सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा मृत भेटिएका विजय चौधरीको साथीबाटै हत्या आशंका

२०८० जेठ २७, ०७:४७ नारायण अवस्थी

धनगढीः धनगढी उपमहानगरपालिका वडा नम्बर १८ ई गाउँका विजय चौधरी बिहीवार मृत भेटिए। उपमहानगरको वडा नम्बर १९ दक्षिण लल्लीपुरमा प्रहरीले चौधरीलाई मृत फेला पारेको हो।

मृतक चौधरीको पहिचान खुल्न नसकेपछि प्रहरीले शव धनगढी ल्याएको थियो। मजदुरी गर्दै आएका विजय बुधवार घरमा आएका थिएनन्। बिहीवार पनि दिउँसोसम्म पनि विजय घरमा नआएपछि शंका लागेर सेती अस्पतालमा राखिएको शव हेर्न परिवारजन आए। परिवारले प्रहरीले बेवारिसे भनेको शव विजयको भएको पहिचान गरे।

के भएको थियो बुधवार राति?
धनगढी–१९ फूलबारीको दक्षिण लल्लीपुरमा ओम शान्तिको भवन निर्माण भइरहेको छ। विजय चौधरी नर्मदेश्वर कन्स्ट्रक्सनले बनाउन लागेको भवनमा मजदुरको काम गर्दै आएका थिए। विजयसँगै फूलबारीकै दिनेश चौधरी र सुनिल चौधरी पनि मजदुरी गर्दै आएका थिए। बुधवार साँझ तीन जना साथीको समूहमा अन्तै काम गर्ने हनुमान चौधरी पनि मिसिन आए। काम सकेर घर आउनुभन्दा पहिले फूलबारी–१८ मा फूलबारी बहुमुखी क्याम्पस अगाडिको राजेन्द्र बोहराको होटेलमा चारै जनाले खानपिन गरेको खुलेको छ। तर, होटेलबाट चारै जनाले खानपिन सकेर बाहिर कतिखेर आए भन्ने खुलेको छैन। बिहीवार बिहान फूलबारीको सशस्त्र क्याम्पभन्दा करिब तीन सय मिटरको दुरीमा विजयको शव फेला परेको थियो। 
 
विजयको हत्या भएको हो
कैलाली प्रहरीले बेवारिसे शव फेला परेको सूचना जारी गरेको आधारमा फोटो पहिचान गरेर आफन्त शव हेर्न सेती प्रादेशिक अस्पतालकि शवगृहमा पुगेका थिए। प्रहरीले शव बुझ्न भने पनि हत्याको आशंका लागेर आफन्तले प्रहरीले घटनाको मुचुल्का उठाउनुपर्ने अडान लिएका छन्। त्यसपछि सँगै काम गर्दै आएका दिनेश र सुनिल तथा खानपिन गर्न सहभागी भएका हनुमान चौधरी विरुद्ध आफन्तले कर्तव्य ज्यान मुद्दाको निवेदन दर्ता गरेका छन्।

किन दिए आफन्तले किटानी जाहेरी
फूलबारी क्याम्पस अगाडि खानपिन गरेर सबैले आआफ्नो घर आउनुपर्नेमा अबेर रातिसम्म चारैजनाको समूह चेलीबेटी चोकमा देखिएको स्थानीयले बताएका छन्। सँगै रहेका दिनेश चौधरीले भने साँझ ८ बजे विजय आफ्नो घर भागेको बताएका छन्। विजयको परिवारले दिनेशलाई सोधपुछ गर्दा ८ बजे नै चेलीबेटी चोकबाट आफूहरू अलग भएको र विजय आफ्नो घर जाने भनेर भागेको बताएका हुन्। तर, हनुमान र सुनिल चौधरीले भने होटेलबाट फर्किएर दिनेशको घर घएर थप घरेलु दारु खाएको बताएको विजयको परिवारको भनाइ छ। 

८ बजे नै विजय भागेर घर गएको बताउने दिनेशले विजयको श्रीमती सिमा चौधरीको मोबाइलमा ११ बजे राति  चार पटक फोन गरेको भेटिएको छ। सुतेको समयमा फोन आएको थाहा नभएको सिमाले बताएकी छन्। विहान फोन गर्दा भने तीनै जनाको मोबाइल अफ रहेको बताइएको छ।

बिहीवार काममा आएका दिनेश चौधरी अन्य दिनको जस्तो फुर्तिलो नदेखिएको, विजयबारे सोधपुछ गर्दा पनि केही नबोलेको विजयको परिवारको भनाइ छ। विजयको शव पहिचान गरिएपछि आफन्तहरूले सोधपुछ गर्दा तीनै जनाको कुरा एकआपसमा बाझिएकाले विजयको हत्या गरिएको भन्दै किटानी जाहेरी दिएको परिवारजनले बताएका छन्।

एक्लो छोराको हत्या, साढे चार महिने शिशु आमाको पेटमै टुहुरो
६५ वर्षीय शालिकराम चौधरी र रामपरी चौधरीका तीन छोरीपछिका एक्लो छोरो हुन् विजय। २८ वर्षमै विजयको साथीहरूकै हातबाट हत्या भएको भन्दै  परिवार र आफन्तले किटानी जाहेरी दिएका छन्। घरको कमाइ गर्ने एक्लो छोरोको अकालमा ज्यान गुम्दा परिवारको बिचल्ली भएको छ। विजयी पत्नी सिमाले जीवन साथी  गुमाएकी छन् भने उनको पेटमा हुर्कदै गरेको साढे चार महिनाको शिशुले पिता गुमाएको छ।

न्याय नपाउने त्रासमा परिवारजन
विजयको परिवार घरको मुख्य खम्बा गुमाएकोमा जति विचलित छ। त्यति नै बढी न्याय पाइदैन कि भनेर त्रस्त छ। विजयको किरियामा बसेको परिवार किटानी जाहेरी दिए पनि न्याय नपाउने पो हो कि भन्ने चिन्तामा परेको छ। दिनेश, हनुमान र सुनिललाई प्रहरीले समातेको छ।

तर, अनुसन्धान प्रभावित पार्न उनीहरूका आफन्तले सक्दो चलखेल र दौडधुप गरिरहेकाले अन्यायमाथि थप अन्याय पाउनुपर्ने पो हो कि भनेर परिवारजन सशंकित भएका छन्। हत्यामा संलग्न भएको भनेर किटानी जाहेरीमा नाम उल्लेख भएका तीनैजनाका आफन्तले स्थानीय नेता, वकिल र प्रहरीसँग हारगुहार मागीरहेको र पैसाको चलखेल गर्न खोजेको भन्दै मृतक विजयको परिवारले न्याय दिलाउन सुक्ष्म अनुसन्धान गरिनुपर्ने माग गरेका छन्।

पोष्टमार्टम रिपोर्ट आउन बाँकी
कैलाली प्रहरीले वियज मृत्यु प्रकरणको अनुसन्धान गर्दैछ। सेती प्रादेशिक अस्पताल, धनगढीमा विजय चौधरीको पोष्मार्टम गरिएको छ। तर, उनको रिपोर्ट आएको छैन। कैलाली प्रहरीले पक्राउ परेका तीन जनाको बयान लिएको छ। स्थानीय, होटल सञ्चालक, आफन्तहरुसँग पनि प्रहरीले सोधपुछ गर्दैछ।

जिल्ला अदालत कैलालीबाट आइतवार प्रहरीले म्याद थप गर्ने छ। घटनाको थप विस्तृत अनुसन्धान हुने कैलाली प्रहरीले जनाएको छ। 
 

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस