धनगढीका सरकारी विद्यालयमा किन घट्दैछन् विद्यार्थी ?
धनगढीः धनगढीका सरकारी विद्यालयमा बर्सेनि विद्यार्थी संख्या घट्न थालेको छ। उपमहानगरपालिका विभिन्न वडामा नक्साङ्कन बिना विद्यालय खोलिदा विद्यार्थी संख्या घट्न थालेको हो। बिना योजना विद्यालय खोल्ने प्रतिस्पर्धा चल्दा र सरकारी विद्यालय वरिपरि निजी स्कुल सञ्चालनको अनुमति दिँदा सामुदायिक विद्यालय बन्द गर्नुपर्ने अवस्था आएको हो।
यस्तै, शिक्षक दरबन्दी अभाव र विद्यार्थी संख्या न्यून हुँदा विद्यालय बन्द गर्नुपर्ने अवस्था आएको बताइएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर १९ को नुकलीपुरमा रहेको नेपाल भुतपूर्व सैनिक आधारभूत विद्यालयमा यो वर्ष जम्मा १२ जना विद्यार्थी भर्ना भएका छन्।
कक्षा तीनसम्मको यो स्कुलमा गाउँका विद्यार्थी पढ्न आउँदैनन्। आफ्ना सन्तानलाई नजिकैका ठुला स्कुलमा पढाउने भन्दै अभिभावकले विद्यार्थी उतै पठाउँछन्। कक्षा ३ सम्मको विद्यालयमा बालबालिका कक्षामा ५ जना, कक्षा १ मा ५ जना र कक्षा ३ मा २ जना भर्ना भएका छन्। शैक्षिकसत्र २०८० का लागि कक्षा २ मा भर्ना हुन् कोही पनि नआएको विद्यालयका प्रधानाध्यापक देवकी पन्तले बताए। ‘गाउँ सानो छ। अन्य गाउँका विद्यार्थी यहाँ आउँदैनन्,’ उनले भनिन्, ‘स्कुलमा विद्यार्थी कम हुँदा यो वर्ष विद्यालय समायोजनको कुरो चलेको छ।’
धनगढी– १४ को बाल आधारभूतका विद्यार्थीले पुस्तक पाएनन्
धनगढी–१४ खुटियाको बाल आधारभूत विद्यालय २०५२ सालमा खुलेको हो। यो विद्यालयमा कार्यरत एक जना स्थायी शिक्षकको सरुवा गत कात्तिकमा भएको थियो। त्यसपछि नयाँ शिक्षक आएका छैनन्। विद्यालयमा निजीस्रोत शिक्षक सिद्धकला गिरी र एक जना कार्यालय सहयोगी छन्।
पाँच कक्षासम्मको यो विद्यालयमा कक्षा १ मा १५ जना,कक्षा २ र ३ मा समान दुई जना र ५ कक्षामा ३ जना विद्यार्थी भर्ना भएका छन्। चार कक्षामा भने यो वर्ष एक पनि विद्यार्थी छैनन्। निजी स्रोत शिक्षकको नाममा खाता सञ्चालन गर्न व्यवस्थापन समितिले नमान्दा २२ जना विद्यार्थीले नयाँ पाठ्यपुस्तक पाउन नसकेको गिरीले बताइन्।
यस्तै, दिवा खाजाको रकम तथा कार्यालय सहयोगी र आफूले तलब खान समस्या भएको शिक्षिका गिरीले बताइन्। ‘कात्तिकमा एक जना शिक्षक सरुवा भएर आफ्नै प्रदेश सरुवा भएर गए। त्यसपछि नयाँ शिक्षक आएका छैनन्,’ उनले भने, ‘विद्यालयको खाता सञ्चालन नहुँदा विद्यार्थीले नयाँ किताब र दिबा खाजा खान पाएका छैनन्। हामीले पनि तलब पाएका छैनौँ।’
धनगढी–१२ को मुक्तिनाथ आधारभूत स्कुलमा विद्यार्थी घट्दै
धनगढी–१२ हिम्मतपुर शिविरमा रहेको मुक्तिनाथ आधारभूत विद्यालय २०५७ मा खुलेको हो। कक्षा पाँचसम्मको यो विद्यालयमा यो वर्ष ७२ जना विद्यार्थी छन्। यो विद्यालयको वरिपरि वडा नम्बर ७ र १२ मा सरकारी र निजी विद्यालय छन्।
८ जना शिक्षक र एक जना कार्यालय सहयोगी रहेको मुक्तिनाथ स्कुलमा हरेक वर्ष विद्यार्थी घट्दै गएको प्रधानाध्यापक सालिभान ऐरले बताए। ‘यो विद्यालयको वरिपरि १५ जति विद्यालय छन् होला। पाँच सय र एक सय मिटरको दुरीमा विद्यालय छन्,’ उनले भने, ‘आजकल सानो कक्षामा निजी स्कुलमा पढाउने लहर चलेकाले पनि सामुदायिक विद्यालयमा विद्यार्थी संख्या कम हुँदै गएको छ।’
स्कुलको नक्साङ्कन छैन
मुक्तिनाथ स्कुलबाट साइकलमा गए पाँच मिनेटमा वडा नम्बर ७ को नवज्योति आधारभूत विद्यालयमा पुग्न सकिन्छ। पाँच कक्षा सम्मको यो विद्यालयमा ४९ जना विद्यार्थी, ६ जना शिक्षक र एक जना कार्यालय सहयोगी छन्। नवज्योति स्कुलबाट ५ देखि सात मिनेटमा जाखौर ताल नजिकको शिव माध्यमिक विद्यालय पुग्न सकिन्छ। यी धनगढीका प्रतिनिधि स्कुलहरू हुन्।
धनगढीका अन्य वडामा पनि सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घट्दो छ। आवश्यकताको पहिचान नगरेरै जथाभावी स्कुल खोल्न दिँदा भौतिक पूर्वाधार भएका विद्यालयमा विद्यार्थी अभाव छ भने निजी स्कुल घरमा सन्चालन भइरहेका छन्। तर, धनगढी उपमहानगरपालिकाले विद्यालयको नियमन भने गर्न सकेको छैन।