सुदूर नेपाललाई विश्वसँग जोड्दै

चुरे गाउँपालिका–५ मा वन अतिक्रमण, ७ दिनभित्र वस्ती खाली गर्न नोटिस

२०८० जेठ १५, ०१:५७ खबर संवाददाता

धनगढीः कैलालीको चुरे गाउँपालिका वडा नम्बर ५ का विभिन्न स्थानमा वन क्षेत्र अतिक्रमण गरेर वस्ती बसेको छ। चुरे गाउँपालिका–५ भित्र वन क्षेत्र अतिक्रमण गरेर बसेको वस्ती खाली गराउन वन कार्यालयले ७ दिने नोटिस जारी गरेको छ। सवडिभिजन वन कार्यालय सहजपुरले अतिक्रमित वस्ती खाली गर्न नोटिस जारी गरेको हो।

चुरे गाउँपालिका–५ अन्तर्गत निगलाडी खोलादेखि भासुसम्म भीमदत्त राजमार्ग आसपास तथा जमुनीगाडा र खानीडाँडादेखि माल जाने आसपासको पुरै वन क्षेत्र खाली गर्न ७ दिने नोटिस जारी गरिएको छ। वन क्षेत्र नै कब्जा गरेर वस्ती बसेका क्षेत्र जारी सूचनाअनुसार उल्लेखित मितिभित्रै खाली नभए बल प्रयोग गरेर हटाइने समेत सवडिभिजन वन कार्यालयको चेतावनी छ।

राष्ट्रिय वन क्षेत्र अतिक्रमण गरेर वस्ती बसेको भन्दै वन कार्यालयले सम्वन्धित सामुदायिक वन उपभोक्ता समुह समेतलाई पटकपटक लिखित तथा मौखिक रुपमा अनुरोध गर्दा पनि अतिक्रमण नरोकिएपछि ७ दिने नोटिस जारी गरिएको हो। सूचना जारी भएको ७ दिनभित्र वन क्षेत्रभित्र निर्माण गरिएका घरटहरा खाली गरेर आ–आफ्नो सामान लैजाने काम नभए बलपूर्वक वन क्षेत्र खाली गरिने र वन ऐन २०७६ बमोजिम कडाभन्दा कडा कारवाही गरिने समेत जारी सूचनामा उल्लेख छ।

अतिक्रमित वन क्षेत्र खाली गराउन सवडिभिजन वन कार्यालयले यही जेठ १२ गते सूचना जारी गरेको हो। जेठ ६ गते मात्र चुरे गाउँपालिका–४ को टाँकगडा र पनेरुगडामा चुरे क्षेत्रको वन अतिक्रमण गरी निर्माण गरिएका टहरा डिभिजन वन कार्यालय धनगढीको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरीसहितको टोलीले खाली गराइएको थियो।

वन कार्यालयले गाउँपालिकाको टाँगगडा र पनेरुगडामा अतिक्रमण गरेर बसेको जमिनबाट लखेटेपछि साढे दुई सय परिवारको बिचल्ली भएको छ। पहिरो पीडितका नाममा स्थानीयले वन क्षेत्र अतिक्रमण गरेर टाँकगडामा ५८ हेक्टर क्षेत्रफलमा एक सय ३५ र पनेरुवागडामा ४७ हेक्टरमा ३ सय ५० टहरा बनाएका थिए। झन्डै तीन वर्षदेखि टाँकगडामा ५७ हेक्टर जमिन अतिक्रमण गरी घरटहरा बनाइएको थियो।

कमेन्ट लोड गर्नुस