सुदूर नेपाललाई विश्वसँग जोड्दै

किर्गिस्तानलाई ३–० को सोझो सेटले हराउँदै नेपालको सुखद सुरुआत

२०८० जेठ ८, ०७:४२ खबर संवाददाता

काठमाडौंः  नेपालले घरेलु भूमिमा एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा सोमबार भएको खेलमा किर्गिस्तानलाई हराउँदै नेपालले सुखद सुरुआत गरेको हो। घरेलु समर्थकको साथ पाएको नेपालले किर्गिस्तानलाई ३–० को सोझो सेटमा हराएको हो। नेपालले किर्गिस्तानलाई २५–११,२५–१९ र २५–११ ले हराएको हो। जितसँगै समूह ’ए’ को नेपालले ३ अंक जोडेको छ।

अब नेपालले दोस्रो खेलमा मंगलबार बंगलादेशको सामना गर्नेछ। प्रतियोगिता अन्तर्गत नै सोमबार भारत र उज्वेकिस्तानले जित निकालेका छन्। प्रतियोगिताको पहिलो खेलमा उज्वेकिस्तानले श्रीलंकालाई ३–० को सोझो सेटमा हराएको हो। उज्वेकिस्तानले श्रीलंकालाई २७–२५, २५–१५ र २५–१३ ले हराएको हो।

भारतले बंगलादेशलाई २५–३, २५–९ र २५–६ को सेटमा हराएको हो। राखेपको विशेष सहयोग तथा नेपाल भलिबल संघको आयोजनामा जारी प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको छ। प्रतियोगितामा नेपाल, बंगलादेश, माल्दिभ्स, भारत, श्रीलंका, किर्गिस्तान, उज्वेकिस्तान र काजाकिस्तानको सहभागिता रहेको छ। समूह ’ए’ मा घरेलु टोली नेपाल सहित भारत बंगलादेश र किर्गिस्तान छन्। समूह ’बी’ मा श्रीलंका, माल्दिभ्स, काजकिस्तान र उज्वेकिस्तान रहेका छन्।

राउन्ड रोविन लिग पछि शीर्ष २ टोलीले सेमिफाइनलमा र पुछारमा रहेका दुई टोलीले वरीयताका लागि प्रतिस्पर्धा गर्नेछन्।
 

कमेन्ट लोड गर्नुस