आज नेपाल र भारत भिड्दै

काठमाडौं: एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिताको तेस्रो खेलमा नेपालले आज बुधवार भारतको सामना गर्दैछ। राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा नेपालले भारतको सामना गर्नेछ। नेपाल र भारतबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ।
नेपाल आज लगातार तेस्रो जित निकाल्ने योजनामा रहेको छ। पहिलो खेलमा नेपालले किर्गिस्तान र दोस्रो खेलमा बंगलादेशलाई सोझो सेटमा हराएको थियो। नेपाल आज भारतलाई हराएर समूह विजेता बन्दै सेमिफाइनल पुग्ने योजनामा रहेको छ। दुई खेल जितिसकेको नेपाल समूह ’ए’ बाट अन्तिम चारमा पुगिसकेको छ।
भारत पनि दुई खेल जित्दै सेमिफाइनल पुगिसकेको छ। घरेलु टोलीलाई हराएर भारत समूह विजेता बन्न चाहन्छ। यस समूहबाट बंगलादेश र किर्गिस्तान समूह चरणबाट बाहिरिसकेको छ। यस्तै समूह ’बी’ बाट काजकिस्तान र उज्वेकिस्तानले अन्तिम चारमा स्थान बनाएका छन्। प्रतियोगिता अन्तर्गत बुधबार बंगलादेश र किर्गिस्तानबीच प्रतिस्पर्धा हुनेछ।
यस्तै उज्वेकिस्तान र काजकिस्तान तथा श्रीलंका र माल्दिभ्सबीच समेत प्रतिस्पर्धा हुनेछ। राखेपको विशेष सहयोग तथा नेपाल भलिबल संघको आयोजनामा जारी प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको छ। प्रतियोगितामा नेपाल, बंगलादेश, माल्दिभ्स, भारत, श्रीलंका, किर्गिस्तान, उज्वेकिस्तान र काजकिस्तानको सहभागिता रहेको छ।


