सुदूरपश्चिममा तीन जिल्लाका बालबालिकालाई दादुरा–रुबेला खोप लगाइने
धनगढीः सरकारले सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा दादुरा रुबेला खोप अभियान सञ्चालन गर्ने भएको छ। ६ महिनादेखि १५ वर्ष उमेरमुनिका बालबालिकालाई दादुरा–रुबेला खोप दिइने भएको हो।
सुदूरपश्चिमका तीन जिल्लामा दादुरा महामारी देखिएको र यो महामारी अन्य जिल्लामा फैलन सक्ने जोखिम रहेकाले नेपाल सरकारले जोखिममा रहेका जिल्लामा खोप दिन लागेको हो। कैलाली, कञ्चनपुर र बाजुरामा खोप अभियान सञ्चालन गरिनेछ। परिवार कल्याण महाशाखा खोप शाखाले सूचना जारी गर्दै नजिकैको स्वास्थ्य संस्था तथा विद्यालयमा सम्पर्क गरी खोप लगाउने मिति र खोप केन्द्रबारे जानकारी लिन र आफ्ना बालबालिकालाई खोप लगाउन अनुरोध गरेको छ।
दादुरा रोगमा छिटो फैलिने र मृत्युदुर पनि उच्च रहन्छ। १ जना दादुरा संक्रमितले १८ जना सम्मलाई रोग सार्न सक्छ। पहिला जति पटक दादुरा रुबेला खोप लगाएको भए पनि यस अभियानमा अनिवार्य एक मात्रा खोप लगाउन र अकालमै मृत्यु हुनबाट जोगिन महाशाखाको अनुरोध छ।