सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी ६ लेन सडकमा बत्ती जडान भएपछि टिकटक बनाउने बढे

२०८० जेठ १२, १०:५३ खबर संवाददाता

धनगढीः धनगढी–अत्तरिया ६ लेन सडक अन्तर्गत धनगढी क्षेत्रमा बत्ती जडान भएपछि टिकटक बनाउनेको संख्या बढेको छ।

धनगढी उपमहानगरपालिकाले मोहनापुल–अत्तरिया ६ लेन सडकमा नेपाल विद्युत प्राधिकरणको ४० तथा उपमहानगरपालिकाको ६० प्रतिशत लगानीमा स्मार्ट सडक बत्ती जडान गरेर सञ्चालनमा ल्याएसँगै टिकटक बनाउनेको संख्या बढ्दै गएको हो। बेलुकी ७ बजेदेखि राति १० सम्म ६ लेन सडक जहाँजहाँ बत्ती जडान भएको छ ती स्थानमा टिकटक बनाउने बढेका हुन्।

स्मार्ट सडक बत्ती जडानमा २ करोड ७० लाख खर्च भएको छ। उज्यालो धनगढी अभियान अन्तर्गत थप १५ वटा हाइमास्ट लाइट जडान गरिएको छ। यसले रातिको समयमा हुने दुर्घटना न्युनिकरण र चोरीका घटनामा समेत कमि आएको स्थानीय बताउँछन्। मोहनापुल–अत्तरिया ६ लेन सडकको धनगढी क्षेत्रमा १० वटा थप हाइमास्ट लाइट जडान गरिएको छ।

लाइट जडान भएसँगै ६ लेन सडक टिकटक पारखिका लागि बरदान नै सावित भएको धनगढी उपमहानगरपालिका–१३ राजपुरका स्थानीय विष्णुदत्त पाण्डेले बताए। उपमहानगरपालिकाले ६ लेन सडकमा स्मार्ट लाइट तथा हाइमास्ट लाइट जडान भएसँगै टिकटक बनाउनेको संख्या विशेष गरी साँझ ७ बजेदेखि १० बजेसम्म ठाउँठाउँमा भेटिने गरेको उनले बताए।

६ लेन सडकमा बलेका लाइटको सहारामा तस्वीर खिच्नुका साथै टिकटक बनाउने बढेका हुन्। सबैभन्दा बढी भाटभटेनी आसपास, राजपुर क्षेत्र हुँदै धनगढी विमानस्थल प्रवेश गेट नजिक टिकटक बनाउने युवायुवतीको संख्या बढेको मोहनपुरका अर्का स्थानीय प्रकाश ओझाले बताए।

‘झिलिमिली उज्यालो हुने भएपछि साझ पर्ने बित्तिकै ६ लेन सडकमा घुमफिर गर्ने र विभिन्न गितहरुमा टिकटक बनाउने प्रायः सबै उमेर समुहकाको संख्या बढ्दो क्रममा छ।’ अझ हाइमास्ट लाइट जडान भएका स्थानमा त झन बढी भीड लाग्ने गरेको स्थानीय बताउँछन्।

कमेन्ट लोड गर्नुस