सुदूर नेपाललाई विश्वसँग जोड्दै

अनियमित विद्युत कटौतीबाट धनगढीवासी हैरान, माग बढेपछि लोड थेग्न मुश्किल

२०८० वैशाख ३१, १०:१६ कमल सावद

धनगढीः धनगढी सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी हो। धनगढीमा साना–ठूला उद्योग, व्यापारीक केन्द्र र घरहरु छन्। गर्मी सुरुभएसँगै धनगढीमा विद्युतको माग बढेको छ।

विद्युतको माग धेरै भए पनि आपूर्ति न्यून छ। विद्युतको आपूर्ति कम र माग बढ्दै गएपछि धनगढीमा विद्युत जाने गरेको प्राधिकरणको तर्क छ। धनगढीमा विद्युत ट्रिप हुने गरेको धनगढी वितरण केन्द्रका प्रमुख सूर्यनारायण मण्डलले बताए। उनले भने, ‘सिस्ट फेल भएको मलाई थाहा हुँदैन। हाम्रो लाइन दुरुस्त छन्। डिमाण्ड धेरै भएकाले लोड थेग्न सक्दैन।’

गर्मी बढेसँगै अनियमित विद्युत कटौती पनि बढेको छ। धनगढीमा पटक–पटक विद्युत जान थालेपछि नगरवासी हैरान छन्। धनगढीको विद्युत समस्या समाधानका लागि अत्तरियाबाट लाइन विस्तार गरिएको प्राधिकरणको दाबी छ। विद्युत प्राधिकरण प्रादेशिक कार्यालय अत्तरियाका प्रमुख जंगबहादुर चन्दले गेटा, राजपुर, बोराडाडी क्षेत्रका लागि अत्तरियाबाट लाइन विस्तार गरिएको बताए। उनले भने, ‘पहिलाको लाइन छ। १३२ केभीको आयोजना खडा भएको छ। दुई वर्षमा काम पूरा हुन्छ। ३३ केभीको लाइन विस्तारको काम पनि जारी छ। गेटातिर दुई फिडर छ। धनगढी चौराहसम्म अत्तरियाबाट लाइन छ।’

धनगढी वितरण केन्द्रको स्टेसनले मात्र माग पूरा गर्न नसकेकाले अत्तरियाबाट विद्युत ल्याएको छ। धनगढीको राजपुर, बोराडाँडी, जाई, मट्यारी क्षेत्रका लागि अत्तरियाबाट विद्युत ल्याइएको हो। विद्युत प्राधिकरणले लोडसेडिङ्ग नभएको दाबी गर्दै आएको छ। तर धनगढीमा पटक–पटक विद्युत जाने समस्या बढ्दो छ।

धनगढी, अत्तरिया र टनकपुरमासमेत विद्युत ट्रिप हुने गरेको छ। विद्युतको माग धेरै भएकाले विद्युत कटौती हुने गरेको प्राधिकरणको दाबी छ। प्राधिकरण प्रमुख चन्दले भने, ‘ओभर लोडका कारण यस्तो समस्या देखिने गरेको छ। टनकपुरमा पनि समस्या हुँदै आएको छ। टनकपुरमा समस्या भए, सबै ठाउमा त्यसको असर पर्छ। सुधारका काम भए पनि ट्रिप हुने समस्या कायमै छ। क्षमताभन्दा माग धेरै भएपछि समस्या हुने गरेको छ।

धनगढीका विभिन्न फिडरमा फरक–फरक समयमासमेत ट्रिप हुने गरेको छ। नयाँ फिडर विस्तार गर्ने कामसमेत जारी रहेको प्राधिकणले जनाएको छ। धनगढीमा पटक–पटक विद्युत जान थालेपछि नगरवासी हैरान छन्। प्राधिकरणका अनुसार धनगढीमा विद्युतको माग धेरै भएकाले समय–समयमा लोड थेग्न समस्या हुने गरेको छ।

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस