शिक्षा र स्वास्थ्यमा प्रदेश सरकारले गर्न सक्छ भन्ने हिसावले काम गर्छुः मन्त्री साउँद
धनगढीः सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री झपटबहादुर साउँदले शिक्षा र स्वास्थ्य क्षेत्रमा केही गरेरै देखाउँने बताएका छन्। मन्त्री साउँदले शिक्षा र स्वास्थ्य आधारभूत सेवा भएकाले प्रदेशवासीले फरक अनुभूति गर्ने हिसावले काम गर्ने बताएका हुन्।
जेठ ६ गते प्रदेशको सामाजिक विकासमन्त्रीमा नियुक्त भएका नेकपा माओवादी केन्द्रबाट अछाम निर्वाचन क्षेत्र नम्बर १ को (२) बाट निर्वाचित मन्त्री साउँदले शिक्षा र स्वास्थ्यमा प्रदेश सरकारले गर्न सक्छ भन्ने हिसावले काम गर्ने बताए।
शनिवार मन्त्री निवासमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री साउँदले मन्त्रालयको बजेट यसपालि कनिका छरेजस्तो नआउने बताए। उनले नीतिगत सुधारका क्षेत्रमा निर्भिक भएर काम गर्ने बताउँदै मन्त्रालयले गर्नुपर्ने नीतिगत सुधारको विषयमा आवश्यक सुझाव लिएर काम गर्ने बताए।
सेती अस्पतालाई दुई सय शय्याको बनाउने
सामाजिक विकासमन्त्री साउँदले सेती प्रादेशिक अस्पताललाई दुई सय शय्यामा स्तरोन्नति गर्ने उनले बताए। सेती प्रदेशकै रेफरल अस्पताल भएकाले जनतालाई सहज उपचार सेवा दिन अस्पताललाई दुई सय शय्याको बनाएर सञ्चालनमा ल्याउने बताए। स्वास्थ्य सेवाको पहुँच विस्तार र अस्पतालहरूको क्षमता बढाउन नीतिगत व्यवस्था गर्ने मन्त्री साउँद बताए।
स्वास्थ्यकर्मीलाई सतप्रतिशत भत्ता दिइने
सेती प्रादेशिक अस्पतालको सेवाबारे जनताबाट धेरै गुनासो आउँने भएकाले अस्पतालको क्षमता र गुणस्तर बढाउने स्पष्ट योजना र कार्यक्रम बनाएर काम गर्ने सोचाइ बनाएको मन्त्री साउँदले बताए। सुदूरपश्चिममा विशेषज्ञ चिकित्सक नबस्ने कारणको खोजी गरेर सेवा सुविधा सत्प्रतिशत बढाएर भए पनि अस्पतालमा चिकित्सक काम गर्न आउने वातावरण तयार गरिने उनको भनाई छ। सेतीमा भवन निर्माण, उपकरण र जनशक्ति व्यवस्थापन गरी सर्वसाधारणले विशेषज्ञ स्वास्थ्य सेवा सहजै पाउने अवस्था निर्माण गर्न प्रतिवद्ध भएर काम गर्ने मन्त्री साउँदको दाबी छ।
नमूना विद्यालय भवनको योजना ल्याउने
गएको पाँच वर्षमा प्रदेश सरकारले दुई कोठे र चार कोठे भवनमा बजेट हालेको भए पनि यो वर्षबाट नमूना विद्यालय भवन निर्माण गर्न बजेट विनियोज गर्ने सोच मन्त्रालयको छ। दुई कोठे र चार कोठे विद्यालय भवन पहुँचका भरमा वितरण गरिएका र नतिजा पनि राम्रो नदेखिएकाले यो वर्षबाट विद्यालय भवनमा विगतको जस्तो गल्ति नदोहरिने मन्त्री साउँदको दाबी छ। उनले यो वर्ष मन्त्रालयमा बजेटको सिलिङ घटेर आए पनि परिणाम दिने क्षेत्रमा बजेट हाल्ने र अनावश्यक शिर्षक र क्षेत्रमा बजेट नहाल्ने बताए।
सुधारको सुरुवात सेती अस्पतालबाटै गरिने
प्रदेशको स्वास्थ्य सेवाको सुधार गरेर देखाउने मन्त्री साउँदको दाबी छ। जनताले उपचार नपाएर भोग्नुपर्ने सास्ती कम गर्ने उद्देश्यका साथ काम गर्ने उनले बताए। प्रदेश सरकारले स्वास्थ्य र शिक्षाको पहुँच र गुणस्तर वृद्धि गर्न जनताको मर्का र चाहना बुझेर काम गर्नेमा जोड दिएका छन्।