सुदूर नेपाललाई विश्वसँग जोड्दै

मलेसियासँग नेपाल पराजित

२०८० जेठ २०, ०४:११ खबर संवाददाता

काठमाडौंः  घरेलु टोली मलेसियाले चौथो महिला अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा नेपाललाई पराजित गरेको छ।

शनिबार सम्पन्न खेलमा घरेलु टोलीले ४ विकेटको जित दर्ता गरेको हो। नेपालले दिएको ९७ रनको विजयी लक्ष्य मलेसियाले अन्तिम बलमा ६ विकेट गुमाएर पूरा गर्यो। मलेसियाका लागि विनिफ्रेड दुराईसिंघमले ५२ बलमा ३८ रन बनाइन्। नेपालका लागि कप्तान रुविना क्षेत्री, कविता कुँवर, कविता जोशी र सीता रानामगरले समान १–१ विकेट लिए। त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको पाहुना टोली नेपालले ७ विकेट गुमाएर ९६ रन बनाएको थियो।

नेपालका लागि इन्दू बर्माले ३१ बलमा ३ चौकाको सहयोगमा ३२ रन बनाइन्। इन्दु बर्मा र बिन्दु रावलले छैटौं विकेटका लागि ३५ रनको साझेदारी गरेसँगै नेपाल सम्मानजनक योगफलतर्फ गएको थियो। बिन्दु रावलले २६ बलमा २४ रन बनाइन्। कविता कुँवर १२ रनमा अविजित रहिन्। घरेलु टोलीका लागि विनिफ्रेड दुराईसिंघमले ३ विकेट लिइन्।

जितसँगै मलेसियाले पाँच खेलको श्रृंखलामा २–२ को बराबरी गरेको छ। यसअघि नेपाल पहिलो खेलमा ५ विकेटले पराजित भएको थियो। दोस्रो खेलमा नेपाल ७ विकेटले विजयी भएको थियो। तेस्रो खेलमा नेपाल २७ रनले विजयी भएको थियो। अन्तिम खेल भोलि हुँदैछ। यो श्रृंखलाअघि नेपालले मलेसियामाथि सबै खेलमा जित हासिल गरेको थियो।
 

कमेन्ट लोड गर्नुस