दार्चुलामा तीन दिनपछि मृतकको शव सदरमुकाममा, दुई जना अझै बेपत्ता
दार्चुलाः ब्यास गाउँपालिका–१ भोलुङमा हिमपहिरोमा परी मृत्यु भएकाहरूको शव तीन दिनपछि सदरमुकाम खलंगा ल्याइपु¥याइएको छ।
मंगलबार हिमपहिरोमा बेपत्ता भएका ५ जनामध्ये तीन जनाको शव बुधबार फेला परेको थियो। तीन जनाको शव ब्यास गाउँपालिका–१ छाङरुबाट बिहीबार भारतीय बाटो हुँदै शुक्रबार सदरमुकाम खलंगा ल्याइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले बताए।
भारतीय तावाघाट–लिपुलक जोड्ने सडकखण्डको नज्याङ क्षेत्रमा सडक माथिबाट पहिरो खस्दा अवरोध भएको उनले बताए। शव साँझ साढे ६ बजे सदरमुकाम खलंगा ल्याइपु¥याइएको हो,’ उनले भने, ‘पोस्टमार्टमपछि आफन्तहरूको जिम्मा लगाइने छ।’ अहिले शवलाई अस्तालमा राखिएको छ।
दार्चुलाको दुहुँ गाउँपालिका–४ की ३८ वर्षीया कमला कुँवर, उनका १८ वर्षीय छोरा प्रविण कुँवर र डोटीको जोरायल गाउँपालिका–२ बुडरकी ४५ वर्षीया नक्नी डोमा थापाको शव सदरमुकाम ल्याइएको हो। हिमपहिरोमा परेर बेपत्ता भएका डोटीको जोरायल गाउँपालिका–२ बुडरकी २८ वर्षीया ईश्वरी थापा र १५ वर्षीया क्षिमी सोमो थापाको अवस्था अझै पनि अज्ञात छ।
उनीहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले बेपत्ताहरुको खोजी गरिरहेको छ। यार्सागुम्बा टिप्न गएका उनीहरू त्रिपाल टाँगेर बसिरहेका बेला मंगलबार हिमपहिरो खस्दा ५ जना बेपत्ता भएका थिए भने ७ जनाले भागेर ज्यान जोगाउन सफल भएका थिए।