भारतीय कुखुरा ल्याउने विष्ट, किन्ने चन्द अनि फस्ने चालक ?
धनगढीः कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ बुढीतोलामा जेठ २१ गते एक हजार तीन सय किलोग्राम माउ कुखुरा बरामद गरियो। अस्थायी प्रहरी चौकी खानीडाँडाका प्रहरी सहायक निरीक्षक प्रेमकुमार शाहको समूहले भारतबाट तस्करी गरेर पहाडी जिल्ला लैजान लागेका कुखुरा समातेका थिए।
अवैध कुखुरा ओसारपसार गरेको अभियोगमा बुढीतोलाका गाडी चालक देवेन्द्र रोका क्षेत्री अहिले कैलाली प्रहरीको हिरासतमा छन्। उनलाई चार लाख ३८ हजार चार सय १० रुपैयाँ बिगो र ५० हजार जरिबाना हुने अभियोग पत्र दर्ता भएको छ।
अभियोग प्रमाणित भए चालक क्षेत्रीले बिगो र जरिबाना तथा पाँच वर्ष कैद सजायमध्ये दुबै या बिगो र जरिबाना तिर्नुपर्ने छ। यो प्रकरणमा चालक क्षेत्रीका आफन्तले नखाएको “विष“ लागेको बताएका छन्।
के थियो घटना?
चालक देवेन्द्र रोका क्षेत्रीले बैतडीका सुभाष चन्दको गाडी चलाएर पहिलोपटक एक खेप कुखुरा पहाड पुगाएका थिए। अर्को चालक बिदामा बसेकाले क्षेत्रीलाई चालक नफर्किदासम्म चन्दले गाडी चलाउन जिम्मा दिएका थिए। जेठ २१ गते बुढीतोला जङ्गलमा कुखुरा ल्याइएको छ, गाडीमा लोड गरेर पहाड लैजान भन्दै गाडी साहु चन्द, कुखुरा बुढीतोलासम्म पुगाउने धनगढीको मष्टा मल्टि एग्रो फार्मका सञ्चालक विकास विष्टका साथमा गएका थिए। खानीडाँडा प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक शाहकै सामुन्नेमा जङ्गलमा राखिएका कुखुरा गाडीमा लोड गरिएको चालक क्षेत्रीका छिमेकीको भनाइ छ।
गाडीमा कुखुरा लोड गरेपछि प्रसनि शाहले गाडी जिल्ला प्रहरी कार्यालय कैलाली ल्याएका थिए। प्रहरीले कुखुराका कारोबारी पहिचान गर्दागर्दै पनि पक्राउ नगरेर चालकलाई मात्रै पक्राउ गरेको चालक क्षेत्रीका आफन्तको गुनासो छ।
चालक दोषी हो भने चालकलाई कुखुरा बोक्न बाध्य बनाउने विष्ट र चन्द पनि दोषी हुनुपर्नेमा उनीहरूलाई प्रहरीले उन्मुक्ति दिएको बताइएको छ। आँखा अगाडिबाट कुखुरा व्यापारीलाई उम्कन दिएको तर चालकलाई कानूनको फन्दामा पार्ने प्रयास भएको आफन्तले गुनासो गरेका छन्।
भन्सार बुझाएर उम्कियो प्रहरी
कैलालीको चुरे गाउँपालिका वडा नम्बर ५ खानीडाँडाको अस्थायी प्रहरी चौकीले बुढीतोलका २२ वर्षिय गाडी चालक देवेन्द्र, सु.प.प्र ०२००१ च ८५८ नम्बरको गाडीसहित कुखुरा बरामद गरेको थियो। धनगढी उपमहानगरपालिका वडा नम्बर ७ बेलीको मष्टा मल्टि एग्रोले बझाङका लागि पठाएका कुखुरा बरामद गरिएको हो। मष्टाले बिल दिएको थिएन। कुखुराको स्रोत खुल्ने कागजसमेत पठाएन। एग्रोले अर्को गाडीमा कुखुरा बुढीतोला पुर्याएको थियो। कुखुरा बुढीतोला पुगाउने गाडी कस्को हो ? गाडीको नम्बर के हो ? प्रहरीलाई अहिलेसम्म पनि जानकारी छैन। मष्टा एग्रोका सञ्चालक विष्ट फरार छन्। प्रहरीले उनलाई भगाएको आरोप छ।
तर, बरामद भएको गाडीसहित कुखुरा र रोका क्षेत्रीलाई प्रहरीले भन्सार कार्यालय कैलालीलाई बुझाएको छ। कुखुरा नष्ट गरिएका छन्। भन्सार कार्यालयले कारबाही अगाडि बढाएको छ। गाडी धनीले अवैध कुखुराको बारेमा जानकार नभएको प्रहरीलाई बताएका छन्। धनगढीको मष्टा एग्रोका सञ्चालकले धोका दिएको भन्दै चन्दले प्रहरीमा निवेदनसमेत दिएका छन्।
तर, मष्टा एग्रो फार्मका सञ्चालक विष्ट फरार छन्। चितवनबाट ल्याइएको भनिएका कुखुराको वैधानिकता खुल्ने कागज नभएपछि विष्ट फरार भएका हुन सक्ने प्रहरीको अनुमान छ। तर पनि उनको खोजीका लागि प्रहरीले वास्ता गरेको छैन। प्रहरी भन्सार कार्यालयले कानूनी कारबाही गर्ने भन्दै पन्छिएको छ। भारतमा नष्ट गर्नुपर्ने बोइलर कुखुरा अवैध रुपमा भित्र्याउँदै बझाङ पठाउन लागिएको प्रहरीको अनुमान छ।
कैलाली भन्सार कार्यालयसँग यो विषयमा कुरा हुन सकेन। भन्सारका सूचना अधिकारी पवित्रकुमार खड्का बिरामी बिदामा रहेका छन्। उनले घटनाको बारेमा जानकारी नभएको बताए। कैलाली भन्सार कार्यालयका प्रमुख राजेन्द्रकुमार हमालले फोन उठाएनन्।