धनगढीमा सय दिनमा ६३ निर्णय, यस्ता छन् कार्यपालिकाबाट पारित निर्णयहरु
धनगढीः धनगढी उपमहानगरपालिकाले नगर कार्यपालिका बैठकबाट भएका निर्णय कार्यान्वयनमा जोड दिँदै आएको छ। नगर कार्यपालिकाबाट भएका निर्णय उपमहानगरले एकपछि अर्को कार्यान्वयन गर्दै आएको हो। उपमहानगरको कार्यपालिका बैठक पहिलो सय दिनमा १० पटक बसेको छ। कार्यपालिकाले १० वटा बैठकबाट ६३ वटा निर्णय पारित गरेको छ।
२९ सदस्यीय धनगढीको कार्यपालिका बैठक निर्वाचन लगत्तै नगरप्रमुख गोपाल हमालको अध्यक्षतामा बसेको छ। पहिलो कार्यपालिका बैठक २०७९ जेठ ९ गते बसेको हो। पहिलो कार्यपालिका बैठकमा तीन वटा निर्णय भएका छन्। मतदाता, नेपाल सरकार, निर्वाचन आयोग, राजनीतिक दल, सरकारी संयन्त्र, नागरिक समाजलाई धन्यवाद र सहिदप्रती सम्मान व्यक्त गरेर निर्णय टुङ्ग्याइएको छ।
२०७९ जेठ २० गते कार्यपालिकाको दोस्रो बैठक बसेको छ। सो बैठकबाठ विभिन्न ६ वटा निर्णय भएका छन्। सबै निर्णय कर्मचारी व्यवस्थापनसँग सम्बन्धित छन्। त्यस्तै तेस्रो कार्यपालिका बैठक २०७९ जेठ २३ गते बसेको छ। सो बैठकमा तीन वटा निर्णय भएका छन्। स्थानीय राजश्व परामर्श समिति, सामाजिक विकास समिति, भौतिक पूर्वाधार विकास समिति, संस्थागत विकास तथा क्षमता अभिवृद्धि समिति, आर्थिक विकास समिति र वन, वातावरण तथा विपद व्यवस्थापन समिति चयन गरिएको छ।
असार ५ गते कार्यपालिकाको चौथो बैठकबाट पाँच वटा निर्णय पारित भएका छन्। चौथो बैठकमा खोलानालाको अतिक्रम हटाउने कार्यको अनुमोदन गरिएको छ भने आर्थिक वर्ष २०७९/८० को आय–व्ययको प्रक्षेपणमा एक अर्ब ८२ करोड २९ लाख १५ हजार राजश्व संकलन हुने प्रक्षेपण गरिएको छ। असार ८ गतेको कार्यपालिका बैठकले दुईवटा निर्णय गरेको छ।
जसमा नगर विकास समितिमा सदस्य मनोनयन गरिएको छ भने आर्थिक वर्ष २०७९/८० को चालुतर्फको वडास्तरीय योजना तथा कार्यक्रम नगर सभामा पेस गर्न स्वीकृति प्रदान गरिएको छ। असार ९ गते बसेको कार्यपालिकाको बैठकले चार वटा निर्णय गरेको छ। सो बैठकबाट धनगढीका मुख्य सडकमा आधुनिक बत्ती जडान गर्ने निर्णय भएको छ। असार ३१ गते बसेको कार्यपालिका बैठकले वडा नम्बर १ र ४ को जग्गालाई गैर कृषि क्षेत्र निर्धारण गरेको छ।
वडा नम्बर ३ मा अत्याधुनिक बसपार्क निर्माण गर्न जग्गा प्राप्तिका लागि जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गर्ने निर्णय भएको छ। यस्तै, साउन १ देखि कुनै पनि सडक निकाल्दा ग्राभेल र विद्युतको विस्तार भए मात्र कित्ताकाट गर्न नापी कार्यालयलाई लेखी पठाउने निर्णय गरिएको छ। यसैगरी साउन १ गतेबाट विशेषज्ञ वडा क्लिनिक सञ्चालनमा ल्याउने निर्णय भएको छ। नगर कार्यपालिकाको नवौं बैठक भदौ १ गते बसेको छ। सो बैठकबाट विभिन्न २५ वटा निर्णय भएका छन्।
पहिलो निर्णयमा नगर प्रहरी नायब निरीक्षकसहित १३ जना नगर प्रहरीको नियुक्तिलाई अनुमोदन गरिएको छ। २०७९ जेठ २६ गते प्रकाशित विज्ञापनअनुसार योग्यताक्रमको आधारमा छनोट भई पदपूर्ति समितिद्वारा सिफारिस भै करार सेवाका लागि नियुक्त गरिएको निर्णयमा उल्लेख छ। निर्णय नम्बर २ मा अधिवक्ता वीरबहादुर जेठारालाई उपमहानगरको कानूनी सल्लाहकार नियुक्त गरिएको छ भने विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक सञ्चालन सम्बन्धि कार्यविधी, २०७९ स्वीकृत गरिएको छ।
विषेशज्ञ वडा स्वास्थ्य क्लिनिकका लागि भाटभटेनी सुपर मार्केटसँग भएको सम्झौता बमोजिम जनही मासिक २/२ लाख सेवा सुबिधा दिएर डाक्टर विकास रिजाल र डाक्टर शारदा गुरुङको करार सेवा अनुमोदन गरिएको छ। अन्य निर्णयमा गाई व्यवस्थापन गर्न गौशाला निर्माण गर्ने, फूलबारी बसपार्क सञ्चालनमा ल्याउने, चालू आर्थिक वर्षलाई सरसफाइ वर्षका रुपमा मनाउने, २०७९ असोज १ गतेदेखि प्लाष्टिकजन्य गिलास, कप, प्लेट, झोला र सुर्तीजन्य पानपराग र खुट्खाको प्रयोग र बिक्रीवितरण बन्द गर्ने निर्णय भएको थियो।
यस्तै, सार्वजनिक क्षेत्र, सडक, नालीहरूमा फोहोर फ्याक्ने, खोलानालामा ढल मिसाउने, सडकमा निर्माण सामग्री राख्ने, ठेला पसल राख्ने र पशुचौपाया बाँधी राख्न नदिने निर्णय भएको छ। खोलानालामा ढल मिसाउनेलाई पहिलोपटक १० हजार जरिवाना गर्ने र फोहरमैला फ्याँक्नेलाई पहिलोपटक एक हजार, दोस्रोपटक तीन हजार र तेस्रोपटक पाँच हजार जरिवाना तिराउने निर्णय कार्यपालिकाले गरेको छ।
भदौ १५ मा बसेको कार्यपालिका बैठकले कोभिड संक्रमण भएर ज्यान गुमाएका स्वास्थ्य स्वयंसेविका लिला चटौत र पूर्णा अधिकारीलाई एक/एक लाख आर्थिक सहयोग दिने निर्णय भएको छ। भदौ २२ मा बसेको कार्यपालिका बैठकले विभिन्न ६ वटा निर्णय गरेको छ।
निर्णय नम्बर १ मा धनगढी उपमहानगर क्षेत्रको जग्गाको वर्गीकरण गरिएको छ भने धनगढी–१३ को मटकन्ना ताल, २ नम्बर वडाको तिल्के ताल, ७ नम्बर वडाको सडुवा/आटागडैया ताल र सिलसिला ताल, बोराडाँडीको गडैया ताल, उर्माको बडी गडैया ताल, उर्मीको भगहर ताल, वडा नम्बर ९ को चौफेरी ताल, वडा नम्बर १४ को शिवताल, वडा नम्बर १२ को असैना कुण्डा ताल, वडा नम्बर १० को तेह्र बिघा ताल, भगहर ताल र मरछेया गदरीया ताल र वडा नम्बर ६ को डबरा ताल संरक्षण तथा विकास गर्न एकीकृत खानेपानी खानेपानी तथा व्यवस्थापन आयोजना पानीपोखरी काठमाडौलाई अनुरोध गर्ने निर्णय गरिएको छ। जेठ ९ देखि भदौ २२ सम्म १०३ दिनको अवधिमा कार्यपालिका बैठक १० पटक बसेर विभिन्न ६३ निर्णय पारित गरेको पाइएको छ।