सुदूर नेपाललाई विश्वसँग जोड्दै

गेटामा विश्वविद्यालय स्थापना हुने कुरामा ढुक्क भए हुन्छ: भट्ट 

२०८० जेठ २९, ०७:०२ नारायण अवस्थी

धनगढीः  नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम इन्चार्ज खगराज भट्टले कैलालीको गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन हुने बताएका छन्।

स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाको माग गर्दै सुदूरपश्चिममा आन्दोलन भइरहेका बेला  पत्रकार सम्मेलन गर्दै सोमवार माओवादी दलका नेतासमेत रहेका भट्टले पार्टीको धारणा सार्वजनिक गरेका हुन्।

गेटामा विश्वविद्यालय स्थापना हुनुपर्ने पक्षमा नेकपा माओवादी केन्द्र रहेको माओवादी केन्द्रका प्रदेश इन्चार्जसमेत रहेका भट्टले बताएका छन। ‘बजेटमा त्रुटि भएको छ,त्यो त्रुटिलाई हामीले सच्याएर  स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई नै स्थापना हुनुपर्छ भनेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग कुरा गरेका छौँ,’ उनले भने, ‘गेटामा शहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय नै बन्छ। सबैले ढुक्क भए हुन्छ।’ प्रधानमन्त्रीले विश्वविद्यालय सञ्चालका लागि प्रक्रिया थालिएको बताएको नेता भट्टले बताए।  'उहाँले स्वास्थ्य विज्ञान विश्वविद्यालय नै बन्छ भनेर हामीलाई वचन दिनुभएको छ’, भट्टले भने, ‘सिङ्गो गठबन्धन विश्वविद्यालयकै पक्षमा रहेको छ।’

आफ्नो पार्टीको नेतृत्वको सरकारले गेटामा विश्वविद्यालय स्थापना गर्ने घोषणा गरेको बताउँदै भट्टले भने, ‘केही पार्टीहरुले त्यो पूरै आफ्नो एजेण्डा हो।नीजि हो भन्या जस्तो गरेर विश्वविद्यालय घोषणा गर्ने सरकारलाई नै विरोधी देखाउन खोजेका छन्।त्यस्तो होइन्। सरकारको गेटा विश्वविद्यालय बारे आधिकारिक धारणा अर्थमन्त्री र परराष्ट मन्त्री ज्यूबाट आइसकेको छ। प्रदेश सरकारका मुख्यमन्त्री ज्यूको धारण पनि आइसकेको छ।’ 

सत्ता गठबन्धनले नै बजेटमा भएको त्रुटिलाई सच्याउने बताइसकेको छ। त्रुटि भएको छ। त्यसलाई हामी मिलाउँछौँ भनेर बोली सकेपछि अब कुनै पनि प्रकारका आन्दोलन गर्नुको अर्थ नरहेको भट्टले बताए । नेपाल सरकारको २०७९ माघ २९ गतेको मन्त्रीपरिषद्ले गेटामा शहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको गरेको थियो। र, यो निर्णयअनुसार नै गेटामा विश्वविद्यालय सञ्चालन हुनेमा ढुक्क हुन नेता भट्टले आग्रह गरेका छन्।

नेपाल सरकारको आव २०८०/०८१ नीति तथा कार्यक्रममा विश्वविद्यालय सञ्चालन गर्ने भनिए पनि बजेट व्यक्तव्यमा एक सय शय्याको अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालन गर्ने कुरो  आएपछि विश्वविद्यालय स्थापनाको माग राख्दै सुदूरपश्चिममा १५ दिनदेखि आन्दोलन भइरहेको छ।

सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समिति गठन गरेर आन्दोलन भइरहेको छ।आइतवार सुदूरपश्चिममा आम हड्ताल गरिएको थियो।सोमवार प्रदेश सभाको प्रवेस्गद्वारमा धर्ना दिइएको छ भने मङ्गलवार प्रदेश प्रमुखको कार्यालय अगाडि धर्ना बस्ने कार्यक्रम तय भएको छ।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस