सुदूर नेपाललाई विश्वसँग जोड्दै

महाकाली नदीमा नमूना अभ्यास

२०८० जेठ १९, ०६:५५ खबर संवाददाता

धनगढीः कञ्चनपुरको महाकाली नदीमा आज बिहान नेपाली सेनाको श्री दल गुल्म भगतपुर ब्यारेकको अगुवाइमा तीन सुरक्षा निकायले विपद् व्यवस्थापनसम्बन्धी नमूना अभ्यास गरेका छन्। महाकाली नदीको तटीय क्षेत्रका स्थानीयवासीको समेत सहभागितामा नमूना अभ्यास गरिएको हो। नेपाली सेनाको श्री दल गुल्म भगतपुर ब्यारेक, जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र सशस्त्र प्रहरी बलको ३५ नम्बर गणको टोलीले भीमदत्त नगरपालिका–१२ हरिहरघाट नजिक नमूना अभ्यास गरेको हो। 

कञ्चनपुरमा विगतदेखि नै महाकाली नदी, दोदा, चौधर लगायतका नदीमा आउने बाढीका कारण स्थानीय प्रभावित हुने गरेको विषयलाई मध्यनजर गर्दै बर्षातको पूर्वसन्ध्यामा नमूना अभ्यास गरिएको श्रीदल गुल्म भगतपुर ब्यारेकका गुल्मपति सेनानी पृथबहादुर श्रेष्ठले बताए। उनले विपद्को आकस्मिक अवस्थामा सुरक्षाकर्मीबाट हुने उद्धार तथा विपद् व्यवस्थापनका लागि पूर्वतयारी गर्ने उद्देश्यसहित नमूना अभ्यास गरिएको बताए।

सो अवसरमा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले विपद् व्यवस्थापनमा सुरक्षा निकायको ठूलो भूमिका रहने बताए। नमूना अभ्यासमा रेडक्रस सोसाइटी कञ्चनपुर, गैरसरकारी संस्था नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ (एनएनएसडब्लुए) र निड्स नेपालको समेत सहभागिता थियो। 

नमूना अभ्यास कार्यक्रममा भीमदत्त नगरपालिकाका नगरप्रमुख पदम बोगटी, श्री नम्बर २५ बाहिनी अड्डाका निमित्त बाहिनीपति महासेनानी सञ्जयकुमार रञ्जीत, प्रमुख सेनानी दिवाकर रायमाझी, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख कमल थापा, सशस्त्र प्रहरी बल ३५ नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रेमबहादुर रावल र रुद्रध्वज गणका निमित्त गणपति नवीन बोहरालगायतको सहभागिता थियो।

कमेन्ट लोड गर्नुस