सुदूर नेपाललाई विश्वसँग जोड्दै

यी हुन् सुदूरपश्चिमका डिआएजी बोहराका पाँच प्राथमिकता

२०८० जेठ १४, ०७:४३ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख, प्रहरी नायव महानिरीक्षक भरतबहादुर बोहराले आफ्ना पाँच प्राथमिकता सार्वजनिक गरेका छन्। चैत १६ गते नयाँ प्रदेश प्रहरी प्रमुखको रुपमा सुदूरपश्चिममा आएका उनले आज धनगढीमा पत्रकार सम्मेलन गर्दै आफ्ना प्राथमिकताका क्षेत्र सार्वजनिक गरेका हुन्।

प्रदेश प्रहरी प्रमुख बोहराले प्रहरीले प्रदान गर्ने सेवा प्रभावकारी बनाउने नियमित कार्यलाई सर्वसाधारणको गुनासो रहित बनाउने बताएका छन्। लागुऔषधको विकराल समस्या समाधान गर्न र लागुऔषधको ओसारपसार, विक्रीवितरण र सेवन रोक्न प्रदेशभर अभियान चलाउने बताएका छन्।

कैलाली र कञ्चनपुरमा मात्रै होइन प्रदेशमा पहाडी जिल्लामा पनि लागुऔषध प्रयोगकर्ताको संख्या बढिरहेकाले सबै प्रहरी युनिट निर्मम भएर लागुऔषध विरुद्ध लाग्ने डिआइजी बोहराले बताएका छन्। लागुऔषध प्रयोगकर्ता युवाको संख्या अत्यधिक भएकाले तिनीहरूमा सुधार ल्याउन धनगढी उपमहानगरपालिकासँग मिलेर सुधार केन्द्र सञ्चालनमा ल्याइने डिआइजी बोहराले बताएका छन्। डिआइजी बोहराले तस्करी रोक्ने, गुण्डागर्दी नियन्त्रणमा लिन कठोर भएर काम गर्ने र फरार अभियुक्तलाई पक्राउ गर्ने आफ्ना प्राथमिकता भएको बताएका छन्।

नेपाल प्रहरीलाई प्रदेशमा शान्ति सुरक्षा कायम गर्न, लागुऔषध नियन्त्रण गर्न, अपराधमुक्त समाज निर्माण गर्न प्रदेशवासीको सहयोग चाहिने भएकाले प्रहरीलाई आवश्यक सहयोग गर्न र कमि कमजोरी सच्याउन आवश्यक सुझाव दिन आग्रह गरेका छन्

डिआइजी बोहराले लागुऔषधको प्रयोग अहिलेकै दरमा बढे केही वर्षभित्र समाजका ९५ प्रतिशत युवाको भविष्य तहसनहस हुने सम्भावना रहेको बताउँदै कठोर भएर लागुऔषध विरुद्ध प्रहरीले अभियान चलाउने बताएका छन्। उनले दुई महिनामा प्रहरीले ३०७ ग्राम खैरोहिरोइन समातेको बताउँदै भारत हुँदै ठुलो परिमाणमा लागुऔषध भित्रिन थालेको बताएका छन्। उनले यो अवस्था गम्भीर भएकाले नियन्त्रण गर्न प्रहरी संगठन कठोर भएर लाग्ने बताएका छन्। 

कमेन्ट लोड गर्नुस