सुदूर नेपाललाई विश्वसँग जोड्दै

शुक्लाफाँटा नगरपालिकाद्घारा किसानलाई उन्नत जातको धानको बीउ वितरण

२०८० जेठ ११, ०५:२९ खबर संवाददाता

कञ्चनपुरः  शुक्लाफाँटा नगरपालिकाले धानको उत्पादन बढाउन किसानलाई उन्नत जातको धानको बीउ वितरण गरेको छ।

नगरपालिकाको वार्षिक कार्यक्रमअनुसार एक सय ५० किसानलाई धानको बीउ वितरण गरिएको जनाइएको छ। किसानलाई सावा मन्सुली, राधा–४, सर्जु–५२, रामधान, सावित्री र सुक्खा धानको बीउ वितरण गरिएको नगरपालिकाको कृषि शाखाका प्रमुख करनसिंह बुढा ऐरले बताए।

‘समूह, सहकारी, फर्म र व्यक्तिगतरुपमा किसानको मागअनुसारको धानको बीउ वितरण गरेका छौँ’, उनले भने, ‘ ६६ रुपैँया प्रति किलोका हिसाबले धानको बीउ खरिद गरी किसानलाई ३३ मा उपलव्ध गराएका छौँ।’ एक हजार पाँच सय २० किलो धानको बीउ किसानलाई वितरण गरिएको उनले बताए।

धानको बीउका लागि नगरपालिकाले छ लाख बढी रकम खर्च गरेको छ। मसिनो र बढी उत्पादन दिने नगरपालिकाको माटो सुहाउँदो धानको बीउ वितरण गरिएको कृषि शाखा प्रमुख बुढाऐरको भनाइ छ। ‘वितरण गरिएको धानको बीउ दुई सय बढी बिघा क्षेत्रफलमा रोप्नका लागि पुग्छ’, उनले भने, ‘धानको उत्पादन बढेसँगै किसानको आयस्तरमा वृद्धि हुने अपेक्षा गरेका छौँ।’

धानको उत्पादन बढाउन किसानलाई प्रोत्साहित गर्न बीउ, कृषि औजार, यन्त्र, मलखाद, विषादी र प्रविधिमा सहयोग गर्ने कार्य भइरहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्रराज भट्टले बताए। धानको उत्पादनलाई पाँच वर्षभित्र दोब्बर पार्ने नगरपालिकाको लक्ष्य रहेको उनले जनाए।
 

कमेन्ट लोड गर्नुस