सुदूर नेपाललाई विश्वसँग जोड्दै

गेटा मेडिकललाई अब स्वास्थ्य विज्ञान प्रतिष्ठानको रूपमा विकास गरिने

२०८० जेठ १५, ०६:३७ खबर संवाददाता

धनगढीः सरकारले कैलालीको गेटास्थित गेटा मेडिकल कलेजलाई शहीद दशरथचन्द स्वास्थ्य विज्ञान प्रतिष्ठानको रूपमा विकास गर्ने भएको छ। अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले सोमवार आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन्।

गेटा मेडिकल कलेजलाई सहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको प्रारुपमा सञ्चालन गर्ने यसअघि सरकारले निर्णय गरेको थियो। तर अर्थमन्त्री महतले शहीद दशरथचन्द स्वास्थ्य विज्ञान प्रतिष्ठानको रूपमा विकास गर्ने भन्दै आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेका छन्।

गेटा मेडिकल कलेजलाई सहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय नभई अब शहीद दशरथचन्द स्वास्थ्य विज्ञान प्रतिष्ठानको रूपमा अघि बढाइने भएको हो। सञ्चालनको प्रारुप टुंगो लागेपछि अब छिट्टै सञ्चालन हुने बाटो खुलेको हो। कलेज निर्माणमा हालसम्म पाँच अर्ब ४५ करोड खर्च भइसकेको छ।

प्रतिष्ठान सञ्चालन भएमा स्वास्थ्य क्षेत्रको उच्चस्तरको जनशक्ति उत्पादनका साथै गुणस्तरीय स्वास्थ्योपचार सेवा प्राप्त हुनेछ। यसबाहेक सुदूरपश्चिमको समग्र गतिविधिमा सकारात्मक प्रभाव पर्ने देखिएको छ। सुदूरपश्चिम प्रदेशमा २०५६ मा मेडिकल कलेज सञ्चालन गर्ने पहल सुरु भएको थियो। काँचीकामाकोठी पीठका जगतगुरु शङ्कराचार्यको संरक्षकत्व र लगानीमा २०५६ मा यसै ठाउँमा स्वास्थ्य आयुर्विज्ञान प्रतिष्ठान बनाउने पहल गरिएको थियो।

कमेन्ट लोड गर्नुस