सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा विशेषज्ञ वडा क्लिनिकः तीन हजार गर्भवतीलाई घरदैलोमै विशेषज्ञ सेवा

२०८० वैशाख २०, ०९:४७ नारायण अवस्थी

धनगढीः धनगढी उपमहानपालिकाले सञ्चालन गर्दै आएको विशेषज्ञ वडा क्लिनिकबाट ९ महिनामा साढे ३३ हजारले उपचार सेवा पाएका छन्। उपमहानगरले साउन १ गतेबाट अग्रिम तालिका अनुसार हरेक महिना १९ वटै वडामा विशेषज्ञ वडा क्लनिक सञ्चालन गर्दै आएको छ। उपमहनगरपालिकाले साउन १ गतेबाट विशेषज्ञ वडा क्लिनिक सञ्चालनमा ल्याएको थियो।

अग्रिम तालिका अनुसार विशेषज्ञ वडा क्लिनिक उपमहानगरका १९ वटै वडामा सञ्चालन हुँदै आएको छ। विशेषज्ञ वडा क्लिनिकमा फिजिसियन र स्त्री रोग विशेषज्ञ चिकित्सक र प्रयोगशाला परीक्षण सेवा प्रदान हुँदै आएको छ। धनगढी उपमहनगरले तयार गरेको तथ्याङ्कमा साउनदेखि चैतसम्मको ९ महिनाको अविधिमा ३३ हजार ५ सय ६६ जना नागरिकको विशेषज्ञ वडा क्लिनिकमा स्वास्थ्य परीक्षण र उपचार गरिएको छ।

विशेषज्ञ वडा क्लिनिकमा जनरल फिजिसियनबाट सेवा लिने महिला सेवाग्रहीको संख्या ११ हजार ६ सय ४५ छ भने ४ हजार ५ सय १० पुरुषले जनरल फिजिसियनबाट सेवा लिएका छन्। स्त्री तथा प्रसुती रोग विशेषज्ञबाट ६ हजार १२६ जनाले उपचारसेवा प्राप्त गरेका छन्। यस्तै, आँखा रोग सम्बन्धि सेवा लिनेको संख्या १० हजार ३२० मा ७ हजार चार सय ४४ महिला र  दुई हजार ८७६ पुरुष रहेको उपमहानगरले जनाएको छ।

विशेषज्ञ वडा क्लिनिकमा दाँत सेवा पनि प्रदान गरिएकोमा चैतसम्म ९ सय  ७९ ले उपचार सेवा लिएका छन्। जसमध्ये ६ सय ८२ महिला छन् भने २ सय ९७ पुरुष छन्। धनगढी उपमहानगरले विशेषज्ञ वडा क्लिनिकमा प्रयोगशाला सेवा पनि प्रदान गर्दै आएको छ। चैतसम्म प्रयोगशाला सेवा लिने सेवाग्राहीको संख्या ३ हजार चार सय ३४ पुगेको छ। जसमा दुई हजार ३७४ महिला र १ हजार ६८ पुरुष छन्।

वडा क्लिनिकबाट अल्ट्रासाउण्ड सेवा लिनेको संख्या दुई हजार २८४ रहेकोमा महिला दुई हजार २४६ र पुरुष ३८ जना रहेका छन्। यस्तै, इसिजी सेवा लिनेको संख्या एक हजार ३१८ रहेको छ। जसमा ९ सय ४७ महिला र ३ सय ७१ पुरुष छन्। विशेषज्ञ वडा क्लिनिकमा स्वास्थ्य सेवा लिने गर्भवतीको संख्या ३ हजार ३५ छ भने ७० वर्षभन्दा माथिका वृद्धवृद्धा एक हजार ७ सय ८४ जनालाई निःशुल्क स्वास्थ्य उपचार र औषधि प्रदान गरिएको उपमहानगरले जनाएको छ।

विशेषज्ञ वडा क्लिनिकमा उपचार, परामर्श र औषधि निःशुल्क प्रदान गरिँदै आएको छ। ग्रामीण क्षेत्रमा पनि आधारभूत स्वास्थ्य सेवासँगै विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्न उपमहानगरले विशेषज्ञ वडा क्लिनिक सञ्चालनमा ल्याएको हो। विशेषज्ञ वडा क्लिनिकमा चेकजाँच गराउन आएका मध्ये चार हजार ७ जनालाई विभिन्न अस्पतालमा रेफर गरिएको उपमहानगरको तथ्याङ्क छ। रेफर हुनेमा दुई हजार ७८८ महिला र एक हजार २३४ पुरुष छन्।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस