सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली कारागारका कैदीबन्दीलाई खानेपानी र बिजुलीको समस्या

जीर्ण र अपुग भवनमा कैदीबन्दी कोच्चिएर बस्छन्

२०८० जेठ २३, ०७:३३ नारायण अवस्थी

धनगढीः कैलाली कारागारका कैदीबन्दीलाई खानेपानी र बिजुलीको समस्या भएको छ। खानेपानीको नलमा पानी नआउँदा र बिजुलीको लोभोल्टेजका कारण कैदीबन्दी समस्यामा परेका हुन्। कैलाली कारागारमा पुराना र जीर्ण भवनका कारण बन्दीहरू थप समस्या छन्।

कारागारको क्षमताभन्दा तेब्बर संख्यामा बन्दी हुँदा सुत्ने ठाउँको समेत अभाव रहेको छ। कैलाली कारागारामा कैदीबन्दी कोच्चिएर बस्दै आएका छन्। कैलाली कारागार वि.स. १९९७ मा स्थापना भएको हो। कारागारको क्षमता १५० जना कैदीबन्दी अटाउने छ। तर, हाल कारागारमा ६४९ बन्दी रहेका छन्। जसमध्ये ४२ जना महिला कैदीबन्दी छन्।

कैलाली कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी भएकाले उनीहरूलाई बस्नसमेत समस्या हुने गरेको छ। कारागारभित्र खानेपानी, विजुली र फोहर व्यवस्थापनको ठुलो समस्या रहेको कैलाली कारागार कार्यालय प्रमुख पदमराज तिमिल्सिनाले बताए। 'कैलाली कारागारमा खानेपानी र फोहोर व्यवस्थापनको समस्या छ। दसकौदेखिको कारागार परिसरमा फालिएको फोहोर व्यवस्थापन गर्न सकिएको छैन,' उनले भने, 'पानीको बोरिङ सुक्दा र लोभोल्टेजका कारण समस्या छ।'

कारागारबाट उत्पादन हुने फोहर र ढलको उचित व्यवस्थापन नहुँदा कारागार परिसरमा फोहरको डङ्गुर लागेको छ। कारागारबाट निस्कने फोहोर पानीको व्यवस्थापन गरिएको छैन। कारागार परिसरमा दसकौदेखिको फोहोर व्यवस्थापन हुन नसक्दा कारागारको पूर्व र दक्षिणतर्फको परिसर डम्पिङ साइटजस्तो बनेको छ। ६४९ जना कैदी रहेको कारागारमा हरेक दिन नयाँ कैदी थपिने सम्भावना हुन्छ।

तर १९९७ मा बनेका भौतिक संरचना, एउटै खानेपानीको लाइन र सिङ्गलफेजको बिजुलीको लाइनका कारण बन्दीहरूको दैनिकी थप कष्टकर भएको पाइएको छ। कारागारमा पानीको हाहाकार छ भने लाइनको क्षमताभन्दा बढी विद्युत खपत हुँदा पटकपटक लाइन जाने गरेको कारागार प्रमुख तिमिल्सिनाले बताए।

'कारागारमा पानीको व्यवस्थापन र बढी क्षमताको ट्रान्सर्फमर राख्न पाए सहज हुन्थ्यो,“ उनले भने, “भवन अभावमा कैदीबन्दीहरू कोचिएर बस्नुपर्ने अवस्था छ।' क्षमताको तेब्बर कैदीकन्दी राखिएको कैलाली कारागारमा ६०७ जना पुरुष बन्दीका लागि ७ कोठा मात्रै छन्। दुई कोठामा ४२ जना महिला बन्दी छन्।

कारागार भवन  निकै पुरानो छ। भूकम्पका कारण भवनहरू चर्किएका छन्। कारागारमा कैदीबन्दीको संख्या बढी र भवन पुराना हुँदा बन्दीहरूले समस्या भोग्नु परेको छ। स्थापनाकालदेखिका संरचनामा बन्दीहरूलाई राख्नुपरेको कारागार  प्रमुख तिमिल्सेनाको भनाइ छ।

कैलाली कारागाराबाट निस्कने ढलको उचित निकास र व्यवस्थापन नहुँदा बन्दीसँगै कारागार आसपासका स्थानीयले समेत  समस्या भोग्दै आएका छन्। गर्मी बढेसँगै पानी र विजुलीको आपूर्तिमा अवरोध आउँदा कैदीहरूको दैनिकी थप कष्टकर हुने भएको हो।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस