सुदूर नेपाललाई विश्वसँग जोड्दै

चौथो सुदुरपश्चिम स्पोर्टस अवार्ड असार ८ गते हुने 

२०८० जेठ १०, ०५:४८ खबर संवाददाता

धनगढीः  चौथो संस्करणको सुदुरपश्चिम स्पोर्टस अवार्ड असार ८ गते हुने भएको छ।

नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले आज धनगढीमा पत्रकार सम्मेलन गर्दै चौथो संस्करणको सुदुरपश्चिम स्पोर्टस अवार्डको मिति घोषणा गरेको हो। पछिल्ला तीन बर्षदेखि बर्षेनी हुदैं आएको चौथो सुदुरपश्चिम स्पोर्टस अवार्ड २०७९ आगामी असार ८ गते धनगढीमा आयोजना गर्नका लागि तयारीमा जुटेको मञ्चका अध्यक्ष प्रदीप पाठकले बताए।

२०७९ सालको बैशाखदेखि चैत मसान्तसम्म सुदुरपश्चिम प्रदेशका खेलाडीहरुले गरेको प्रदर्शनको आधारमा विभिन्न ८ वटा विधाहरुमा अवार्ड वितरण गरिने भएको छ। बर्षको उत्कृष्ट खेलाडी पुरुष र महिला, बर्षको उत्कृष्ट प्रशिक्षक, बर्षको युवा खेलाडी, सुदुरपश्चिम आईकन पुरुष तथा महिला, लाईफटाईम अचिभमेन्ट अवार्ड र स्पेशल अवार्ड वितरण गरिने अध्यक्ष पाठकले बताए।

उनका अनुसार लाईफटाईम अचिभमेन्ट अवार्ड र स्पेशल अवार्डको घोषणा कार्यक्रमकै दिन गरिनेछ भने अन्य ६ वटा विधाहरुमा ३÷३ जनाको मनोनयन सार्वजनिक गरी कार्यक्रम हुने दिन विजेताको घोषणा गरिनेछ। अवार्ड कार्यक्रमभन्दा अघि क्रमशः मनोनयनमा परेकाहरुको नाम सार्वजनिक गरिने मञ्चका महासचिव हरि जोशीले बताए।

बर्षको उत्कृष्ट खेलाडी पुरुष र महिलाले नगद ३५ हजार सहित ट्रफी प्राप्त गर्नेछन्। सुदुरपश्चिम आईकन पुरुष तथा महिलाको विजेताले नगद २० हजार सहित  ट्रफी प्राप्त गर्नेछन्। बर्षको प्रशिक्षकले ३० हजार नगद प्राप्त गर्दा लाईफटाईम एचिभमेन्ट अवार्ड, स्पेशल अवार्ड र बर्षको युवा खेलाडीले नगद २५ हजार  सहित ट्रफी प्राप्त गर्नेछन्।

सुदुरपश्चिम प्रदेशमा खेलकुद तथा खेलाडीहरुका लागि विभिन्न काम गर्दै आएको नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले पछिल्ला तीन बर्षदेखि सुदुरपश्चिम स्पोर्टस अवार्ड आयोजना गर्दै आएको छ। 
 

कमेन्ट लोड गर्नुस