गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ आन्दोलन चर्काउने तयारी
धनगढीः गेटा मेडिकल विश्वविद्यालय संघर्ष समितिले आन्दोलन गर्ने घोषणा गरेको छ। बुधवार अत्तरियामा बसेको संघर्ष समितिको बैठकले आन्दोलन गर्ने घोषणा गरेको हो। संघर्ष समितिका संयोजक लोकराज पाण्डे (आगो)को अध्यक्षतामा बसेको बैठकले गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ आन्दोलन गर्ने निर्णय गरेको छ।
आन्दोलनबारे विस्तृत विवरण सार्वजनिक गर्न संघर्ष समितिले बुधबार साँझ ५ बजे पत्रकार सम्मेलन गर्ने भएको छ। संघर्ष समितिले १८ गते बिहान ९ देखि १० बजेसम्म अत्तरियामा एक घण्टा चक्काजाम गर्ने निर्णय गरेको छ भने १८ गते नै प्रदेश प्रमुख, मुख्यमन्त्री र प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम छ।
संघर्ष समितिले पूर्व संघीय सांसद डाक्टर दिपकप्रकाश भट्टको संयोजकत्वमा सल्लाहकार समिति गठन गर्ने निर्णयसमेत गरेको छ। बुधबार बिहान बसेको संघर्ष समितिको बैठकले आन्दोलन प्रभावकारी बनाउन राजनीतिक दलहरूसँग समन्वय गर्न आनन्द भट्टलाई जिम्मेवारी तोकेको छ।
विभिन्न संघ संस्थासँग समन्वय गर्न गणेश शाहलाई जिम्मेवारी दिइएको छ भने विद्यार्थी र युवासँग समन्वय गर्न पुष्कर जोशीलाई जिम्मेवारी तोकिएको छ। यस्तै, प्राविधिक सहजीकरणको जिम्मा दिपक ओझा, महिलाहरूसँग समन्वय गर्ने जिम्मा धर्मी खड्का, जनप्रतिनिधिसँग समन्वय गर्ने जिम्मेवारी जयराज फुलारालाई तोकिएको छ।
संघर्ष समितिले कार्यालय सहजीकरण गर्न यज्ञराज कापडी, उद्योग व्यापार तथा आर्थिक ममिलाको जिम्मा भुवनेश्वर भट्ट, सूचना सञ्चारको जिम्मा महेश महर, व्यवस्थापनको जिम्मा तिलकराज भण्डारी र युवा सहजीकरणको जिम्मा जयबहादुर धामीलाई दिइएको छ। संघीय सरकारका अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले जेठ १५ गते गरेको बजेट भाषणमा गेटामा एक सय शय्याको अस्पताल सञ्चालनमा ल्याउने र स्वास्थ्य विज्ञान प्रतिष्ठान चलाउने उल्लेख गरेपछि गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन हुनुपर्ने माग गर्दै आन्दोलन चर्काउने संघर्ष समितिको तयारी छ।