सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा ५१७ सडकको बिजोक, कुन वडामा कति ग्राभेल गर्न बाँकी?

२०८० जेठ ३, १०:१३ कमल सावद

धनगढीः धनगढी उपमहानगरपालिकाभित्र ग्राभेल नभएका सडकको संख्या पाँच सय १७ रहेको तथ्यांक सार्वजनिक भएको छ। उपमहानगरपालिकाले गरेको अध्ययनबाट पाँच सय १७ सडकमा एक पटक पनि ग्राभेल नभएको पाइएको छ।

धनगढी उपमहानगरपालिकाका १९ वटै वडामा एक सय ६३ किलोमिटरभित्र ग्राभेलसमेत नगरिएका सडक फेला गरेका छन्। ती सडक ग्राभेल गर्न मात्र १८ करोड बजेट आवश्यक पर्ने देखिएको छ। धनगढीमा जग्गा कारोबारीले नयाँ बस्ति विकास गर्ने तर पूर्वाधार निर्माणका लागि उपमहानगरपालिकाको मुख ताक्ने प्रवृत्तिले ग्राभेल नभएका सडकको संख्या धेरै देखिएको हो। हाल उपमहानगरपालिकाले व्यवस्थित बस्ती विकासका लागि ग्राभेल सडक र विद्युत लाइन विस्तार अनिवार्य गरेको छ।

धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमालले जग्गा कारोबार गर्नेले बाटो निकालेर नाफा लिदै आएको बताए। नयाँ बाटो भएको क्षेत्रमा पूर्वाधार निर्माणको जिम्मा उपमहानगरपालिकाको हुँदै आएको उनले बताए। नगरप्रमुम हमालले भने, ‘धनगढी कस्तो बन्ने हो? कुनै ठेगा थिएन्। उपमहानगरपालिकाका सबै सडकहरु कति वर्षमा ग्राभेल हुनसक्छन त? अनुमान समेत गर्न नसकिने भयो। किनभने हाम्रो क्षमता सय किलोमिटर ग्राभेल गर्ने छ भने दुई सय किलोमिटर जग्गा कारोबारीले बाटो निकाल्न थोले। हामीले नगरसभाबाट पास के गरेका छौ भने, २० फिटको बाटो, १५ सेन्टिमिटर ग्राभेल गरेको, दुबैतिर नाला र चार्ज गरेको बिजुली हुनुपर्ने नीति छ। तीन जनाको प्राविधिक टिमले अध्ययन गर्दैछौ।’

उपमहानगरभित्र हालसम्म ग्राभेल नगरिएका सडकको संख्या पाँच सय १७ देखिएको छ। एक सय ६३ किलोमिटर सडकमा अहिलेसम्म ग्राभेलसम्म भएको छैन्। धनगढीमा जग्गा कारोबारीले बस्ती विकास गर्ने तर पूर्वाधार निर्माण नगर्ने अवस्थाका कारण पनि यस्तो संख्या धेरै देखिएको हो। नगरप्रमुख हमालले नयाँ नीतिपछि ग्राभेल नभएको बाटो धनगढीमा नहुने बताए। ‘नयाँबाटोमा नियुनतम आवश्यक्ता हुन्छ। बाँकी रहेको सडकमा हामी ग्राभेल गर्छौ। १९ वटै वडाका प्राविधिकहरुलाई हामीले तथ्याँक मागेका छौ। अब हाम्रो ध्यान कच्ची सडकलाई ग्राभेल बनाउने हो।’ उपमहानगरभित्रका पाँच सय १७ सडक ग्राभेल गर्न १८ करोड बजेट आवश्यक पर्ने देखिएको छ। ग्राभेल नगरिएका सडकको संख्या बढ्दै गएपछि नयाँ मापदण्ड बनाइएको छ।

धनगढी उपमहानगरपालिकाको वडा नम्बर १ मा ३२ सडकको चार दशमलव ९६ किलोमिटरमा ग्राभेल गरिएको छैन्। वडा नम्बर २ मा ३९ सडकको पाँच दशमलव ७३ किलोमिटर, वडा नम्बर ३ मा ६६ सडकको ९ दशमलव ८८, वडा नम्बर ४ मा ६ सडकको एक दशमलव पाँच, वडा नम्बर ५ मा ७२ सडकको २१ दशमलव ७, वडा नम्बर ६ मा २४ सडकको २० दशमलव ३, वडा नम्बर ७ मा ४० सडकको ८ दशमलव ४३, वडा नम्बर ८ मा ५६ सडकको १४ दशमलव ९ तथा वडा नम्बर ९ मा ६ सडकको पाँच दशमलव पाँच किलोमिटर सडक कालोपत्र गरिएको छैन।

धनगढी उपमहानगरपालिकाको वडा नम्बर १० मा १७ सडकको ९ दशमलव चार, वडा नम्बर ११ मा १८ सडकको पाँच दशमलव चार, वडा नम्बर १२ मा ५९ सडकको १२ दशमलव ८ किलोमिटर सडक ग्राभेल गर्न बाँकी छ। त्यस्तै वडा नम्बर १३ मा २७ सडकको ६ दशमलव ५८, वडा नम्बर १४ मा २४ सडकको ९ दशमलव ४, वडा नम्बर १५ मा १६ सडकको ८ दशमलव ९२, वडा नम्बर १६ मा २६ सडकको १६ दशमलव ८, वडा नम्बर १७ मा ३५ सडकको १५ दशमलव ५२, वडा नम्बर १८ मा २४ सडकको १२ दशमलव ७२ तथा वडा नम्बर १९ मा ५५ सडकको २१ दशमलव ७२ किलोमिटर ग्राभेल नभएको तथ्यांक उपमहानगरको छ।

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस