शुक्लाफाँटा आरक्ष पीडितद्वारा प्रधानमन्त्रीलाई ज्ञापन पत्र
धनगढीः कञ्चनपुरमा रहेको शुक्लाफाँटा आरक्ष पीडितका समस्या समाधानका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ज्ञापन पत्र बुझाइएको छ।
शुक्लाफाँटा आरक्ष पीडित लगायत यस क्षेत्रका विभिन्न राजनीतिक दलका प्रतिनिधिले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा प्रधामन्त्री प्रचण्डलाई बुधबार ज्ञापन पत्र बुझाएका हुन। ज्ञापन पत्रमा सरकारको तर्फबाट अविलम्ब पीडितलाई क्षतिपूर्ति सहितको व्यवस्थापन गर्न अधिकार सम्पन्न आयोग बनाइ वा हाल बनेको आयोगलाई अधिकार दिन अनुरोध गरिएको छ।
आरक्ष पीडित जय बहादुर रोकाय, हरिश दयाल, महेश जोशी र रमेश महराद्धारा हस्ताक्षरित ज्ञापन पत्रमा दीर्घकालीन समस्या समाधानको लागि बनेका आयोगद्वारा प्रस्तावित शुक्लाफाँटा नगरपालिकाको वनहरा नदि पश्चिमको कुकाठका बुट्यान भएको चोरझाला क्षेत्र र बाइसेविचुवा मेडिकल क्लेजको लागि भनी छुट्याइएको ठाउँमा स्थानीय सरकार, स्थानीय प्रशासन र जनता संग समन्वय गरि जग्गा उपलब्ध गराउन पनि सुझाव दिएको छ।
ज्ञापन पत्रमा परिवारको आकारका आधारमा कम्तीमा खान पुग्ने गरि जग्गा उपलब्ध गराउन माग गरिएको छ। सरकारले जग्गा उपलब्ध गराउन नसके परिवार संख्या अनुसार खान पुग्ने गरि जमिन खरिद गर्न हाल चलन चल्तीमा रहेको दररेटको आधारमा नगद रकम नै उपलब्ध गराउन माग गरिएको छ। ज्ञापन पत्रमा पीडित परिवारलाई जीवन निर्वाह गर्न परेको कठिनाइ ध्यानमा राखि रोजगारीको व्यवस्था गरिदिने पनि माग गरिएको छ। ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले सुकुम्बासीको समस्या सामाधानका लागि यस बिषयमा गहन छलफल गरेर चाडैं समाधान गर्नतिर लाग्ने आश्वासन दिएका छन।
ज्ञापनपत्र बुझाउन अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) केन्द्रीय अध्यक्ष सिताराम तमाङ, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महाधिवेशन आयोजक समिति सदस्य राम बहादुर महरा, हरि सुवेदी, जय बहादुर रोकाय, जानकी भट्टराई सहितको टोली सिंहदरबार पुगेको थियो।