सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्न धनगढीका मेयरले दिए नयाँ ‘रोडम्याप’

२०८० जेठ २०, ११:४६ खबर संवाददाता

धनगढीः कैलालीको गेटामा सहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्न धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले नया ‘रोडम्याप’ सार्वजनिक गरेका छन्। गत माघ २९ को संघीय मन्त्रिपरिषद्ले गेटामा सहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्ने निर्णय गरेको थियो।

गेटामा ६ सय शैयाको अस्पताल सञ्चालन गर्ने भनिएको छ। तर बजेट भाषणमा प्रतिष्ठान सञ्चालन गर्ने र एक सय शैयाको अस्पताल सञ्चालन गर्ने उल्लेख भएपछि कैलालीमा संर्घष सुरु गरिएको छ। आज विहान गेटामा आयोजित सडक बहसमा बोल्दै उपमहानगरपालिकाका मेयर हमालले जनताका प्रतिनिधि र यहाँका स्थानीयले चाह्यो भने गेटामा ६ महिनामा राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्न सकिने ठोकुवा गरेका हुन्।

उनले मेडिकल विश्वविद्यालय स्थापनाका लागि सुदूरपश्चिमबाट प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहमा प्रतिनिधित्व गर्ने जनप्रतिनिधिले राज्यबाट प्राप्त स्रोतबाटै राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्न सकिने बताए। प्रतिनिधि सभाका सदस्यले एक वर्षमा ५ करोड पाउने बजेटमा उल्लेख छ। यहाँबाट १६ जना प्रतिनिधि सभा सदस्य छन्। यसबाट वार्षिक ८० करोड हुन्छ।

पाँच वर्षमा यो चार अर्ब हुन्छ। त्यस्तै प्रदेश सभा सदस्यले वार्षिक ९६ करोड पाउने गर्छन्। ३२ प्रदेश सभा सदस्य छन्। यसबाट ५ वर्षमा चार अर्ब ८० करोड हुन्छ। उपमहानगरपालिकाले एक वर्षमा ३० लाख पाउँछ। पाँच वर्षमा एक करोड ५० लाख हुन्छ। त्यस्तै ३३ नगरपालिकाको पाँच वर्षमा ३३ करोड हुन्छ भने ५४ गाउँपालिकाका प्रतिनिधिले पाँच वर्षमा २७ करोड प्राप्त गर्छन्।

यस्तो सुविधालाई राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्न छुट्याउने हो भने १० अर्ब बजेट संकलन हुन्छ। यस हिसाबबाट पनि गेटामा राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्न कुनै समस्या हुँदैन्। यसका लागि यहाँका जनप्रतिनिधि र स्थानीयको इच्छाशक्ति हुनु जरुरी रहेको उनले बताए।

शिक्षा र स्वास्थ्यको विषय मौलिक अधिकारको रुपमा संविधानमा लेख्ने अनि कार्यान्वयन गर्नेबेला कुल्चने हो भने संविधानकै औचित्य नहुँने भन्दै मेयर हमालले निर्वाचित जनप्रतिनिधिले मात्र जनताको प्रतिनिधिको रुपमा काम गर्ने हो भने राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन कुनै समस्या हुँदैन्। सुदूरपश्चिमबाट प्रतिनिधित्व गरेर यहाँको विकासप्रति ध्यान नदिने प्रतिनिधिलाई फुलमाला होइन यहाँका साझा मुद्दाप्रति केन्द्रित गराउनुपर्ने उनको सुझाव छ।

‘आन्दोलन र विन्तिपत्रले केहि हुनेवाला छैन। यस क्षेत्रको साझा विकासको सवालमा कुनै पार्टी नभनेर सचेत नेपाली नागरिकको हैसियतमा खबरदार मात्र गर्न सकियो र त्यसका लागि आजैबाट सबै एकजुट भयौँ भने गेटामा सकेसम्म राज्यबाटै नभए निर्वाचित जनप्रतिनिधि र स्थानीयको पहलबाटै राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्न सकिन्छ।’

कमेन्ट लोड गर्नुस