सुदूर नेपाललाई विश्वसँग जोड्दै

नागरिकले नरुचाएका काममा खबरदारी गर्न मन्त्री देउवाको आग्रह

२०८० जेठ १५, १२:०४ खबर संवाददाता

धनगढीः प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवाले नागरिकले नरुचाएका काममा सबैले खबरदारी गर्नुपर्ने बताएका छन्। सुदूरपश्चिम सरकारले धनगढीमा मनाएको १६ औं गणतन्त्र दिवस समारोहमा मन्त्री देउवाले राम्रा काममा रचनात्मक सहयोग गर्न र नागरिकले नरुचाएका काममा खबरदारी गर्न आग्रह गरेका हुन्।

प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री देउवाको अध्यक्षतामा आयोजित गणतन्त्र दिवस समारोहमा प्रदेश प्रमुख देवराज जोशी प्रमुख अतिथि रहेका थिए। समारोहमा प्रदेश सभाका सभामुख, प्रदेश सरकारका मन्त्रीहरू, प्रदेश सभा सदस्यहरू, धनगढी उपमहानगरपालिकाका प्रमुख, प्रदेशका प्रमुख सचीव, सुरक्षा निकायका प्रदेश प्रमुख र प्रदेश सरकारका कर्मचारीहरूको उपस्थिति रहेको थियो।

गणतन्त्र दिवसको अवसरमा सहिद गेटमा सहिद दशरथ चन्दको सालिकमा मन्त्रीहरूले माल्यार्पण समेत गरेका छन्। माल्यार्पणपछि ट्राफिक चौराहाबाट प्रभातफेरी ¥याली निकालिएको थियो। गणतन्त्र समारोहमा आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहले शुभकामना  मन्तव्य दिँदै दसकौको संघर्षबाट गणतन्त्र आएकाले प्रदेश सरकारले गणतन्त्रको मर्मअनुसार काम गर्ने बताए।

उनले जनताको काम प्रभावकारी बनाउनु प्रदेश सरकारको प्राथमिकता प्राथमिकतामा रहेको बताउँदै  अघिल्लो सरकारले सुरु गरेका राम्रा कामको अपनत्व लिएर स्थानीय तहसँग सहकार्य गर्दै प्रदेश सरकारले काम गर्ने बताए। सो अवसरमा भौतिक पूर्वाधार विकासमन्त्री देउवाले नेपाली जनताको त्याग र बलिदानबाट स्थापित गणतान्त्रिक व्यवस्थालाई संस्थागत विकास गरेर मुलुकलाई आर्थिक समृद्धिको बाटोमा अग्रसर गराउने दायित्व सबैको रहेको बताए। उनले  गणतन्त्र दिवसले लोकतान्त्रिक संस्कार, संस्कृति र मूल्य मान्यतामा आधारित समतामूलक समाज निर्माण गर्न तथा सुशासन प्रवद्र्धन गर्न गणतन्त्र दिवसले प्रेरणा दिनेमा जोड दिए।

कमेन्ट लोड गर्नुस