कञ्चनपुरमा मोटरसाइकले ठक्कर दिने सशस्त्रलाई प्रहरीले भगाएको आरोप
धनगढीः कञ्चनपुरमा मोटरसाइकलले ठक्कर दिने सशस्त्रलाई प्रहरीले भगाएको आरोप लागेको छ।
जिल्लाको पुनरवार्स नगरपालिका वडा नम्बर–११ मा शनिवार यज्ञमुर्ति उपाध्यायले चलाएको से ३ प ५०८० र इन्द्र धामीले चलाएको सु.प.प्र.०१०११ प ४१६२ नम्बरको मोटरसाइकल ठोकिएका थिए। उपाध्याय कैलालीको जानकी गाउँपालिका १ का हुन भने धामी पुनरवार्स ११ कै हुन्।
उपाध्यायको मोटरसाइकलमा सवार इन्द्र बिनाडी जोशीको खुट्टा भाँचिएको छ। स्थानीयले धामीलाई प्रहरी चौकी पचकडीयामा बुझाएका थिए। तर प्रहरीले उनलाई भगाएको आरोप छ। स्थानीय समेत रहेका सशस्त्र प्रहरीमा कार्यरत धामीको पनि उपचार गर्नुपर्ने भएकाले छोडिएको पचकडीया प्रहरी चौकी डोकेबजारका प्रमुख, प्रहरी सहायक निरिक्षक लालबहादुर ठकुल्लाले बताए।
धामी र बिनाडीको खुट्टामा चोट लागेको उनले बताए। दुबै जनाको मोटरसाइकल, सवारी चालक अनुमति पत्र र सवारी दर्ताका कागजपत्रहरु नियन्त्रणमा रहेका ठकुल्लाले बताएका छन्।