सुदूर नेपाललाई विश्वसँग जोड्दै

६१ लाखको सुनचाँदीका गरगहना चोरी गर्ने तीनजना पक्राउ

२०८० जेठ १२, ०७:१० खबर संवाददाता

मोरङः विराटनगर महानगरपालिका–३ स्थित एक घरबाट चोरी गरिएको ६१ लाख मूल्य बराबरको गरगहनासहित तीन जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ।

यही जेठ ३ गते विराटनगर–३ पीपलचौकस्थित जयकिशोर चौधरीको घरबाट २० तोला सुन र ३६ केजी चाँदी  गरी ६१ लाख बराबरको गरगहना चोरी गरेको आरोपमा विराटनगर महानगरपालिका–१२ बस्ने २१ वर्षीय राजकुमार कामत, १९ वर्षीय विवेक कामत र श्रीकान्त दासलाई पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय मोरङले बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो। चोरीको घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङबाट आठ  जनाको टोली परिचालन गरी उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालले जानकारी दिए। 

उनीहरूलाई जेठ १० गते राति १ बजे विराटनगर–१२ कोशी प्रोजेक्टस्थित सडक खण्डमा चोरीको सामान ३५ केजी चाँदी, आठ ग्राम सुन, दुई थान मोबाइलसहित भारतको जोगबनीमा बिक्री गर्न जाने क्रममा प्रहरीले पक्राउ गरेको हो। 

कमेन्ट लोड गर्नुस