सुदूर नेपाललाई विश्वसँग जोड्दै

अब धनगढीमै टाटा नेक्सन म्याक्स ईभीको ‘लङ रेन्ज मोडल’, मूल्य कति?

२०८० जेठ १२, ०१:२३ खबर संवाददाता

धनगढीः टाटा मोटर्सको आधिकारीक विक्रेता सिप्रदी ट्रेडिङले नेक्सन ईभीको लङ रेन्ज मोडल धनगढीमा ल्याएको छ। नेक्सन म्याक्स धनगढीबाट विक्री सुरु भएको छ।

कम्पनीले ल्याएको नेक्सन म्याक्स अहिले विक्री भइरहेको प्राइम मोडलभन्दा हाइटेक र फिचर लोडेड मोडल हो। टाटा नेक्सन प्राइमको तुलनामा म्याक्स मोडलमा ठूलो ब्याट्री, धेरै रेन्ज र पावर फुल मोटर पाउन सकिन्छ। टाटाको सुदूरपश्चिम बिक्रेता नवदुर्गा टेक्नोलोजि प्रालि धनगढीका सञ्चालक प्रदिप जोशीले नयाँ मोडलको नेक्सन म्याक्सको बिक्री सुरु भएको बताए।

टाटाले नेक्सन म्याक्समा ४० दशमलव ५ किलोवाट आवरको ब्याट्री दिएको छ। साथै, प्राइम मोडलको भन्दा ठूलो १०५ किलोवाट क्षमताको मोटर छ। यसमा मल्टी रिजेनेरेटीभ ब्रेकिङ मोड पाउन सकिन्छ। यसमा रहेको ब्याट्रीलाई सिंगल चार्जमा ४५३ किलोमिटर रेन्ज दिने एआरएआईले प्रमाणित गरेको छ।

एक्सजेड प्लस र एक्सजेड प्लस लग्जरी गरी दुईवटा भेरियन्टमा लन्च भएको नेक्सन म्याक्समा दुईथरी चार्जिङ अप्सन दिएको छ। यसमा स्ट्याण्डर्ड ३ दशमलव ३ र अर्को ७ दशमलव २ किलोवाट क्षमताको दुई फरक अनवोर्ड चार्जर पाउन सकिन्छ। नेक्सन म्याक्सलाई ३ दशमलव ३ किलोवाटको चार्जरले फुल चार्ज गर्नका लागि १५ देखि १६ घण्टा लाग्छ भने ७ दशमलव २ किलोवाटको चार्जरले चार्ज गर्दा जम्मा ६ घण्टामै फुल चार्ज हुनेछ। नेक्सन म्याक्समा प्राइम मोडलको भन्दा केही अन्य फिचरहरु समेत थप भएको छ। यसमा पार्कमोड सहितको इलुमीटेड गियर नव, इलेक्ट्रोनीक पार्किङ ब्रेक, एयर प्यूरीफायर, चारवटै चक्कामा डिस्क ब्रेक, कुल्ड सिट आदि छन्।

त्यस्तै, सुरक्षाका लागि म्याक्समा ईएसपी तथा हिल होल्ड असिस्ट समेत थपिएको छ। यसमा अब स्मार्ट वाच कनेक्ट तथा क्रुज कन्ट्रोलको पनि सुविधा पाउन सकिन्छ।

मूल्य कति?

टाटा नेक्सन प्राइममा ९५ किलोवाट क्षमताको मात्रै मोटर रहेको थियो। जसको कारण यसमा १० प्रतिशत भन्सार, १३ प्रतिशत भ्याट र ५ प्रतिशत सडक निर्माण दस्तुर लागेको थियो। तर, म्याक्समा १०५ किलोवाट क्षमताको मोटर जडान भएको छ। १०० किलोवाट पीकपावर माथि २०० किलोवाटसम्मको गाडीमा ३० प्रतिशत भन्सार, ३० प्रतिशत अन्तःशुल्क, १३ प्रतिशत भ्याट र ५ प्रतिशत सडक निर्माण दस्तुर लाग्छ। करको दर नै बढी भएपछि यसको मूल्य स्वाभाविक रुपमा महंगो हुने नै भयो। अहिलेकै करका दर अनुसार नेक्सन म्याक्सको सुरुवाती भेरियन्टको मूल्य ४६ लाख  ४९ हजार पर्छ।

कमेन्ट लोड गर्नुस