुल हुने हिसावले आउने गरेको बताइएको छ।
ऐश्वर्य विद्या निकेतनमा भवन अभाव
ऐश्वर्य बहुमुखी क्याम्पसको जन्मदाता भनिएको ऐश्वर्य विद्या निकेतनमा भने विद्यार्थीका लागि भवन अभाव रहेको छ। २०३४ सालमा निर्माण गरिएका पुराना भवनमा विद्यालय सञ्चालनमा छ। कक्षा कोठा अपुग छन् भने ईटा र माटोको गारोले बनेको पुरानो भवनमा पठनपाठन गराउनु असुरक्षित महसुस गरिएको छ। तर, विद्यालयले सरकारी तवरबाट भवन बनाउन बजेट पाउन सकेको छैन।
ऐश्वर्य बहुमुखी क्याम्पसलाई करोडौं मूल्यको जग्गा उपहार दिएको विद्यालयले वार्षिक थप २ करोड ८ लाख रुपैयाँ क्याम्पसलाई बुझाउने गरेको छ। क्याम्पसले विश्विवद्यालय अनुदान आयोग, प्रदेश सरकारबाट भवन बनाउन बजेट पाए पनि विद्यालयलले दुई कोठे र चार कोठे एउटा/एउटा भवन बाहेक अन्य कुराका लागि विद्यार्थीबाट उठ्ने शुल्ककै भर पर्नुपर्ने अवस्था छ। नर्सरीदेखि कक्षा १२ सम्म पढ्ने विद्यार्थीबाट उठेको शुल्क स्नातकमा पढ्ने विद्यार्थीका लागि खर्च गर्नुपर्ने नियतिको सिकार ऐश्वर्य विद्या निकेतन भएको भन्दै अभिभावकले असन्तुष्टि जनाएका छन्।
क्याम्पस र विद्यालय एकै हुनः क्याम्पस प्रमुख भट्ट
ऐश्वर्य विद्या निकेतन र ऐश्वर्य बहुमुखी क्याम्पस एकै हुन् भन्ने जिकिर विद्यालयका प्राचार्य र क्याम्पस प्रमुखले गरेका छन्। ऐश्वर्य विद्या निकेतनले ऐश्वर्य क्याम्पस जन्माएको क्याम्पस प्रमुख धर्मदेव भट्टले गरेका छन्। यस्तै, अभिभावको भेलाको निर्णयअनुसार क्याम्पस खोल्ने निर्णय भएको विद्यालयका प्राचार्य प्रेमनिधि ओझाले बताए। विद्यालय र क्याम्पस सार्वजनिक शैक्षिक गुठी अन्तर्गत सञ्चालन भएकाले विद्यालयबाट क्याम्पसमा समायोजन भएका अध्यापकहरूले विद्यालयमा तीन पिरियड अनिवार्य पढाउनुपर्ने व्यवस्था रहेको क्याम्पस प्रमुख भट्टले बताए। जसले गर्दा क्याम्पसको जनशक्तिले पढाउदा नयाँ शिक्षक राख्दा हुने खर्च बचेको दाबी गरिएको छ।
तर, क्याम्पसबाट विद्यालयमा पढाउन जाने अध्यापकलाई हरेक पिरियडको अतिरिक्त पारिश्रमिक विद्यालयले उपलब्ध गराउँदै आएको छ। विद्यालय र क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष किन एउटै राखियो भन्ने प्रश्नमा क्याम्पस प्रमुख धर्मदेव भट्टले कामकाज गर्न सहज हुने भएकाले विज्ञहरूकै सल्लाहमा त्यस्तो प्रावधान राखिएको बताए। क्याम्पस प्रमुख भट्ट र विद्यालयका प्राचार्य ओझाले क्याम्पस र विद्यालय सार्वजनिक शैक्षिक गुठीका दुई अङ्ग भएको दाबी गरेका छन्।